गुणस्तरमा सम्झौता गरेर ठेकेदारको पैसा बचाउन नलाग्नुहोस् : प्रमुख बन्जाडे

काभ्रेपलाञ्चोक : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख नन्दलाल बन्जाडेले निर्माण सामग्रीको गुणस्तरमा सम्झौता नगर्न आयोजना सँग सम्बन्धित प्राविधिक, मिस्त्री एवं ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

काभ्रेको चौरी देउराली गाउँपालिकामा निर्माणाधीन चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपानी तथा सरसफाइ आयोजनाको अनुगमन गर्दै उहाँले गिट्टी, बालुवा लगायत अन्य निर्माण सामग्रीको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको हो ।

 

‘गिट्टी कस्तो हुनुपर्छ ? बालुवाको गुणस्तर कस्तो हुनुपर्छ ? त्यो तपाईहरुलाई मैले भनिरहनु नपर्ला ? निर्माण सामग्रीको गुणस्तरमा सम्झौता गरेर ठेकेदारको पैसा बचाउने काम नगर्नुहोस्’ आयोजनाका प्राविधिहरुलाई उहाँले भन्नुभयो । स्टिमेट भन्दा फरक संरचना निर्माण नगर्न र यसप्रति सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो । नबुझेको कुरा फोन मार्फत सोधेर भएपनि गुणस्तरयुक्त काम गर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले अहिले तत्काल पानी प्रशोधन केन्द्र बनाउने काम नगर्न पनि आग्रह गर्नुभयो । इनार खनेपछि पानीको गुणस्तर हेरेर मात्र पानी प्रशोधन केन्द्र बनाउन उहाँले आग्रह गर्नुभयो ।

एक बर्ष अघि सम्झौता भएको चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपानी तथा सरसफाइ आयोजनाको पाइप ढुवानी गर्ने काम सकिएको छ भने पानी पम्पिङका लागि निर्माण गरिएका ४ वटा रिजभ्र्वायर ट्याङ्कहरुको फाउण्डेशन तथा डिपीसी लेभल सम्मको काम सम्पन्न भएका छन् ।

निर्माण व्यवसायी गौरी प्रसाद उप्रेतीले भने कर्मचारी समायोजनका कारण समयमै साइट नपाउँदा प्रगति केही कम भएको बताउनुभयो । उहाँले करिब ३० करोड मध्ये १० करोडको काम सम्पन्न भईसकेको र ढिलो गरी सुरु भएपनि समयमै सिध्याउन प्रयत्नशील रहेको बताउनुभयो ।

खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि चौरी देउराली गाउँपालिकाको करिब १९०० घरपरिवार लाभान्वित हुनेछन् ।

 

चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपानी तथा सरसफाइ आयोजनासँग सम्बन्धित थप फोटाहरु : 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार