६ करोड लगानीमा ३ हजार घरपरिवारलाई खानेपानी

मकवानपुर : डेढ वर्ष अगाडि स्थानीय तहको चुनाव आउँदै गर्दा पनि मकवानपुर जिल्ला तत्कालिन हाँडीखोला गाविस डोरबारीका प्रकाश कार्कीलाई खासै उत्साहले छोएको थिएन । किनकि बिगतमा जत्ति जनप्रतिनिधी चयन गरेपनि दुर दराजमा बस्ने नागरिकहरुको दैनिकी लगातार उस्तै पीडाले भरिएको हुन्थ्यो ।

खहरे र बाढीको पीडा, खानेपानीको समस्या, टाढाको स्वास्थ्यचौकी सब चुनाव जित्न जनताका लागि देखाउने आशा मात्र हुन्थ्यो ।


यसै कारण झण्डै २ दशकको अन्तरालमा वडा/वडामा आफ्ना जनप्रतिनिधिहरु आउने खबरलाई वास्तै गर्नु भएन, उहाँ र उहाँजस्तै सयौं हाडीखोलाबासीले । जुन स्वाभाविक पनि थियो । कार्कीले भन्नुभयो ‘विस्तारै हुँदो रहेछ गर्न चाह्यो भने ।’ जनप्रतिनिधिले आफ्नो टोल र गाँउ आफैं बनाउने भन्दै लागि परेको डेढवर्ष वित्दै गर्दा अहिले कार्की आफैंले धेरै विकासहरु देखेको बताउँनुहुन्छ ।

हाल मनहरी गाउपालिका–४ डोलबारी उहाँको घर छेउमै पानीको बोरिङ सुरु गरिएको छ, केही महिनाभित्र घरघरै धारामा पानी झर्ने क्रममा छ । उहाँ जस्तै यो गाउँपालिकाका ३ हजार घरघुरीलाई आगमी मंसिर सम्ममा घरघरै धारामा पानी आउने व्यवस्था गर्न लागिपरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ र चालु आव २०७५/०७६ मा गरी ६ करोडको लगानीमा पिउने पानीको समस्यालाई सम्बोधन गर्ने योजना अघि सारेको हो ।

मनहरी ८ र ९ को संयुक्त योजनाका लागि गाउँपालिकाले १ करोड विनियोजन गरेको छ भने प्रदेश सरकारले पनि यो योजनालाई १ करोड विनियोजन गरेको छ । मनहरी–४ डोलबारी र ज्यामिरे दोभानमा चालु आर्थिक बर्षको लागि १ करोड विनियोजन गरिएको छ, जसमा गत आवको ६० लाखबाट २ स्थानमा बोरिङ गरेर पिउने पानी निकाल्ने काम सकिएको छ ।

मनहरी–६ लोथर र मनहरी – ७ विजौनामा क्रमश: ७० र ३५ लाख विनियोजन गरिएको छ यि योजनाहरु कार्यान्वयनको क्रममा छ । मनहरी – १ मा ५० लाख विनियोजन गरिएको छ । यसैगरी मनहरी ५ मा २५ लाखको योजनाको डीपीआर सकिएको छ, मनहरी – ३ मा डीपीआर हुदैंछ ।

मनहरी गाउँपालिका वडा नम्बर ७ को विजौना र वडा नम्बर ६ को लोथरमा पनि छुट्टाछुट्टै बोरिङ गरेर पानी निकाल्ने काम सकिएको छ । ‘आगामी मंसिरसम्म सबै स्थानीयहरुको घरघरमा मिटर धारा जडान गरेर पानी खुवाउने लक्ष्यमा लागेका छौं’ गाउपालिका अध्यक्ष उप्रेतीले भन्नुभयो ‘सधैंको लागि पिउने पानीको समस्या समाधान गर्न, ब्यवस्थित खानेपानी विभाग नै गठन गरेर, सबै जिम्मेवारी दिने हाम्रो योजना छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार