हावाहुरी प्रभावित क्षेत्रमा खानेपानी विभागले पठायो वाटर एम्बुलेन्स

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ ।

हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने उपकरण सहितको वाटर एम्बुलेन्स पठाएको हो ।

पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने विशेषज्ञ पाण्डेले बताउनुभयो ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायत सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ ।

विशेष गरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँच गरी पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ ।

 

 

विभागले आफ्नो मातहत रहेका शाखा कार्यालयहरु मार्फत र नेपाल खानेपानी संस्थानले समेत आफ्नो क्षेत्राधिकार भित्र रहेर हावाहुरी प्रभावित क्षेत्रमा कार्य गरिरहेको छ । विनाशकारी हावाहुरीले बारा र पर्सामा ठूलो धनजनको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार