म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीको खानेपानी वितरण प्रणालीमा स्मार्ट वाटरग्रिड सिस्टम लागू गरिने भएको छ । दक्षिण कोरियाको इन्च्योन विश्वविद्यालय मातहतको दी सोसाइटी अफ कोरियन स्मार्ट वाटरग्रिड संस्थाले नमुना परियोजनाका रूपमा बेनी साना सहरी खानेपानी आयोजनामा उक्त प्रविधि प्रयोग गर्न लागेको हो ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार उक्त परियोजना मुलुकमै नमुना हुनेछ । यो एक अर्ब डलरको प्रोजेक्ट हो । सम्झौता भए पनि केही प्रक्रिया अझै बाँकी छन्, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुवास श्रेष्ठले भन्नुभयो ।
८० प्रतिशत कोरिया सरकार मातहतको कोइका र २० प्रतिशत नेपाल सरकारका तर्फबाट बेनी नगरपालिका र खानेपानी संस्थानको लगानी रहने सम्झौता छ । उक्त प्रविधि कोरियामा सञ्चालनमा रहे पनि दक्षिण एसियाका विकासोन्मुख मुलुकमा आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
यो प्रविधिमा मुहानदेखि उपभोक्ताको घरसम्म सेन्सर सिस्टम जडान हुनेछ । उक्त प्रविधिले बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा रहेको खानेपानीको मुख्य र वितरण लाइनमा त्रुटि आउनासाथ सञ्चालकको मोबाइलमा साइरन बजाएर संकेत गर्छ ।
वाटर ट्रिटमेन्ट प्लान्ट थप व्यवस्थित गर्ने, मुहानदेखि टयांकीसम्मको मुख्य लाइन पहिरोको जोखिम क्षेत्रमा रहेकाले व्यवस्थापन गर्ने, पानी परीक्षण गर्न प्रयोगशाला बनाउने र उपभोक्ताका घरमा आधुनिक मिटर जडान गरी एपबाट मिटर रिडिङ गर्ने र महसुल भुक्तानी गर्ने व्यवस्था रहने खानेपानी संस्थान बेनीले जनाएको छ ।
१२ वर्षअघि एसियाली विकास बैंकको करिब ५ करोड ऋणमा निर्माण गरिएको बेनी खानेपानी सदरमुकामदेखि उत्तर म्याग्दी र पर्वतको सिमानामा पर्ने पुम्दीखोला र कोप्रेखोलाको मूलबाट उपभोक्ताका घरमा पुर्याइएको छ ।
कान्तिपुर दैनिकबाट ।


1141 पटक हेरिएको 

