ओखलढुङ्गा : चम्पादेवी गाउँपालिकाको वडा १ र २ मा एक वर्षमा लिखुखोलाको पानी पु-याइने भएको छ। लिखुखोला देखि करिब १.५ किलोमिटर माथि रहेको मण्टु डाँडामा लिफ्टिङ गरी खानेपानी पु-याउन लागेको हो।
गाउँपालिकाले लिखु खोलाको शिल्खु बेसीदेखि पलापुको मण्टुडाडाँ सम्म १.५ किलोमिटर माथि पानी पु¥याएर हरेक नागरिकको घरमा पानी वितरण गर्ने लक्ष्य राखेको छ । खानेपानी योजना निर्माण सम्पन्न भए पछि वडा १ र २ का एक हजार एक सय १५ परिवारका ९ हजार बढीले खानेपानी प्रयोग गर्ने पाउनेछन् ।
काम थालनी गरेको एक वर्ष अर्थात् आगामी ०७६ को चैत मसान्तसम्म पलापुमा लिखुको पानी ल्याइने र घरघरमा खानेपानी पुर्याउने गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । यसका लागि गाउँपालिकाले पाँच करोड ६५ लाख रुपैयाँ रकम बिनियोजन गरेको छ ।
स्थानीय बासिन्दामा खुसीयाली
पलापुमा वर्षौँदेखि खानेपानीको अभाव भइरहेको वेला गाउँपालिकाले लिखु नदीको पानी ल्याउन लाग्दा खुशीको सीमा नरहेको चम्पादेवी २ पलापुका स्थानीय बलबहादुर मगरले बताउनुभयो । बिहान ३ बजेदेखि पँधेरामा गएर बस्दा कहिलेकाँही त पानी नै नपाई फर्कनु पर्ने अवस्था आउने गरेको स्थानीय शोभा पौडेल बरालले बताउनुभयो ।
०४५ साल तिर गाउँमा एउटा खानेपानी योजना सञ्चालनमा आएको भए पनि त्यो समयमा ट्यांङ्कीमा जम्मा गरेको पानी ९ सय परिवारलाई नगुग्ने अवस्था रहेको वडा १ का अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो ।
चम्पादेवी गाउँपालिकाको यो वर्ष खानेपानी वर्ष भएकोले चम्पादेवीका १, २, ३, ५, ८ र १० मा खानेपानीको काम सुरु भएको र आगामी वर्षमा गाउँपालिकाका सबै घरमा खानेपानीको धारो पुर्याउने लक्ष्यका साथ काम गर्ने उहाँले बताउनुभयो ।


1085 पटक हेरिएको 

