सात बुँदे सुझाव जारी गर्दै सकियो आकाशेपानी संकलन सम्बन्धी सम्मेलन

🔗
3
Shares

 

काठमाडौ : काठमाडौमा भईरहेको आकाशेपानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन सात बुँदे सुझाव जारी गर्दै सम्पन्न भएको छ । आकाशे पानी संकलनको काम घरायसी, सार्वजनिक तथा संस्थागत सबै तहमा प्रबद्र्धन गर्नुपर्ने, नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणालाई अनुशरण गर्नुपर्ने, काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधानका लागि कोरियन विशेषज्ञता र अनुभवलाई उपयोगमा ल्याउनुपर्ने लगायत सुझाव सम्मेलनले दिएको छ ।

यी हुन् सुझावहरु :

१. मानिसको जीविकोपार्जन उकास्न, पानीको समस्या र यससँग सम्बन्धित सेवाहरु प्रवाह गर्न र पानीको समस्याहरु समाधान गर्न आकाशेपानी संकलन एउटा गतिलो विकल्प हो । त्यसैले नेपालमा आकाशेपानी संकलनको प्रबद्र्धन गर्न जरुरी छ ।

२. निम्न क्षेत्रहरुमा मानिसको सोचमा व्यापक परिवर्तन हुन जरुरी छ ।

— आकाशेपानी घरेलु कामका लागि मात्र नभई खानेपानी र अन्य कामका लागि बहुउपयोगी छ भन्ने धारणाको विकास हुनुपर्ने । खानेपानीको व्यवस्थापन, र पर्यावरणीय सन्तुलनका लागि पनि यो महत्वपूर्ण छ ।

— आकाशे पानी संकलनको काम घरायसी, सार्वजनिक तथा संस्थागत सबै तहहरुमा प्रबद्र्धन गर्नुपर्छ ।

— आकाशेपानी संकलनलाई ग्रामीण क्षेत्रमा मात्र सीमित राख्नु हुँदैन । यसको आवश्यकता अझ शहरी क्षेत्रमा बढी छ र गरिब तथा धनी दुवैका लागि समान एवं लाभदायी छ ।

— आकाशेपानी संकलनको व्यवस्थापन, संरक्षण, पानीको गुणस्तर, विपद व्यवस्थापनका मुद्दाहरुलाई पनि जोड दिनुपर्छ ।

३. विभिन्न अध्ययनहरुले आकाशेपानी संकलन गर्न सकिन्छ र यसको आवश्यकता पनि छ भन्ने दर्शाएको छ ।

— अहिले आकाशेपानी संकलनको बिषयमा जे थाहा छ, त्यो भन्दा बढी प्रविधिहरुको प्रयोग गरी आकाशेपानी संकलनको कामलाई बढावा दिनुपर्छ ।

— आकाशेपानी संकलनको सुविधा प्रदान गर्दै आएका नीजि क्षेत्रहरुलाई आकर्षित गर्न व्यापारिक हिसाबले पनि यो क्षेत्र उत्तम छ भन्ने अवस्था सिर्जना गर्नुपर्छ । यसका लागि विशेष सहुलियत प्रदान गर्नुपर्छ ।

— अन्तराष्ट्रिय सहकार्यमा जोड दिने र आकाशेपानीको क्षेत्रमा सफलता हासिल गरिसकेका अनुभवी राष्ट्रहरुको घटना अध्ययनबाट केही सिक्ने, सिकाउने ।

४. आकाशेपानीलाई जुनसुकै काममा प्रयोग गर्दा पानीको गुणस्तरमा ध्यान दिनुपर्छ । यसकारण पानीको गुणस्तर व्यवस्थापनका लागि अनुगमन अति जरुरी छ ।

५. आकाशेपानी संकलन सँग सम्बन्धित नीति, नियम, निर्देशिकाहरुलाई सरकारले अद्यावधिक गर्ने, अनुगमन गर्ने र कार्यान्वयन गर्ने, आकाशेपानी संकलन सम्बन्धी सबै तहको सरकारको भूमिकालाई पनि स्पष्ट पार्नुपर्छ ।

६. आकाशेपानी संकलन प्रति जनचेतना जगाउन विशेष सचेतना अभियानहरु सन्चालन गर्नुपर्छ । आकाशेपानी संकलनको बिषयलाई पाठ्यक्रममा समेत समावेश गर्नुपर्छ ।

७. नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणालाई अनुशरण गर्नुपर्छ । अहिलेको नयाँ सूचना र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ । अझ काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधानका लागि कोरियन विशेषज्ञता र अनुभवको प्रयोग गरी पहल गर्न सकिन्छ ।

सम्मेलनको पहिलो दिन ३ सय भन्दा बढी र दोस्रो दिन २ सय भन्दा बढीले सहभागिता जनाएका थिए । सम्मेलनमा ३८ वटा संघसंस्थाको प्रत्यक्ष संलग्नता रहेको र सम्मेलन पूर्ण रुपमा सफल भएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रामदिप शाहले जानकारी दिनुभयो ।
दुई दिनसम्म चलेको सम्मेलनमा ६ वटा सत्रमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनको समापन खानेपानीमन्त्री बिना मगरले गर्नुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार