तिर्खाले भन्दैन घाटको पानी, पुग्छ होला कति स्वास्थ्यमा हानी

दैलेख : एउटा भनाई छ, निद्राले भन्दैन अफ्ठ्यारो खाट, तिर्खाले भन्दैन धोबीघाट । यो भनाईसँग ठ्याक्कै मेल खाएको छ, खानेपानी समस्याले दैलेखको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले भोग्नुपरेको हैरानी ।

नदी किनारमा लहरै बसेर पानी पिउँदै गरेका यी विद्यार्थीहरु हुन् दैलेखको जनज्योति माध्यमिक विद्यालयका छात्रछात्रा । हेर्दै कारुणिक लाग्ने यो फोटोमा विद्यालयका छात्रछात्रा बोतलमा पानी उप्काउँदै पिउँदै गरेको देख्न सकिन्छ ।

 

राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको यो तस्बिर कर्णाली नदीको हो । विशाल कर्णाली नदीको पानी आँखाले हेर्दा सफा देखिए पनि यसमा आँखाले देख्न नसकिने किटाणुहरु हुन सक्छ । यस्ता कुरा उनीहरुले किताबमा पढेपनि बेपर्वाह पिइरहेका छन् । किनकि तिर्खा मेटाउने यो भन्दा अर्को उपाय पनि छैन उनीहरुसँग ।

तिर्खा लागेपछि जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू बोतल लिएर कर्णाली नदी जान्छन् र हतार हतार पानी पिउँछन् । पानी पिएर तत्काल कक्षाकोठा नफर्किए क्लास छुट्ने डरले उनीहरु एकै घुट्कोमा तिर्खा मेटाउन चाहन्छन् ।

हिउँदमा कर्णालीको पानी आँखाले हेर्दा सफा देखिएपनि बर्षायाममा धमिलो भइरहन्छ । र पनि कर्णालीको पानीले प्यास नमेटाई धर छैन उनीहरुसँग । विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा उपलब्ध गराउने खै कसले हो ? कसैको कानमा त बतास लागे हुने थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार