मुहान सुक्न थालेपछि पुनर्भरण पोखरी, सुकेका धारामा पनि पानी

 

अछाम : गाउँघरमा पानीका मुहान सुक्न थालेपछि पुनर्भरण पोखरी निर्माण गर्न थालिएको छ । आकाशे पानी जम्मा गर्न ती पोखरी बनाउन थालिएको हो । यसरी पोखरी निर्माण गर्न थालिएपछि मूल सुकेका धारामा पनि कलकल पानी झरेको छ । पानीको स्रोत बचाइराख्न अछामको चौरपाटी गाउँपालिकामा आकाशे पानी जम्मा गर्न ससाना पोखरी निर्माण अभियान सञ्चालन गरिएको छ । यहाँ बासिन्दाले तीन दिनमै एक हजार दुई सयभन्दा बढी यस्ता पोखरी बनाएका छन् ।

गाउँपालिकाका सातवटै वडाका खाली जमिनमा पानी थिग्रने खाल्डाहरू तयार गरेर पानीको स्रोत बढाउने योजना सहित ती पोखरी निर्माणमा गाउँपालिका जुटेको हो । खेती लगाउने बाहेकको जमिनमा आकाशे पानी बग्न नदिई एक ठाउँमा थिगारेर राख्न खाल्डाहरू बनाउन थालिएको छ । ती खाल्डामा पानी सङ्कलनका लागि केही मिटर परबाट कुलो बनाएर ल्याइएकोे गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनुभयो । यो खबर गोरखापत्र दैनिकले छापेको छ ।

गाउँपालिकामा रहेको खेतीयोग्य जमिनको सुक्खापन कम गरी उब्जनी बढाउने उद्देश्यले यस्तो पोखरीको अवधारणा ल्याइएको हो । पानीको स्रोत सुकेपछि समस्या भोगिरहेका स्थानीयवासी स्वस्फूर्त रूपमा पुनर्भरण पोखरी बनाउने अभियानमा जुट्न थालेका छन् ।

अध्यक्ष साउदले भन्नुभयो, “जनता स्वस्फूर्त रूपमा सामाजिक काम भन्दै पोखरी बनाउन लागेका छन् । हामीले दीर्घकालीन रूपमा जमिन सुक्खा नहोस् भन्ने उद्देश्यले रिचार्ज पोखरी बनाउन थालेका छौँ । ” गाउँका महिला, पुरुष बिना पारिश्रमिक पोखरी निर्माण अभियानमा संलग्न छन् ।

पोखरी निर्माण गरी मुहान बचाउने अभियानका लागि नीतिगत निर्णय गरेर अभियान सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले बताउनुभयो । यसअघि जिल्लामा हरेक वर्ष सरकारी र गैरसरकारी क्षेत्रबाट सिँचाइका योजनामा लाखौँ रुपियाँ खर्च हुने गरेको थियो ।
यस्ता पोखरी निर्माणले जमिन ओसिलो हुने भएकाले जलवायु परिवर्तन अनुकूलनसँगै उब्जनी वृद्धि, वनको विकास, वन्यजन्तुको संरक्षणसमेत हुने गरेको छ । रिचार्ज पोखरी निर्माणमा भएको जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको अध्यक्ष साउदको भनाइ छ ।

अनुकूलन बनाउने प्रयास

अछाममा ‘पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समयानुकूलन आयोजना’ ले पानीका मूल संरक्षण गरेर जलवायु परिवर्तनलाई अनुकूलन बनाउने प्रयास गरिरहेको छ ।

एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा सरकारले यो आयोजना सुरु गरेपछि स्थानीयवासी आआफ्नो गाउँमा आयोजना नपुगे पनि यस काममा जुटेका छन् । आयोजनाबाट यहाँ जलवायु परिवर्तनलाई अनुकूलन बनाउन ४२ वटा योजना निर्माण हुँदा दुई हजार पाँच सय परिवार लाभान्वित भएका छन् । गत दुई वर्षयता हालको मङ्गलसेन र साँफेबगर नगरपालिका, मेल्लेख, रामारोशन, चौरपाटी, बान्नीगढी, जयगढ गाउँपालिकामा आयोजनाले पानीका मुहानहरू संरक्षण गर्ने काम गरिरहेको छ ।

मुहान संरक्षणका लागि मुहान वरिपरि वृक्षरोपण गर्ने, मूलवरपर पोखरी निर्माण गर्ने, ससाना खाडल निर्माण गरी पानीलाई बग्नबाट बचाई पानीको पुनः प्रयोग बढाउनेलगायतका काम स्थानीयवासीको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने गरेका छन् ।

आयोजनाले जिल्लामा पाँच स्थानीय तहमा काम गरिरहेको आयोजनाका अधिकृत दामोदर ऐरले जानकारी दिनुभयो । “पानीको मुहान बचाउने, मुहानवरिपरि वृक्षरोपण गर्ने, बगेर जाने पानीलाई पोखरी बनाई धर्तीको तल्लो भागसम्म पानी पु¥याउने काममा हामी लागिरहेका छौँ”, अधिकृत ऐरले भन्नुभयो । परियोजनाले मुहानवरिपरि फलफूल, घाँसपात वृक्षरोपण सुरु गरेपछि स्थानीयवासीलाई डाले घाँस र फलफूल सहज रूपमा उपलब्ध भएको छ ।

मङ्गलसेन नगरपालिका–५ का कला जोशीले भन्नुभयो, “हाम्रो गाउँमा मुहान संरक्षणका लागि गरिएको प्रयास छोटो समयमा फलदायी भएको छ । ” परियोजनाले मङ्गलसेन नगरपालिकाभित्रका मङ्गलसेन, वली गाउँ, जुपु, बान्नातोेली र कालागाउँमा पानीका मुहान संरक्षणका लागि पानी पोखरी निर्माणलगायत संरक्षणमुखी कार्यहरू गरिरहेको छ । साँफेबगर नगरपालिकाभित्रका भागेश्वर, चण्डिका, रिडिकोट, नवाठाना, सिद्धेश्वर, घुघुरकोट, बाब्ला, जाल्पादेवी, पातालकोट, वैद्यनाथमा स्थानीयवासीको समिति बनाएर पानीका मुहान संरक्षणको काम भइरहेको छ ।

यस्तै चौरपाटी गाउँपालिकाका सोकट, दुनी, पायल, लुङ्ग्रा र मार्कुमा र मेल्लेख गाउँपालिकाका ठाँटी, कुस्कोट, षोडशा, हात्तीकोट, विन्दवासिनी, नन्देगडामा अनुकूलनको परियोजना सञ्चालनमा छन् । रामारोशन गाउँपालिकाअन्तर्गतका बाटुलासेन, शान्तडा, सुतार, चाफामाडौँ, मलातीकोट र बान्नीगढी जयगढ गाउँपालिकाभित्रका कालिका, तिमिल्सैन, बर्दादेवी, जनालीकोट र गाज्रामा पानीको मुहान संरक्षणको काम भएको गाउँपालिकाले जनाएको छ ।

मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज शर्माले आउँदो वर्ष जलवायु अनुकूलन गह्रा सुधार र रिचार्ज पोखरी बनाउने योजना रहेको जानकारी दिनुभयो । पानीका मुहान संरक्षणका निम्ति गएको आर्थिक वर्षमा १९ करोड बजेटमध्ये १६ करोड रुपियाँको काम भएको परियोजना कार्यान्वयन एकाइ अछामले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षसम्म सञ्चालन अवधि रहेको सो आयोजनाले यसअघि गठन भएका स्थानीय उपभोक्ता समितिमार्फत पानी मूल संरक्षणमा काम गर्ने जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार