काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी खानेपानीमन्त्री बिना मगरले दुवै मन्त्रालयको शौचालयमा भेन्डिङ मेसिन जडान गर्नुभएको हो ।
खानेपानी मन्त्री मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको शौचालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको बताउनुभयो । दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् ।
मेसिनको शुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरुमा राख्दै लगिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो त हामीले सुरुवात मात्र गरेका हौं । महिनावारी हुने समयमा महिलाहरुलाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयहरुमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरुलाई धेरै सहज हुने गर्छ । हामी विस्तारै अन्य ठाउँहरुमा राख्दै जानेछौं ।’
त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरुमा महिला तथा अपाङ्गमैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ । यी स्मार्ट शौचालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिनुभयो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र कुमार झाले अब बन्ने शौचालयहरु महिलामैत्री हुनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक महिला शौचालयमा भेन्डिङ मेसिन जडान गर्न सम्भव नभएपनि कम्तीमा प्याड फेर्न मिल्ने र व्यवस्थापन गर्ने सुविधा भएको हुनुपर्ने बताउनुभयो ।
भेन्डिङ मेसिन जडान गरेपछि अब महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरुले झोलामा स्यानिटरी प्याड बोकेर हिड्नुपर्ने बाध्यता हट्ने भएको छ । भेन्टिङ मेसिन जडान भएपछि सम्बन्धित मन्त्रालयका महिला कर्मचारीहरुले खुसी व्यक्त गरेका छन् ।