भालुखोप डाँडामा बोरिङबाट पानी

 

रामेछाप : यत्ति धेरै उच्च ठाउँमा जमिन ड्रिल गर्दा खानेपानी आउँछ भन्ने कसैले पत्याएकै थिएनन् । पत्याओस् पनि कसरी ? किनकि यसअघि बस्ती भन्दा उच्च ठाउँबाट बग्ने पानीलाई पाइपबाट ल्याएर पिउँदै आएका थिए ।

तर स्थानीयबासिन्दाले नसोचेको भईदियो रामेछाप नगरपालिका – ७ हिलेपानी र ओख्रेनीको भालुखोप डाँडामा । बोरिङ प्रविधिबाट जमिनमुनिबाट खानेपानी निकालेपछि अहिले स्थानीय बासिन्दा चकित भएका छन् । १ हजार पाँच सय मिटर उचाइमा रहेको रामेछापको हिलेपानी कालीकुवामा बोरिङ प्रविधिबाट खानेपानी निकालिएको हो । हिलेपानीमा पूजाआजा सहित बोरिङ प्रविधिबाट खानेपानी तान्ने कामको सुरुवात गरिएको हो

बोरिङ खन्ने क्रममा ४५ मिटरको गहिराइमै पानीको स्रोत भेटिएको र अझ गहिराइमा जाँदा पानीको मात्रा पनि बढ्दै गएको रामेछाप नगरपालिका–७ का वडाध्यक्ष समिर कार्कीले बताउनुभयो । हिलेपानी र भालुखोपमा यो प्रविधि मार्फत पानी परीक्षण पूर्ण रूपमा सफल भए खानेपानीको समस्या भोग्दै आएका वडा नम्बर ७ सुकाजोरका ५ सय घरधुरी र भालुखोपका ३ सयभन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।

वडाध्यक्ष कार्कीका अनुसार हिलेपानीमा बोरिङ प्रविधि मार्फत दिगोरूपमा पानी निस्कन सक्ने प्राविधिकको अनुमान छ । खानेपानीको समस्या भोग्दै आएको हिलेपानी आसपासका क्षेत्रमा यो प्रविधि सफल भए अन्य क्षेत्रमा पनि बोरिङ प्रविधि प्रयोग हुन सक्नेछ । यसअघि रामेछाप नगरपालिका ६ र ७ को सिमाना भालुखोपमा पनि यो प्रविधि सफल भएको थियो ।

रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिकाका अधिकांश क्षेत्र सुख्खाग्रस्त रहेकाले तामाकोसी नदी र अन्य खोलाबाट लिफ्टिङ गरी खानेपानी आपूर्ति गर्दै आएको छ । लिफ्ट खानेपानी आयोजना खर्चिलो भएकाले सम्भावित स्रोतको पहिचान गरी बोरिङ प्रविधि मार्फत खानेपानी आपूर्ति गर्ने विकल्पको खोजी गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार