सरसफाइको अनुगमन गर्न सुकुम्बासी बस्ती पुग्दा …..

 पी.टी.लोप्चन

 

बिहानको खाना खाने समय भईसकेको थियो । कोही खाने तयारीमा थिए, कोही भने खाना खाएर पनि बाहिर निस्कने तरखर गर्दै थिए । स्कुल जाने उमेरका बालबालिका विद्यालय पोशाक लगाउदै थिए । त्यत्ति नै बेला पुग्यो सुकुम्बासी बस्तीको सरसफाइको अवस्था हेर्न गएको अनुगमन टोली ।

टोलीले अनुगमनका लागि काठमाडौ महानगरपालिकाको वडा नं. ११ थापाथलीमा रहेको सुकुम्बासी बस्तीलाई पहिलो बस्तीको रुपमा छानेको हो । सुकुम्बासी बस्ती प्रवेश गर्ने ठाउँमै एउटा कार्यक्रम भईरहेको थियो । त्यही कार्यक्रममा भेटिनुभयो नेपाल बसोबास बस्ती संरक्षण समाजका संस्थापक अध्यक्ष हुकुम बहादुर लामा । देशभरिका अव्यवस्थित बस्तीहरुका नेता लामाले सरकारी टोली देखेपछि बस्ती प्रवेश गर्नुको उद्देश्य सोध्नुभयो ।

 

 

काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले अनुगमनको उद्देश्यका बारेमा प्रकाश पारेपछि लामाले बस्तीको हरेक जसो घरमा पुर्‍याएर शौचालयको अवस्था, सामूहिक शौचालय प्रयोग गर्ने घरपरिवार तथा पानीको स्रोतको बारेमा जानकारी गराउनुभयो ।

कुनै पनि क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न सबै वडाको बस्तीमा आधारभूत सरसफाइ सुविधा हुनुपर्ने प्रावधान छ । हरेक घरमा शौचालय निर्माण भई प्रयोग गरिरहेको अवस्थालाई सरसफाइको आधारभूत अवस्था बुझाउँछ ।

‘सुकुम्बासीहरु चोरी र फोहोरी हुन्छन् भन्ने आरोप खेप्नुपरेको छ, यसबाट मुक्त रहन पनि हामीले सरसफाइमा ध्यान दिने गरेका छौं’ अध्यक्ष लामाले भन्नुभयो ‘अरु ठूलाबडाको घरको शौचालयको ढल सीधै वाग्मतीमा मिसाइएको छ, तर हामीले सानो खाल्डो खनेर भएपनि दिशाको व्यवस्थापन गर्दै आएका छौं, दिसाजन्य लेदोलाई वाग्मती नदीमा जोडेका छैनौं ।’

बाबुराम सरकारको पालामा डोजर चलाएको यो बस्तीमा विभिन्न गैरसरकारी संस्थाले भने खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिरहेको रहेछ । यहाँ बनाइएका शौचालय तथा पक्की ट्यूबेलले पनि सुकुम्बासी बस्तीमा गैरसरकारी संस्थाको उपस्थितिलाई प्रमाणित गथ्र्यो । तर उनीहरुले संघसंस्थाले गरेको सहयोगको सवालमा भने केही भन्न चाहेनन् ।

 

‘शौचालय हेर्न आउनुभएको तपाईहरु ?’ लामासँग कुराकानी हुँदाहुँदै एक जना महिला बीचैमा बोल्नुभयो । हजुर ! हामी शौचालय छ छैन ? शौचालय नभएका घरपरिवारले कहाँ दिसापिसाब गर्छन् ? खुला ठाउँमा दिसापिसाब गर्छन् गर्दैनन् ? भनेर हेर्न तपाईहरुको बस्तीमा आएका हौं ।’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेल ती महिलाले सोधेको प्रश्नको उत्तर दिनुभयो ।

ती महिला बस्तीकै हर्तकर्ता महिला हुनुहुँदो रहेछ । उहाँको नाम रहेछ अरुणा कुमारी चौधरी । भर्खरै फोहोर जलाएर फर्केको बताउने चौधरीसँग कयौं गुनासाका पोका रहेछन् । ‘मानिसहरु कारमा चढेर आउँछन् र फोहोरको बोरा पुलबाट बाग्मतीमा खसाल्छन्, तर गाली खानुपर्ने बेला हामीले खानुपर्छ । बाग्मती सभ्यताले यहाँ वाल लगाएपछि वाग्मतीमा हामीले न दिसा न फोहोरमैला नै फ्याँकेका छौं’ चौधरीले एकै स्वासमा भनेर भ्याउनुभयो ।

सुकुम्बासी बस्तीमा साप्ताहिक तथा पाक्षिक रुपमा सरसफाइ अभियान समेत सञ्चालन भईरहेको र जल्ने फोहोरलाई जलाउने र नजल्ने फोहोरलाई खाल्डो खनेर गाड्ने गरेको बताउनुभयो । आफूहरुले फोहोर संकलनका लागि महानगरपालिकाको गाडी बोलाउँदा पनि नपठाएकोमा उहाँको ठूलो गुनासो थियो ।

‘सुकुम्बासी बस्तीहरुमा सरसफाइ र खानेपानीको समस्या विकराल होला भन्ने जुन हाम्रो अनुमान थियो, त्यस्तो होइन रहेछ । यो एउटा बस्ती हेरेपछि सुकुम्बासी बस्तीको सरसफाइको अवस्थाबारे थाहा भयो ।’ थापाथलीको सुकुम्बासी बस्तीबाट निस्कँदै गर्दा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले आश्चर्य प्रकट गर्दै भन्नुभयो ।

त्यसपछि टोलीले शान्तिनगरमा रहेको गैरीगाउँ सुकुम्बासी बस्तीमा जाने निधो गर्‍यो । त्यहाँ पुग्दा कोही भाँडाकुँडा माझ्दै थिए । बालबालिका चापाकलमा हातखुट्टा धुँदै थिए । धोएका कपडा डोरीमा तन्काएर सुकाइएको थियो ।

झनै त्यो बस्तीमा त घरघरै चर्पी बनेको रहेछ । चर्पी पनि कच्ची हो र पूरै पक्की । चर्पी भित्र बाल्टिन, जग, ब्रस लगायत चर्पीमा चाहिने सरसफाइ सामग्री पनि राखिएको थियो । झनै यो बस्तीमा केही भन्नै परेन । अनुगमन टोलीका संयोजक हरिदत्त पौडेलले सरसफाइ नियमित प्रक्रिया भएकाले सरसफाइलाई सुधार गर्दै लैजान आग्रह गर्नुभयो । बस्तीका मानिसहरु पनि खुसी भए र सामूहिक फोटो खिच्न आग्रह गर्दै अनुगमन टोलीसँग उभिए ।

…………………
दुई वटा अव्यवस्थित बसोबास रहेको बस्तीको अनुगमन पछि तेस्रो बस्तीमा पनि जाने सुर कस्यौं । तेस्रो बस्ती थियो, महानगरपालिकाको वडा नं. १४ मा रहेको बल्खु स्थित अव्यवस्थित बस्ती । वाग्मती किनारमा रहेको यो बस्ती सबैभन्दा ठूलो बस्ती रहेछ । ४१० घरपरिवार बस्दै आएको यो बस्तीका मानिसहरुले समेत खुला ठाउँमा दिसा गरेको भेटिएन । सुत्ने कोठा र भान्छा कोठा अलग अलग नभएपनि शौचालय चाहिं बनाएको पायौं यो बस्तीमा ।

सुकुम्बासी बस्तीमा खानेपानी र सरसफाइको अवस्था अति नाजुक होला भन्ने जुन अनुमान थियो, काठमाडौमा यी तीन वटा बस्तीमा गएपछि त्यो भ्रम टुटेको छ । बरु बीर अस्पताल, रत्नपार्क, बसपार्क क्षेत्रमा बस्ने फिरन्ते र मानसिक सन्तुलन बिग्रेका मानिसहरुले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् ।

यदि ती ठाउँमा खुला दिसा गर्ने मानिसहरुलाई समेत रोक्न सक्यौं र सार्वजनिक शौचालयमा दिसापिसाब गर्ने अवस्था सिर्जना गर्न सक्यौं भने ‘खुला दिसामुक्त काठमाडौ’ घोषणा गर्न केही कुराले पनि बाधा पुर्‍याउने देखिदैन ।

फोटोहरु : चेतन राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार