ह्यूम पाइपको विकल्प अब DWC पाइप, यस्ता छन् विशेषता

 

काठमाडौ : सडकको ढल र नालीमा बर्षौदेखि प्रयोग गर्दै आएको ह्यूमपाइपको सट्टामा प्रयोग गर्न मिल्ने Double – Wall Corrugated Pipes (DWC) पाइप बजारमा आएको छ । प्लाष्टिक ट्याङ्की लगायत पानीसँग सम्बन्धित नयाँ – नयाँ उत्पादनहरु गर्दै आएको हिलटेक प्लाष्टिक एण्ड पाइप इन्डष्ट्रिज प्रा.लि.ले सय बर्षसम्म टिकाउ हुने DWC पाइप बजारमा ल्याएको हो ।

१०० एमएम अर्थात ४ इन्चदेखि १००० एमएम (४० इन्च) सम्मको आकारमा उपलब्ध हरेक पाइपको लम्बाइ ६ मिटरको हुन्छ । ह्यूमपाइपको तुलनामा अति हलुका हुने भएकाले यातायातको साधन नपुगेको स्थानमा मानिसले बोकेर समेत लैजान सक्ने भएकाले दुर्गम पहाडी जिल्लाका लागि उपयुक्त हुने हिलटेक कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ह्युमपाइपको तुलनामा यो अति नै हलुका हुन्छ । हलुका भएकाले यो पाइप फिटिङ गर्दा समेत वातावरणीय क्षति हुँदैन । पाइपका लागि खनिएको पाइपलाइनमा लगेर यसलाई साधारण मेसिन वा सानो साइजमा डोरीको सहायताले गाँस्न सकिन्छ । ह्यूमपाइपको तुलनामा तीन गुणा लामो भएकाले लामो दुरीसम्म पाइप जडान गर्दा समेत जोर्नीहरु कम हुन्छन् ।

Double – Wall Corrugated Pipes (DWC) को २ किलोमिटर पाइप बिछ्याउनु परेमा ३३४ वटा जोर्नीहरु हुन्छन् । जब कि त्यत्ति नै लम्बाईको ह्यूमपाइप विछ्याउनु परेमा ८०० वटा जोर्नीहरु हुन्छन् । ह्यूमपाइपको लम्बाइ २ देखि साढे २ मिटर मात्र हुन्छ ।

लचकदार भएकाले फुट्ने सम्भावना कम

ह्यूमपाइप सीधा तथा एउटै सतहमा मात्र बिछ्याउन सकिन्छ । अलिकति बाङ्गो भयो वा सतह मिलेन भने भाँचिने वा फुट्ने सम्भावना हुन्छ । या त धेरै भार भएको सवारी साधनले थिच्दा फुट्ने वा चर्किने सम्भावना हुन्छ । तर Double – Wall Corrugated Pipes (DWC) पाइप लचकदार हुने भएकाले यस्तो कुनै समस्या नआउने हिलटेकले जनाएको छ ।

यो लचकदार र उच्च भारबहन क्षमता हुने भएकाले केही असर पर्दैन । DWC पाइपले शहरबजारको ढल तथा नाली व्यवस्थापनमा क्रान्ति ल्याउन सक्ने हिलटेकको विश्वास छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार