काठमाडौ : बाग्मती सफाइ महाअभियान सुरु भएको ३ सय औं हप्ता पुगेको अवसरमा आगामी शनिबार विशेष कार्यक्रम गरिने भएको छ । सरकारले बाग्मती सफाइ महाअभियान सुरु गरिएको ३ सय औं हप्ता पूरा भएको अवसर पारेर आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।
महाअभियानमा संलग्न संघ, संस्थाहरुलाई सम्मान गर्न र देशभरका सबै स्थानीय तहमा सफाइ अभियानको एकैसाथ सुभारम्भ गर्न पनि महाअभियानको ३ सय औं हप्ता पुगेको विशेष अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले बाग्मती मनोहरा दोभान शंखमूलमा आयोजना गर्न लागिएको कार्यक्रम बिहान साढे ८ बजे सुरु हुने जानकारी पनि दिनुभयो । बाग्मती सफाइबारे अझै जनचेतना जगाउन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा सहभागी हुन मन्त्री राईले सबैलाई आह्वान गर्नुभयो । सोही दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बाग्मती सफाइ महाअभियानसँगै बाग्मती र सहायक नदीहरुको ढल निर्माण कार्य, उद्यान निर्माण तथा सौर्य बत्ती जडानलगायत काम तीव्र गतिमा अगाडि बढेको छ । महाअभियान बाग्मती नदीमा बग्ने पानी पिउनयोग्य तथा स्पर्श गर्न योग्य नहुञ्जेलसम्म जारी रहने अभियानकर्मीले जनाएका छन् ।
पत्रकार सम्मेलनमा बाग्मती सफाइ महाअभियानका अभियानकर्मी डा राजु अधिकारीले नदी संरक्षण गर्न नदी आयोग गठन गर्न माग गर्नुभयो ।
२०७० साल जेठ ५ गतेबाट सुरु भएको बाग्मती सफाइ महाअभियानमा अहिलेसम्म १ हजार ८ सय भन्दा बढी संघ, संस्थाहरु सहभागी भईसकेका छन । त्यसैगरी महाअभियानमा १० लाख भन्दा बढी स्वयम्सेवीहरुले योगदान गरेका छन ।