आज ‘सिठी नखः’ पर्व, पानीको स्रोत सफा गरी मनाईदै

 

काठमाडौ : आज जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् सिठी नखः । काठमाडौँ उपत्यकाका नेवार समुदायले पानीको इनार, पोखरी, कुवा, पँधेरो आदिको सरसफाइ गरी धुमधामका साथ मनाइँदैछ । विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छविकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ ।

सो समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सो पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएको पाइन्छ । सो प्रचलनलाई काठमाडौँका नेवार समुदायले निरन्तरता दिँदै अन्य स्थानमा समेत संस्कृतिका रुपमा विकास भएको पाइन्छ ।

सिठी नखःले परापूर्वकालदेखि पानीका मुहान सधैँ सफा राख्नुपर्दछ, विशेष गरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गरिनुपर्दछ भन्ने सन्देश समेत सिठी नखःले दिने गरेको छ ।

त्यसैले नेवार समुदायमा आजको दिन पानीको मुहान सफा गर्ने प्रचलन समेत रहेको छ । यस दिन पानीका प्राकृतिक स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधारा सरसफाइ गरेर सिठी नखः पर्व मनाउने गरिन्छ ।

आजको दिन कुमार कात्तिकेको पूजा समेत गरिन्छ । त्रिवि केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख एवम् संस्कृतिवद् डा मिलनरत्न शाक्यले लेख्नुभएको ‘मञ्जुश्री कल्ड अफ नेपाल मण्डल’ नामक पुस्तकमा कुमारलाई मञ्जुश्रीका रुपमा वर्णन गरेको पाइन्छ ।

बौद्ध धर्मावलम्बीले मञ्जुश्रीलाई बुद्धका अवतारका रुपमा समेत सम्मान गरेको पाइन्छ । डा शाक्यका अनुसार अबको समयमा झरी परी विभिन्न रोग, ब्याधीको सङ्क्रमण हुन सक्ने हुँदा सरसफाइ गरेपछि त्यसबाट मुक्ति पाइने भएकाले सिठी नखःको विशेष महत्व र वैज्ञानिक कारण छ ।

यस पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाइँ) सुरु हुने पर्वका रुपमा समेत यसलाई लिने गरिन्छ । नेवार समुदायमा सिठी नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

पहिलो सिठी नखः अर्थात् कुमार षष्ठी, महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन भएकाले पनि यसको धार्मिक महत्व रहेको छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् ।

कुमारको पूजा–आराधना गर्नाले बर्षातको बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको बताइन्छ । यस पर्व सँगै नेवार समुदायमा रोपाइँ सुरु भएको सन्देश दिने भएकाले किसान कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाती राखेर किसान अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफूलाई तयार पार्ने चाडका रुपमा रहेकाले पनि यसले विशेष महत्व राख्ने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार