
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा खानेपानी मन्त्रालय मेलम्ची मन्त्रालय जस्तो मात्र भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई भन्दा अन्य खानेपानी आयोजनामा खासै ध्यान दिन नसकेको भन्दै उहाँले खानेपानी मन्त्रालय पूर्णतय मेलम्ची मन्त्रालय जस्तो हुन पुगेको टिप्पणी गर्नुभयो ।
काठमाडौमा शनिबार सुरु भएको ”National Conferense on Rainwater Hervesting For Lovelihood, Community and Ecosystem Resilience” सम्बन्धी सम्मेलनमा सचिव शर्माले आफ्नो पाँच महिने कार्यकालमा खानेपानी मन्त्रालयलाई खानेपानी मन्त्रालय जस्तै बनाउन पहल गरेपनि त्यो आफ्नो प्रयासले मात्र सम्भव नभएको बताउनुभयो ।
‘अब जाने बेला सत्य बोल्नुपर्छ, पिठ्यूँमा नानी बोकेर दिनको ६/७ घण्टा धाएर पानी बोक्ने दिदी बहिनीहरुको पीडा देखेको छु, तराईमा खानेपानीमा आर्सेनिकको समस्या धेरै छ । तर खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका लागि मात्र फोकस गरिरहेको छ’ उहाँले भन्नुभयो ।
नेपालको पानी विदेशमा निर्यात गर्ने बिषयमा भने मन्त्रालयले दिर्घकालीन सोच राखेर कार्यक्रम अगाडि सारेको बताउनुभयो । खानेपानी तथा सरसफाइ विधेयक संसदमा विचाराधीन छ । विधेयकमा नेपालको पानी प्रशोधन गरी विदेशमा निर्यात गर्न सकिने उल्ले छ ।
सचिव शर्माले भन्नुभयो ‘कतिपयले देशभित्रका जनतालाई आधारभूत स्तरको पानी पु्याउन सकेको छैन, विदेशमा पानी निर्यात गर्ने कुरा बढी महत्वकांक्षी भयो कि भन्छन्, हामीले आफ्नो समस्या पनि समाधान गर्दै पानी निर्यात पनि गर्ने हो । हामीले लक्ष्य र सोच त अलि फराकिलो नै राख्नुपर्छ ।’

सम्मेलनमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासले जनस्रोतको धनी देश नेपालका ११ प्रतिशत नागरिकको अझै आधारभूत खानेपानीमै पहुँच नरहेको बताउनुभयो । उहाँले हाल ८९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी तथा ९९ प्रतिशत नागरिकमा सरसफाइ सुविधा पु्याउन सफल भएको बताउनुभयो ।
पछिल्ला बर्षहरुमा प्राकृतिक तथा मानवीय कारण खानेपानीका स्रोतहरु सुक्दै गएको र यसको प्रत्यक्ष असर मानिसको बसोबास, खानपान, जीवनशैलीमा धेरै असर पुगेको बताउनुभयो । ‘तराईमा गाडिएका चापाकलमा पानी आउँदैन, पानीको अभावले बसाई जान बाध्य छन् । पानीको स्रोतमा कसको अधिकार रहने भन्ने बिषयमा द्धन्द्ध सिर्जना भईरहेको छ, प्राकृतिक प्रकोपको बेला खानेपानी तथा सरसफाइ सुविधा दिन सकिरहेको छैन ।’ उहाँले भन्नुभयो ।
यी सबै समस्या समाधानका लागि बर्षातको पानी संकलन गरेर उपयुक्त तरिकाले प्रयोग गर्नुपर्ने उहाँको धारणा थियो ।

बर्षातको पानी संकलन गर्ने मौलिक ज्ञान, सीप तथा शैलीहरु र विश्वमा उपलब्ध ज्ञान, सीप र प्रबिधिको बारेमा छलफल गर्ने उद्देश्यले बर्षातको पानी संकलन सम्बन्धी सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र नेपालमा बर्षातको पानी संकलनको क्षेत्रमा कार्यरत विज्ञ एवं अनुसन्धाताहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा बर्षातको पानी संकलन प्रविधि, पाइप तथा फिटिङस्, फोहोरमैला व्यवस्थापनका लागि आवश्यक बस्तु, पानी शुद्धिकरणसँग सम्बन्धित उपकरणहरु समेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीबाट पानी संकलन विधि, खानेपानी शुद्धिकरणका उपायहरु आदि बिषयमा जानकारी हासिल गर्न सक्नेछन् ।
आज अपरान्ह चार बजे खानेपानीमन्त्री बिना मगरले सम्बोधन गरेपछि बर्षातको पानी संकलन सम्बन्धी सम्मेलनको समापन हुनेछ ।


1848 पटक हेरिएको 

