सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालित जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मुहानसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग माग गर्ने निर्णय गरेको छ ।
पहुँचमार्ग निर्माण गर्न समितिले नगरपालिकासँग माग गरेपनि नगरपालिकाले बजेट अभाव भएको दर्शाएपछि नगरपालिकाका मेयर अमान सिं तामाङ सहितको उपस्थितिमा बसेको उपभोक्ता समितिको बैठकले पहुँच माग निर्माणका लागि संघीय खानेपानी आयोजनालाई माग गर्ने निर्णय गरेको हो ।
इस्टिमेटमा प्रस्तावित मुहान क्षेत्रमा विवाद उत्पन्न भएपछि करिब १ किलोमिटर माथिबाट पानी ल्याउनुपर्ने भएपछि त्यहाँसम्मको सडक मार्ग बनाउन आवश्यक परेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
बैठकमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर तामाङले चालु आर्थिक बर्षको नगरसभा सम्पन्न भएपछि मात्र नगरपालिकामा माग आएकाले बजेट बिनियोजन गर्न नसकिएको जानकारी गराउनु भएको थियो । उहाँले हात्ती छिर्यो पुच्छर अड्क्यो भने जस्तो अवस्था मात्र आउने भएकाले ठूलो आयोजना सञ्चालन गर्ने आयोजनाले पहुँच मार्ग पनि संघीय खानेपानी आयोजनाले नै बनाउनुपर्ने बताउनु भएको थियो ।
गत साउन ३० गतेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष ध्रुवराज गिरीको अध्यक्षतामा बसेको बैठकले मुहान क्षेत्रको इन्टेक, ट्रिट्मेन्ट प्लान्ट तथा पहिलो रिजर्भ्वायर ट्याङ्क सम्मको पहुँच सडक निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिका कार्यालय सँग रकम माग गर्ने निर्णय गरेको थियो ।
तर नगरपालिकाले चालु आर्थिक बर्षको नगरसभा सम्पन्न भइसके पछि निवेदन आएकाले बजेट उपलब्ध गराउन असमर्थ भएको जनाएको थियो । ‘स्टिमेट तथा सम्झौतामा समावेश गर्न छुट भएको मुहान क्षेत्र तथा अन्य रिजर्भ्वायर ट्याङ्कहरु समेतमा जाने पहुँच सडक निर्माणको लागि हामीले संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय हेटौडालाई अनुरोध गर्ने निर्णय गरेका छौं’ जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले भन्नुभयो ।
इस्टिमेटमा प्रस्तावित मुहान क्षेत्रमा विवाद उत्पन्न भएपछि करिब १ किलोमिटर माथिबाट पानी ल्याउनुपर्ने भएपछि त्यहाँसम्मको सडक मार्ग बनाउन आवश्यक परेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । पहिलेकै स्थानमा विवाद नभएको भए त्यहाँसम्म सडक पहुँच रहेको उहाँले बताउनुभयो । ठेकेदार कम्पनीलाई निर्माणस्थल सम्मको सडक पहुँच उपलब्ध गराउनुपर्ने र त्यहाँसम्मको सडक निर्माण गर्न नगरपालिकाले समेत असमर्थ जनाएकाले संघीय खानेपानी आयोजनासँग हात फैलाउनुपरेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
सन् २०१७ मा गरेको सर्वेक्षण अनुसार खानेपानी आयोजना सम्पन्न भएपछि चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १० ११ र १२ का २ हजार २२२ घरधुरी लाभान्वित हुनेछन् ।सगरमाथा ड्रिलिङ एण्ड कन्ट्रक्सन कम्पनी प्रा.लि. ले खानेपानी आयोजना निर्माणको काम गरिरहेको छ ।
२०७५ असार २४ गते भएको सम्झौता अनुसार आगामी २०७७ साल असार २४ गते भित्र सम्पन्न गर्नुपर्नेछ । तर निर्माण पक्षले करिब ६० प्रतिशत काम यही असार भित्र सम्पन्न गर्ने र २०७६ सालभित्रै खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाउदै आएको छ ।
निर्माण कम्पनीका इञ्जिनियर सचिनकुमार मिश्रका अनुसार आयोजनाका लागि आवश्यकीय निर्माण सामग्री आयात गरिसकेको छ । पहुँच मार्ग निर्माण पछि अझ कामले गति लिने उहाँले जानकारी दिनुभयो ।बैठकमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बञ्जाडे, सिनियर डिभिज्नल इञ्जिनियर मोहन रेग्मी, वडा अध्यक्षहरु र खानेपानी उपभोक्ता समितिका सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।


1380 पटक हेरिएको 

