काठमाडौं : सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का औपचारिक रुपमा रद्द गरेछ ।
सिंगापुरमा हिजो र अस्तिका दिन भएको वार्ता समेत विफल भएपछि मेलम्ची खानेपानी विकास समितिले ठेक्का सम्झौता रद्द गरिएको जनाएको छ । ठेक्का रद्द किन नगर्ने भन्ने प्रश्नको १४ दिन भित्र जवाफ पठाउन समितिले इटालियन कम्पनी सिएमसीलाई माघ ६ गते पत्राचार गरेको थियो । तर, ठेकेदार कम्पनी सीएमसीबाट कुनै आधिकारिक जवाफ नआएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
‘यस्तो परिस्थितिमा ठेक्का सम्झौता रद्द नगर्दा थप अन्यौल पैदा हुन सक्ने र नेपाल सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकम समेत गुम्नसकने जोखिम आउन सक्ने भएकाले मेलम्ची खानेपानी विकास समितिको मिति २०७५ माघ २४ गते बसेको बोर्ड बैठकले सिएमसी दि राभेनासँग ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।’ समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सिएमसीसँग ठेक्का रद्द गरेपछि अब बाँकी काम सम्पन्न गर्न समितिले नेपाल सरकार समक्ष विकल्प सहितको प्रस्ताव तयार गर्नेछ तर त्यो विकल्प कस्तो हुने भन्ने केही कुरा उल्लेख गरिएको छैन । मेलम्चीको सन्दर्भमा नेपाल सरकारले गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गरी अघि बढ्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।


1170 पटक हेरिएको 

