विश्व बैकका उच्च पदाधिकारीद्वारा फण्ड बोर्ड मार्फत सञ्चालित खानेपानी आयोजनाको अवलोकन

काठमाडौ : विश्व बैंकको उच्च पदाधिकारी सम्मिलित टोलीले फण्डबोर्ड मार्फत सञ्चालित काभ्रेपाल्चोकको सानोगिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ अयाोजनाको अवलोकन गरेको छ । विश्व बैंक, Water Global Practice का डाइरेक्टर  Steven N. Schonberger, दक्षिण तथा पूर्वी एसिया क्षेत्रका म्यानेजर Takuya Kamata , जलस्रोत विज्ञ Feriha Mugisha, फण्ड बोर्डका कार्यकारी निर्देशक लिला प्रसाद ढकाल सहितको टोलीले काभ्रेको तेमाल गाउँपालिका वडा नं. ५, सानोगिम्दीमा सञ्चालित खानेपानी आयोजना र त्यस अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरुको अवलोकन गरेको हो ।

 

टोलीले सानोगिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको मुहान छ्योङ छ्योङ खोलामा बनेका पूर्वाधार, रिजभ्र्वायर ट्याङ्क र घरघरमा वितरित खानेपानीको गुणस्तर बारे अनुगमन गरेको हो । अनुगमन टोली खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्तासँग समेत छलफल तथा अन्तरक्रिया गरेको थियो ।

उपभोक्ता समितिका पदाधिकारीहरुले भूकम्प पश्चात खानेपानीको मूल भासिएका कारण खानेपानीको समस्या झेलिरहेको अवस्थामा फण्ड बोर्डको आर्थिक तथा शान्ति जनआदर्श सेवा केन्द्रको प्राविधिक सहयोगले घरघरमै पानी आएपछि धेरै सुविधा पुगेको बताएका थिए ।
उनीहरुले खानेपानीको रेखदेखका लागि एक जना हेरालु राखिएको, हरेक घरमा मिटर जडान गरिएको र संकलित महसुललाई आयआर्जनमूलक काममा लगानी गरेको जानकारी गराएका थिए ।

सानो सहयोगले ठूलो काम भएको ठानें : Steven N. Schonberger

नेपानी उपभोक्ताहरुसँग अन्तरक्रिया गर्दै विश्व बैंक, Water Global Practice का डाइरेक्टर  Steven N. Schonberger ले विकासको नेतृत्व महिलाहरुले गरेको ठाउँमा निक्कै सवल रुपमा अघि बढेको बताउनुभयो । उहाँले कुनै पनि योजना बन्नु मात्र ठूलो कुरा नभई त्यसको सदुपयोग कसरी हुन्छ त्यो महत्वपूर्ण हुने बताउनुभयो ।

‘खानेपानीको महसुललाई समेत जसरी आयमूलक काममा प्रयोग गरिरहनुभएको छ, यसले विकासमा थप टेवा पुग्ने विश्वास गरेको छु, । यहाँका सबै जना मैले सक्रिय र सिर्जनशील देखेको छु । मलाई लाग्छ, हाम्रो सानो सहयोगले ठुलो काम भएको छ ।’ उहाँले भन्नुभयो ।

 

विश्व बैकले नेपालमा मात्र नभई विश्वका धेरै देशमा काम गरिरहेको र जहाँ महिलाको नेतृत्वमा काम भएका छन्, त्यो काम सफल रुपमा अगाडि बढेको पाइएको उहाँले बताउनुभयो । योजना खानेपानीको भएपनि यसले महिला र बालबालिकालाई बढी फाइदा पुगेको आफूले महसुस गर्न पाएको उहाँले बताउनुभयो ।

फण्ड बोर्डको मोडालिटी परिवर्तन हुन्छ : कार्यकारी निर्देशक ढकाल

फण्ड बोर्डका कार्यकारी निर्देशक लिला प्रसाद ढकालले विश्व बैकका उच्च पदाधिकारीहरुले खानेपानीमन्त्री तथा खानेपानी सचिव तथा अन्य उच्च पदस्थ अधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको र फण्ड बोर्डको मोडालिटी परिवर्तन हुन सक्ने बताउनुभयो । उहाँले देश संघीय ढाँचामा गइसकेकाले फण्ड बोर्ड मार्फत सञ्चालित खानेपानी आयोजनाका कामहरुलाई पनि संघीय ढाँचामा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

‘अहिलेसम्म केन्द्रमा फण्डबोर्ड, बीचमा सहयोगी संस्था र त्यसले खानेपानी तथा सरसफाइ उपभोक्ता सँग काम गरिरहेको छ, तर अब प्रदेश सरकार तथा स्थानीय सरकारसँग पनि समन्वय नगरी नहुने देखेका छौं, अब कार्यान्वयन प्रक्रियामा स्थानीय तथा प्रदेश सरकारसँग कसरी समन्वय गर्ने भन्ने बिषयमा गहन छलफल भइरहेको छ, मलाई लाग्छ, अहिलेको संरचना परिवर्तन नगरी भएको छैन ।’

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक तथा शान्ति जनआदर्श सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न खानेपानी आयोजनाबाट १२७ घरपरिवारका ९८० जना लाभान्वित भएका छन् ।

फण्डबोर्डको ५८ लाख ८० हजार ८१३ रुपैयाँ अनुदान, १२ लाख ४६ हजार ७७९ रुपैयाँ समुदायको नगद, ११ लाख ७३ हजार ६४६ रुपैयाँ बराबरको श्रमदान र पाइपलाइन खन्नका लागि फण्डबोर्ड मार्फत उपलब्ध गराएको ५ लाख ५२ हजार ३५३ रुपैयाँ सहित ७४ लाख ९२ हजार ८५७ रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार