बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन हुने

 

काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी यही साउन ११ र १२ गते काठमाडौमा राष्ट्रिय सम्मेलन हुने भएको छ । बर्षातको पानी संकलन गरेर पानीको संकट समाधानका लागि प्रयोग हुँदै आएको मौलिक ज्ञान, सीप र शैलीहरु, विश्वमा उपलब्ध र विकसित ज्ञान, सीप र प्रबिधिको बारेमा छलफल गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र नेपालका प्रतिनिधीहरुको सहभागिता रहने सम्मेलन आयोजक समितिका अध्यक्ष रामदीप शाहले जानकारी दिनुभयो । उदघाटन र व्यवसायिक सत्रमा गरी २ सत्रमा विभाजित कार्यक्रममा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, बर्षातको पानी संकलनबाट जलाधार तथा परिस्थितिकीय चक्र (इकोसिस्टम), आकाशे पानी संकलनको प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तिय सहयोग, पानीको अभावका साथै जलवायु परिवर्तन र अनुकुलन सँग सम्बन्धित २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

 

सम्मेलन अवधिमा बर्षातको पानी संकलन प्रविधिको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले पानी संकलन र प्रशोधन प्रविधिको बारेमा प्रदर्शनी गरिनेछ । प्रदर्शनीबाट पानी संकलन विधि र ती मध्ये पनि आफ्नो लागि उपयोगी प्रविधिको बारेमा अवलोकनकर्ताहरुले जानकारी हासिल गर्न सक्नेछन् ।

सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र सहभागीहरुको छलफलबाट प्राप्त भएका निष्कर्षहरु नेपाल सरकारका सम्बन्धित निकाय, प्रादेशिक र स्थानीय सरकार समक्ष पनि पु¥याउने सम्मेलन आयोजक समितिका अध्यक्ष शाहले जानकारी दिनुभयो । यसबाट हरेक घरपरिवार बर्षाको समयमा परेको पानी संकलन गरेर आवश्यक पानीको व्यवस्था मिलाउन सक्षम हुने, पानीका स्रोतहरु जोगाउन र पानीको पुनर्भरणलाई सघाउ पोखरी वा बाँध बनाउन अभिप्रेरित हुने आयोजकको अपेक्षा छ ।

बर्षाको पानीको समुचित व्यवस्थापनले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप कम हुने र त्यसको प्रतिकुल असरबाट समुदायलाई जोगाउन समेत मद्दत मिल्ने, बर्षाको पानी संकलन गरी शहरबजारका मध्य तथा पृष्ठ भागमा तलाउ र पोखरी निर्माण गरी सौन्दर्यीकरण गर्न शहरी योजनाकारहरुलाई समेत अभिप्रेरित गर्ने आयोजकको विश्वास छ ।

खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत २० वटा संघसंस्थाको सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्मार्ट वास सोलुसनले सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनको उदघाटन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले गर्ने तय भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार