सबै किशोरीलाई प्याड बनाउने सीप दिऔं

– विनोद शर्मा

मर्यादित महिनावारीः अब काम थालौं भन्ने नाराका साथ मे २८ तारिखमा विभिन्न कार्यक्रम गरेर महिनावारी स्वच्छता व्यबस्थापन दिवस मनाइयो । महिनावारीका बेला औसतमा ५ दिन रगत बग्ने र २८ दिनको महिनावारी चक्र हुने भएकोले अँग्रेजी वर्षको पाँचौं महिना मे र २८ तारिखलाई महिनावारी स्वच्छता व्यबस्थापन दिवसका रुपमा मनाइन्छ । दिवसका अवसरमा मर्यादित महिनावारीका विषयमा शहर केन्द्रीत छलफल, गोष्ठि, -याली लगायतका प्रचारात्मक काम हुन्छन् । महिनावारी स्वच्छताका बारेमा जानकारी दिइन्छ ।

तर महिनावारी व्यबस्थापनको विषय केहि पटकको छलफल र जानकारीले मात्रै पुग्ने विषय होइन ।
२०६८ को जनगणना अनुसार नेपालमा कुल जनसँख्याको ४६.७९ प्रतिशत महिला प्रजनन् उमेरका छन् । २१ औं शताब्दीको पूर्वाद्ध पार गर्न लाग्दा पनि महिनावारीलाई समाजले अझै अन्धविश्वासी एवं नकारात्मक दृष्टिबाट हेर्ने गर्छ । जसका कारण जनसँख्याको आधा हिस्साले अमर्यादित र असुरक्षित जीवन गुजार्न बाध्य हुनु परेको छ ।

विद्यालयमा सेनिटरी प्याड मात्रै उपलब्ध गराएर पुग्दैन । प्याड प्रयोग गर्ने तरिका, यसका फाइदा बेफाइदा तथा प्याड बिसर्जन गर्न ध्यान दिनु पर्ने कुराको ज्ञान दिन पनि जरुरी छ ।

विद्यालय क्षेत्र विकास योजना (सन् २०१६–२०२३) मा स्वास्थ्य र पोषण शीर्षक अन्तर्गत गोपनियता, महिनावारी र सरसफाइको कुरा सुनिश्चित गरिएको छ । विद्यालय तहको पाठ्यपुस्तकमा पनि व्यक्तिगत सरसफाइ, किशोरी वयश्कमा हुने शारीरिक परिवर्तन, यौन स्वास्थ्य तथा महिनावारीको विषयको जानकारी समावेश छ । तथापी यसले महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी, उत्पिडन र महिनावारी व्यबस्थापनका बारेमा खुलेर बोल्न सकेको छैन ।

 

महिनावारीको विषय नितान्त महिला सम्बन्धी समस्या वा विषय ठान्ने पुरुषवादी चिन्तनका कारण यो अझै लुकाउनु पर्ने र लुकाइएको मुद्धाको रुपमा रहेको छ । राष्ट्रिय मर्यादित महिनावारी सम्बन्धी नीतिको मस्यौदा २०७४ सालमैं बने पनि मन्त्रिपरिषदले पारित गरेर कार्यान्वयनमा आउन बाँकी हुनुले पनि यहि संकेत गर्छ ।

महिनावारीको विषयमा नबोलिएकै नगरिएकै पनि होइन । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ मा विद्यालयलाई तारा पद्धतीका लागि तयार गरिएको सूचक नम्बर ७ मा हरेक विद्यालयमा महिनावारी स्वच्छता व्यबस्थापनका लागि हुनु पर्ने सुविधाको कुरा समावेश छ ।

एक ताराका लागि सेनिटरी प्याड व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकन सहितको डस्टबिन राखिएको हुनु पर्ने प्रावधान छ । दुई ताराका लागि आकस्मिक अवस्थाका लागि सहज सेनिटरी प्याडको व्यवस्था र प्रयोग गरिएका प्याडहरूको सुरक्षित बिसर्जन गर्ने गरिएको हुनुपर्ने र तीन ताराका लागि छात्राहरूले पुन प्रयोग गर्ने सेनिटरी प्याड तयार गर्ने सीप सिकी वा स्वस्थकर प्याड प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेको हुनुपर्ने प्रावधान छ ।

नीति नियम बने पनि हामीकहाँ कार्यान्वयनको अवस्था फितलो छ । २०७४ चैत्र २२ गते शिक्षा बिभागले पारित गरेको कार्यविधि स्थानीय तहले अनुमोदन गरेर कार्यान्वयनको चरणमा जानु पर्ने हो । १४ महिना बित्दा समेत कार्यान्वयनमा जान नसक्नुले जनप्रतिनिधिको ध्यान महिनावारीका विषयमा भन्दा पनि कार्यकर्तालाई रिझाउन, आफ्नो सेवा सुविधा बृद्धि र महँगा गाडी खरिद तर्फमात्रै गएको हो की भन्ने भान हुन्छ । विद्यालयका पाठ्यक्रममा प्रजनन् स्वास्थ्य अन्तर्गत महिनावारीको विषय भए पनि शिक्षकमा भएको ज्ञानको कमीका कारण हो की लाज र सरमका कारण हो यो विषयमा खररर्र पढेर सुनाइए पनि व्यापक छलफल हुन सकेको छैन ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले २०७५ को एसईई परीक्षा दिने छात्रालाई केन्द्रीत गरी परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्थाका लागि जिल्ला शिक्षा तथा समन्वय एकाई मार्फत बजेटको व्यबस्थापन गरि सराहनिय काम गरेको छ । नेपाल सरकारले २०७६/७७ सालको वार्षिक नीति तथा कार्यक्रमको १७१ औं बुँदामा देशभरका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने कुरा उल्लेख गरेको छ ।

दिवसको भोलीपल्ट बजेट प्रस्तुत गर्दै सरकारले ३८ नम्बर बुँदामा विद्यालयमा विद्यार्थी टिकाइ राख्न र विद्यालय छाड्ने दरलाई कम गर्न देशभरका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड निशुल्क उपलब्ध गराउन बजेट व्यबस्था गरेको कुरा उल्लेख गरेको छ । नीति तथा कार्यक्रम र बजेट बक्तव्यका परेको सामुदायिक विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउने कुराको कार्यान्वयन कसरी हुन्छ हेर्न बाँकी छ ।

विद्यालयमा सेनिटरी प्याड मात्रै उपलब्ध गराएर पुग्दैन । प्याड प्रयोग गर्ने तरिका, यसका फाइदा बेफाइदा तथा प्याड बिसर्जन गर्न ध्यान दिनु पर्ने कुराको ज्ञान दिन पनि जरुरी छ । यसो गर्न सके महिनावारीका समयमा किशोरी विद्यालय अनुपस्थित हुने दरलाई कम गराउँदै शुन्यमा झार्न सकिन्छ ।

बजारमा पाइने सेनेटरी प्याड सर्वसुलभ छैन । ४ देखि ६ घण्टाको फरकमा फेर्ने हो भने पनि एक पटक महिनावारी हुँदा कम्तिमा ३ प्याकेट सेनिटरी प्याड प्रयोग गरिन्छ । वर्षमा १३ पटक महिनावारी हुँदा ३९ प्याकेट प्याडका लागि लाग्ने खर्च ग्रामीण भेगका अभिभावक वा विद्यार्थीले व्यहोर्न सक्दैनन् । त्यसको बिकल्पमा महिलाले पुराना, फोहोर कपडा च्यातेर टालोको रुपमा प्रयोग गरिरहेका छन् । फोहोर कपडाका टालो (प्याड) को प्रयोगले पाठेघरको संक्रमण हुने, तल्लो पेट दुख्ने, कम्मर दुख्ने, सेतो पानी बग्ने, बच्चा नबस्ने, जीउ दुख्ने जस्ता समस्या निम्त्याउने गरेको छ । दुई मिटर फलाटिन वा सुतीको कपडाबाट ६ देखि ८ वटासम्म प्याड बन्ने र ३ वर्षसम्म टिक्ने भएकोले महिनावारी सरसफाइमा लाग्ने खर्च जोगाउँछ ।

महिनावारी हुनासाथ रगत बाहिर नचुहियोस् र कपडा नभिजोस् भनी प्रयोग गरिने फोहोर र पुराना कपडाको टालोले स्वास्थ्यमा पार्ने असरबारे खुलेर छलफल गर्न जरुरी छ । कपडाबाट कम मुल्यमा पुनःप्रयोग गर्न सकिने प्याड बनाउने सीप दिने हो भने पनि सेनिटरी प्याड खरिदका लागि विदेशीने करोडौं रुपैंयाँ बचाउन सकिन्छ । पुनःप्रयोग गर्न पाएपछि प्याड बिसर्जन गर्ने समस्या नहुने, कम खर्चिलो र स्वास्थ्यका हिसाबले पनि फाइदाजनक हुने हुँदा हरेक महिनावारी उमेरका किशोरीलाई प्याड बनाउने सीप दिनुपर्छ ।

व्यबहारिक र जीवनउपयोगी सीप सिकाउने अभियानलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्छ । विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएर किशोरीको स्वास्थ्य सुरक्षित गर्ने कर्तव्य र दायित्व पुरा गर्न खोजेकोमा नेपाल सरकारलाई धन्यवाद । फलाटिन वा सुतीको कपडाबाट पुनःप्रयोग गर्न सकिने सेनिटरी प्याड निर्माण तथा प्रयोगका लागि प्रोत्साहन गर्न सके महिलाको स्वास्थ्य र आर्थिक बचतको साथै स्वदेशमैं रोजगारीको अवसर पनि श्रृजना हुन्छ ।

 

सिन्धुपाल्चोकका केहि विद्यालयमा अध्ययनरत महिनावारी उमेरका छात्राहरुलाई कपडाबाट पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने सीप दिन सुरु भएको छ । सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालय पुननिर्माण परियोजनाले गत वर्ष २० विद्यालयका महिनावारी हुने उमेरका एक हजार ५ सय ३० छात्रा मध्ये ५५ प्रतिशत अर्थात ८ सय ४९ जनालाई तालिम दिएको हो । छात्रा सहित एक सय ७२ छात्र, १७ शिक्षक, ४९ शिक्षिका र २१ अभिभावक गरी एक हजार एक सय ८ जनाले प्याड बनाउने सीप सिकेको महिनावारी स्वच्छता अभियानमा संलग्न सामुदायिक विकास तथा वातवरण संरक्षण मञ्चले जनाएको छ ।

सरकारले विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउनका लागि बजेट बिनियोजन गरेसँगै स्थानीय तह तथा प्रदेशले प्याड बनाउने सीप प्रदान गर्ने नीति तथा कार्यक्रम र बजेट व्यबस्थापन गरी हरेक किशोरी र महिलाको स्वास्थ्य सुधारको पहल गर्न सक्छन् ।

लेखक सिन्धुपाल्चोकमा महिनावारी स्वच्छता प्रवद्र्धन अभियानमा संलग्न हुनुहुन्छ ।

sharmabinod2043@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार