उल्टो छाताले खानेपानीमन्त्रीलाई दियो सुल्टो ज्ञान

 

काठमाडौ : ‘अक्षर सुल्टो पार्दा छाता उल्टो हुँदोरहेछ, छाता सुल्टो बनायो फेरि अक्षर उल्टो हुँदोरहेछ, एकैछिन त म अल्मलिएँ । मैले पो हेर्न नजानेको हो कि भनेर फेरि हेरें, फेरि उस्तै देख्छु । अनि बनाएकै यस्तै रहेछ भनेर त्यसभित्र अर्थ खोज्न थाले ।’

यो भनाई आकाशेपानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलनको समापनको क्रममा खानेपानीमन्त्री बिना मगरले व्यक्त गर्नुभएको हो । भएको के रहेछ भने स्मार्ट वाटर सोलुसन्स्ले प्रकाशन गरेको मुखपत्र मन्त्री मगरलाई थमाईएछ । उक्त मुखपत्रको आवरणमा आकाशेपानी संकलनलाई व्याख्या गर्ने किसिमको बिम्ब कोरिएको थियो । जहाँ छातालाई उल्ट्याउँदा त्यसमा पानी थेग्रिएको चित्र थियो ।

एकैछिनको मन्थनपछि उहाँले निष्कर्ष निकाल्नु भएछ । हो वास्तवमा हाम्रा विकास संरचना यस्तो हुनुपर्ने हो । तर अहिले सुल्टो छाता जस्तै बनेका छन् । पानी पर्छ तर जमिनले सोस्न पाउँदैन र छाताबाट पानी तर्के जस्तै क्षणभरमा ढल मार्फत खोलानालामा पुग्छ ।

‘मैले निक्कै बेर सोचें, छाता उल्टो पार्दा बर्षातको पानी जम्मा हुन्छ, हामीले सुल्टो छाता जस्तो पूर्वाधार बनाउँदा पानी तैरिरहेको छ । अब हामीले तैरिने होइन कि पानी पुनर्भरण हुने अर्थात जमिनले पानी सोस्ने खालको बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

आकाशेपानी संकलन गरी खानेपानी तथा घरायसी प्रयोजनका लागि उपयोग गर्ने वर्तमान परिप्रेक्ष्यमा अति नै समय सापेक्षा र उपयोगी हुने उहाँको धारणा थियो । खोला बेसीमा बग्ने तर बस्ती नै पहाडको थुम्कोमा हुने भएकाले खानेपानी सुविधा पु्याउन धेरै गाह्रो भईरहेको समयमा आकाशेपानी संकलन गरी प्रयोग गर्ने बिषय उत्तम विकल्प हुने उहाँले बताउनुभयो ।

उहाँले भौगोलिक तथा आर्थिक कठिनाईका कारण कतिपय बस्तीमा खानेपानी सुविधा पु्याउन मन्त्रालयलाई टाउको दुखाईको बिषय भएको बेला आकाशेपानी संकलनलाई व्यापक बनाईनुपर्ने उहाँले बताउनुभयो ।

सम्मेलन आयोजकले सम्मेलनको निष्कर्ष सहित ७ बुदे सुझावपत्र खानेपानीमन्त्री बिना मगरलाई बुझाएको छ । मन्त्री मगरले यसको परिपालनाका लागि सबैको दायित्व उत्तिकै रहेको बताउनुभयो ।

सम्मेलनमा ३८ वटा संघसंस्थाको प्रत्यक्ष संलग्नता रहेको र सम्मेलन पूर्ण रुपमा सफल भएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रामदिप शाहले जानकारी दिनुभयो । दुई दिनसम्म चलेको सम्मेलनमा ६ वटा सत्रमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनको समापन खानेपानीमन्त्री बिना मगरले गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार