गोरखा : निर्माण सुरु भएको तीन बर्ष वितिसक्दा समेत गोरखाको दरौंदी बिरिमकाली पम्पिङ सरसफाइ योजनाको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ ।
हालको स्रोत र उपभोक्ताको संख्याले तत्कालीन मुहानबाट आपूर्ति नहुने देखेपछि हामी यसको डिजाइन रिभ्युमा लागेका छौं’
पुरानो डिजाइन अनुसार दुई–दुई लाख लिटरको तीन वटा ट्यांकी निर्माण भइसकेपछि फेरि खानेपानी योजनाको डिजाइन पुनरावलोकन भइरहेको छ । योजनाको ‘डिजाइन रिभ्यू’ का क्रममा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले बताउनुभयो । ‘२०७२ को लगत स्टिमेट अनुसार ट्यांकी बनिसकेको छ,’ उहाँले भन्नुभयो, ‘हालको स्रोत र उपभोक्ताको संख्याले तत्कालीन मुहानबाट आपूर्ति नहुने देखेपछि हामी यसको डिजाइन रिभ्युमा लागेका छौं’
एक–डेढ सातामै अन्तिम डीपीआर तयार हुने र यसै आर्थिक वर्षमा टेन्डर प्रक्रियामा जाने गरी काम अघि बढाएको उहाँले बताउनुभयो ।
खानेपानीबाट गोरखा नगरपालिका–११ र १२ को शिखरडाँडा, जोगीगाउँ र १० नम्बर वडाको बिरेन्चो, चैनपुरका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
उपभोक्ता समिति गठनमै जनीतिक दलको हस्तक्षेप : उपभोक्ता
झन्डै १३ सय घरधुरीलाई सिर्दी खोला नजिकैको बगैंचाबाट डिप बोरिङ गरी पानी उपलब्ध गराउन सुरु भएको यो आयोजना उपभोक्ता समिति गठनमा राजनीतिक दलको हस्तक्षेप र पर्याप्त बजेट नहुँदा थला परेको स्थानीय बासिन्दा बताउँछन् ।
चार वर्षे अवधिमा दुईवटा समिति फेरबदल भइसकेका र दुई–दुई लाख लिटरको तीनवटा ट्यांकी निर्माण हुनु बाहेक अरु काम नभएको वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।
पाँच वर्षे अवधिमा ११ करोड २२ लाख रुपैयाँमा निर्माण सक्ने गरी सम्झौता भएको लिफ्ट खानेपानीको हालसम्म करिब १ करोड २० लाखको काम भएको उहाँले बताउनुभयो । योजना निर्माणको इस्टिमेट गरेको समयमा भन्दा अहिले जनघनत्व बढेकाले योजना सम्पन्न भएपनि पनि अब नपुग्ने भएकाले डिजाइन परिवर्तन भएको उहाँले बताउनुभयो ।
पहाडी भेगमा डिप बोरिङ दिगो नहुने प्राविधिकको सल्लाह अनुसार डीपीआर परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो । ‘प्रतिसेकेण्ड १२ लिटर पानी झर्ने भन्ने थियो । अहिले प्राविधिकले भने अनुसार साढे ५ लिटर मात्र झर्ने भयो,’ उहाँले भन्नुभयो ।
उपभोक्ताको २० प्रतिशत लागत सहभागिता रहेको आयोजनाका लागि चार वर्षअघि नै १८ लाख रुपैयाँ संकलन गरिएको थियो । वर्षौंदेखि खानेपानी समस्या झेलिरहेका बासिन्दा खानेपानीको स्टिमेट नै परिवर्तन हुने कुराले भनेकै समयमा योजनाले पूर्णता पाउनेमा ससंकित छन् ।


1342 पटक हेरिएको 

