मेलम्चीको बाँकी कामका लागि बोलपत्र आव्हान, पुरानो कम्पनीले प्रतिस्पर्धा बिनै काम पाउने

काठमाडौ : मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर बोलपत्र आव्हान गरिएको छ ।

आयोजनाका अनुसार २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुरानै स्थानीय ठेकेदारलाई दिने तयारी छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा लोकल भेन्डरका रुपमा राखेका कम्पनीहरुलाई सोझै ठेक्का दिन लागिएको हो ।

सीएमसी आफैंले गरिरहेको जटिल प्राविधिक काम चाहिँ दुई वटा नयाँ ठेकेदार मार्फत गराइने छ । हाल सुरुङ र हेडवर्क्सका कामका लागि फरक–फरक ठेकेदार छनोट गर्न लागिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । तर, हाईड्रो–इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का भने त्यहाँ कार्यरत पुरानै कम्पनीले बिना प्रतिस्पर्धा पाउने भएका छन् ।

हेडवर्क्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वान गरिएको प्रवक्ता पन्तले बताउनुभयो । यी दुई टेन्डरमा योग्य स्वदेशी कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसअनुसार अब टेन्डर प्रक्रिया टुंगिएर ठेकेदारले समयमै काम थाले पनि मेलम्चीको पानी काठमाडौंमा एक वर्षभित्र नआउने प्रष्ट भएको छ । त्यसमाथि ठेकेदारहरु अहिले आन्दोलनमा छन् । सरकारले नीति तथा कार्यक्रममा एक वर्षभित्र मेलम्ची ल्याउने जनाएको थियो ।

हेडवर्क्सतर्फको ठेक्का पाउनेले पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काम गर्नुपर्ने छ ।

यो ठेक्का प्राप्त गर्नेले सोझै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग समन्वय पनि गर्नुपर्ने आयोजनाले जनाएको छ ।

यस्तै सुरुङमार्गको ठेक्का प्राप्त गर्नेलाई सुरुङको अन्तिम तवरको संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधार लगायतका काम गर्न जिम्मेवारी तोकिएको छ ।
यसमा छानिने ठेकेदारले पनि सुरुङमा भेन्टिलेसन बनाउने काम गरिरहेका र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने छ ।

यो सबै काम सक्नका लागि करिब २ अर्ब ५३ करोड खर्च हुने अनुमान छ । सरकारले आगामी वर्षको बजेट मार्फत मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।

मन्त्रिपरिषद बैठकले दुई हप्ताअघि मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार