भूमिगत पानीको दोहन नरोके काठमाडौं भासिन सक्छ : उपमहानिर्देशक दुवाडी

 

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रमाकान्त दुवाडीले अहिलेकै तरिकाले भूमिगत पानीको प्रयोग गर्ने हो भने काठमाडौ भासिन सक्ने बताउनुभएको छ । काठमाडौमा यही साउन ११ र १२ गते गर्न लागेको ‘बर्षातको पानी संकलन’ सम्बन्धी राष्ट्रिय सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पानीको पुनर्भरण नगर्ने तर भूमिगत पानीको दोहन गर्न नछाड्ने हो भने काठमाडौको केही भाग भासिन सक्ने प्रति सचेत गराउनु भएको हो ।

चार महिनाको अवधिमा करिब ८० प्रतिशत पानी पर्ने हुँदा ती पानीलाई संकलन गरी सुख्खा समयमा प्रयोग गर्न सके अहिलेजस्तो पानीको संकट व्यहोर्नु नपर्ने उहाँको भनाइ थियो ।

यसका लागि उहाँले कि भूमिगत पानीको दोहन गर्न छाड्नुपर्ने कि त पानीको पुनर्भरण गर्नुपर्ने विकल्प औल्याउनुभयो । पानीको पुनर्भरण गर्ने बिषयलाई नीति नियम मार्फत व्यवस्थित गर्न सकिने र यस कार्यमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्य सरोकारवाला निकायसँग साझेदारी गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।

चार महिनाको अवधिमा करिब ८० प्रतिशत पानी पर्ने हुँदा ती पानीलाई संकलन गरी सुख्खा समयमा प्रयोग गर्न सके अहिलेजस्तो पानीको संकट व्यहोर्नु नपर्ने उहाँको भनाइ थियो । ‘बर्षातको पानी संकलन गरेर प्रयोग गर्ने हाम्रो मौलिक ज्ञान तथा सीप छ, अझ त्यो सीपलाई परिस्कृत गरी पानी संकलन गरेमा अहिलेको जस्तो पानीको संकट झेल्नुपर्दैन’ उपमहानिर्देशक दवाडीले भन्नुभयो ।

‘पहिलो १०/१५ मिनेटसम्म परेको पानी फल्स गरेर फ्याँक्ने हो भने त्यसपछि जम्मा गरेको पानी पिउनका लागि समेत योग्य हुन्छ । हामीले सुरक्षित तरिकाले संकलन गर्न सकेनौं भने पनि अन्य घरायसी काममा जत्ति पनि प्रयोगमा ल्याउन सकिन्छ, प्रकृतिले निशुल्क दिएको पानीलाई हामीले किन सित्तै फ्याँक्ने ?’ उहाँले भन्नुभयो ।

खानेपानीकै अर्को प्रसंगमा उहाँले सरकारले ठूला जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्ने योजना बनाई रहेको बताउनुभयो । सरकारले बाह्रै महिना बगिरहने खोला तथा नदीको पानीलाई पिउन योग्य बनाएर जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो ।

ठूला जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्दा केवल पिउनका लागि मात्र नभई बहुउपयोग गर्न सकिने उहाँको धारणा थियो । ‘ठूला जलाशययुक्त खानेपानी आयोजनाबाट खानेपानीको अलावा सिंचाई तथा विजुली, पानी घट्टा समेत सञ्चालनमा ल्याउन सकिन्छ । यसले मानिसको जीवनलाई सहज बनाउन मद्दत पु्याउँछ’ उहाँले भन्नुभयो ।

बर्षातको पानीको समुचित व्यवस्थापनले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप कम हुने र त्यसको प्रतिकुल असरबाट समुदायलाई जोगाउन समेत मद्दत मिल्ने जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार