‘पानी नभएरै चाउरिएकी हुँ म’

 ‘म यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन सक्छु तर म केही कुरा बोल्न चाहन्छु । यत्ति धेरै बुद्धिजीवीहरुका अगाडि मेरो कुरा गर्ने हैसियत नपुग्ला तर केही कुरा भन्नै पर्नेछ । यहाँ पानीको बिषयमा व्यापक चर्चा भईरहेको छ । हो म चाउरिएकै पानीको अभावले गर्दा हो ।’

 

काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी बिषयमा ब्यापक छलफल भईरहेको थियो । बिहानै यो बिषयले कार्यक्रम हल तातिदै थियो । सहभागीहरु आ आफ्नो बिषयका प्रश्नहरु सोधिरहेका थिए । विज्ञहरु पनि प्रश्नकर्तालाई चित्तबुझ्दो जवाफ दिन प्रयत्नरत थिए ।

कार्यक्रम थियो बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन सम्बन्धी पत्रकार सम्मेलन । पत्रकार सम्मेलन भनिए पनि कार्यक्रम स्थलभरिमा ७५ प्रतिशत बढी अन्य क्षेत्रको र २५ प्रतिशत जत्ति मात्र पत्रकार सहभागी थिए ।

तैपनि हल खचाखच भरिएको थियो । ढिला आउने सहभागीहरु आफै कुर्सी ल्याउँदै बस्दै गर्दै थिए । त्यही बीचमा देखा पर्नुभयो एक जना महिला ।

हातमा प्रशोधित पानीको बोतल बोकेकी ती महिलाले जब बोल्न थाल्नुभयो सहभागीको ध्यान त्यतै तानियो । ‘म यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन सक्छु तर म केही कुरा बोल्न चाहन्छु । यत्ति धेरै बुद्धिजीवीहरुका अगाडि मेरो कुरा गर्ने हैसियत नपुग्ला तर केही कुरा भन्नै पर्नेछ । यहाँ पानीको बिषयमा व्यापक चर्चा भईरहेको छ । हो म चाउरिएकै पानीको अभावले गर्दा हो ।’

कार्यक्रम स्थलमा ठूलो हाँसोको फोहोरा उठ्यो । अनि सबैले उहाँलाई नै हेर्न थाले । सबैको चासो थियो । साँच्चिकै अनुहार चाउरिएको छ त ? पचास बर्ष उमेर पुगेको बताउने उहाँको खासै अनुहार भने चाउरिएको थिएन । अर्थात उमेर अनुसार त्यत्तिको चाउरिपना स्वभाविक नै थियो ।

‘यो मेरो यथार्थता हो, हाँसोको बिषय होइन’ ती महिलाले अझ थप कुरा राख्नुभयो । उहाँको नाम रहेछ राधा ढकाल । उहाँले अर्गानिक खेती गर्न थालेको ५/६ बर्ष बितिसकेको रहेछ ।

सबैको ध्यान उहाँतिरै खिचिएको थियो । उहाँ बोल्दै जानुभयो, रहस्यका अरु पाना अझ खुल्दै गए । उहाँ गोदावरी नगरपालिकाको वडा १४ की वडा सचिव समेत हुनुहुँदो रहेछ । सरकारी जागीरे भन्दा पनि अर्गानिक खेती अभियन्ता भन्न रुचाउने ढकालले आफ्नो घरको छतभरि विभिन्न जातको तरकारी फलाउन सफल भएको बताउनुभयो ।

 

‘मेरो घर ललितपुर महानगरपालिकाको वडा नं.२९ हरिसिद्धिमा पर्छ । त्यहाँ मैले घरको छतभरि तरकारी मात्र फलाएको छु । कार्यालय समयमा सेवाग्राहीको सेवा गर्नु बाहेक अरु समय मैले तरकारी खेतीमै व्यतित गर्दै आएको छु । आफूलाई चाहिने तरकारी म आफै फलाउँछु तर बिडम्बना पानीकै अभाव छ । २५ दिनमा एक पटक आउने पानी पिउनु कि ? लुगा धुनु कि ? सिंचाई गर्नु ? मैले हाकिम साबहरुलाई खानेपानीको समस्या हल गर्दिस्योस् भनेर कति पटक भनें ?’

सहभागीहरुले भरिभराउ हल चकमन्न थियो । कौसी खेती अभियन्ता राधा ढकालको कुराले सबैलाई मौन बनाएको थियो । उहाँले मकवानपुरको हेटौंडामा समेत अर्गानिक खेती अभियान सुरु गरेको कुरा सुनाउनुभयो ।

‘मलाई हेर्दा सामान्य देखिए पनि म भित्र असामान्य योजना छन्, खासगरी म कौसी खेतीमा रुचि राख्छु, यहाँहरुले मलाई साथ दिएको खण्डमा म कौसी तथा अर्गानिक खेतीमा केही गर्न सक्छु भनेर लागिपरेकी छु’ उहाँले यत्ति भन्ना साथ कार्यक्रम हल तालीले गुञ्जियो ।

निजामति सेवामा छैटौं स्तरकी कर्मचारी राधा ढकाल नमुना महिला कृषक समूह, नयाँबस्ती हरिसिद्धि ललितपुरकी अध्यक्ष समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार