यी हुन्, खुलादिसामुक्त अभियान सफल पार्न धादिङले अवलम्वन गरेका विधिहरु

धादिङ : खुल्ला दिसाको उचित ब्यवस्थापन सरसफाइ सम्बन्धी उपलब्धि हासिल गर्ने महत्वपूर्ण पक्ष हो । यसै कुरालाइ ध्यान दिदै नेपाल सरकारले सन् २०१७ को समय सीमा भित्र शत प्रतिशत सरसफाइको लक्ष्य पुरा गर्नका लागि सरसफाइ गुरुयोजना २०६८ कार्यान्वयनमा ल्याएकोमा सोही गुरुयोजना अनुरुप यस धादिङ जिल्लामा पनि सरसफाइ र स्वच्छता सम्बन्धी रणनीतिक योजना निर्माण गरिएको थियो ।

सरसफाइ र स्वच्छता सम्बन्धी रणनीतिक योजना बमोजिम जिल्ला स्तरमा जिल्ला स्तरिय, नगरपालिकामा नगर स्तरिय , गाउपालिकामा गाउँस्तरिय, बडास्तरमा वडास्तरिय र स्कुल स्तरमा स्कुल स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भई खुला दिसामुक्त अभियान सञ्चालन भएको थियो ।

यस अभियानलाई सफल बनाउन समुदाय स्तर, गाउँपालिका स्तर ,नगरपालिका स्तर र जिल्ला स्तर गरी ४ तहको अनुगमन प्रणाली विकास गरिएको थियो । टोल तथा समुदाय खुला दिसामुक्त घोषणाको प्रमाणीकरण वडाले गर्ने, वडा स्तरको गाउँपालिका र नगरपालिकाले तथा गाउँपालिका र नगरपालिकाको प्रमाणीकरण जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गर्ने प्रवन्ध मिलाईएको थियो ।

यस जिल्लाका १३ वटै स्थानीय तह खुला दिसामुक्त घोषणा सँगै धादिङ जिल्ला खुला दिसामुक्त घोषणा अनुमतिको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश नं ३ हेटौडामा पत्र पठाईएकोमा भौतिक पुर्वाधार विकास मन्त्रालयबाट ५ सदस्यीय प्रदेश स्तरीय अनुगमन टोली गठन भई २०७५/१०/८ देखि २०७५/१०/१० सम्म जिल्लाका विभिन्न स्थानीय तहहरु लगायत विद्यालय, संघ संस्था र राजमार्गका सार्वजनिक शौचालयको संयुक्त अनुगमन भएको थियो ।

प्रदेश स्तरीय अनुगमन समितिको धादिङ जिल्लाले खुला दिसामुक्त घोषणाको सम्पूर्ण मापदण्ड पुरा गरेको प्रतिवेदनको आधारमा २०७५र१०र२८ को भौतिक पुर्वाधार विकास मन्त्रालयको सचिव स्तरिय निर्णय अनुसार धादिङ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न स्वीकृति प्रदान गरिएको थियो ।

अवलम्वन गरिएका पद्धतिहरु  :

१. विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम

२. समुदायको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम

३. सरसफाइ चक्रकोष

४. रचनात्मक पद्धति र पैरवी अभियानहरु

 

खुलादिसामुक्त अभियानको अनुगमन गर्न तय गरिएका सुचकहरु :

१. सबैको सुरक्षित चर्पीमा पहुंच र उचित प्रयोग तथा मर्मत सम्भार भएको,

२. खुला दिसा कहीं कतै नरहेको र नदेखिएको,

३. चर्पी निर्माण, प्रयोग, मर्मत तथा संभार र अन्य सरसफाइ सम्बन्धी ज्ञान दिलाउने तथा झक्झक्याउने सरसफाइ सूचक बोर्ड समुदायका आवश्यक स्थानमा राखिएको,

४. विभिन्न स्थानहरुमा प्रतिवद्धता खुलाइएको खुला दिसामुक्त क्षेत्र लिखित होर्डिङ बोर्ड राखिएको,

५. चोक तथा सार्वजनिक स्थानहरुमा चेतनामूलक तथा सजग गराउने सरसफाइका नाराहरु सबैले देख्ने गरी राखिएको ,

६. समुदाय तथा विद्यालयहरुमा बाल तथा लैङ्गीकमैत्री सरसफाइका सुविधाहरु स्थापित भई प्रयोग तथा मर्मत सम्भार भएको,

७. सही प्रकारले हात धुने बानी (खाना तयार गर्नु अघि, खाना खानु अघि वा बच्चालाई खुवाउनु अघि, चर्पी प्रयोग गरे पछि र कुनै पनि फोहर वस्तु छोए पछि सावुन पानीले हात धुने गरेको) अपनाइने गरेको,

८. जिल्लामा सरसफाइ र पानी जन्य रोगमा कमी आए, नआएको ।

 

खुलादिसामुक्त अभियान सफल पार्न अवलम्वन गरिएका मानवीय र संस्थागत संसाधनहरु

 

१. जिल्ला, नगरपालिका तथा गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु,

२. राजनीतिक दलका प्रतिनिधिहरु,

३. सरकारी कार्यालयका प्रतिनिधिहरु,

४. आम सञ्चारकर्मीहरु,

५. विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा बाल समूहहरु,

६. नगरपालिका र साविकका गा.वि.स.मा सञ्चालित अन्य विकास निर्माण संग सम्बद्ध कार्यक्रममा कार्यरत कर्मचारीहरु

७. सरसफाइ ट्रिगररहरु,

८. स्वास्थ्य चौकी तथा उप–स्वास्थ्य चौकी व्यवस्थापन समिति, कर्मचारी तथा महिला स्वास्थ्य स्वयं सेविकाहरु,

९. बडा नागरिक मञ्चका सदस्यहरु,

१०. स्थानीय स्तरमा गठित समूहमा आवद्ध व्यक्तिहरु (आमा समूह, महिला समूह, युवा क्लव, बाल क्लव, जु.रे.स. आदि),

११. सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि एवम् सदस्यहरु,

१२. खानेपानी उपभोक्ता समितिका प्रतिनिधि एवम सदस्यहरु,

१३. दातृ निकाय र सहकारी संस्थाका प्रतिनिधिहरु,

१४. यातायात व्यवसायीहरु, उद्योग वाणिज्य संघ र जिल्लामा रहेका होटल व्यावसायीहरु,

१५. समुदायमा रहेका धार्मिक अगुवाहरु (पण्डित, पुजारी, चर्चका पाष्टर तथा अगुवाहरु) र

१६. आम जनसमुदायहरु ।

२०७५ चैत्र २४ गते धादिङ जिल्ला खुला दिसामुक्त घोषणा समारोहमा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति धादिङका सदस्य सचिव किरण आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदनको केही अंश 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार