भान्छाबाट फोहोर वर्गीकरण किन र कसरी गर्ने ?

 

 

 हरिकुमार श्रेष्ठ

प्रमुख,  काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग 

 

 

परिचयः (Introduction)

फोहोरमैला भन्नाले घरेलु फोहोरमैला, औद्योगिक फोहोरमैला, रसायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला वा हानिकारक फोहोरमैला सम्झनुपर्छ । तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका फालिएका वा सडेगलेका, वातावरणमा ह्रास आउने गरी निष्काशन गरिएका, ठोस, तरल ग्याँस, लेदो, धुवाँ, धूलो, विद्युतीय तथा सूचना प्रविधिका लागि प्रयोग भएका सामग्रीहरु लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरु वा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्प्लेट र सार्वजनिक सूचना प्रकाशन गरेर फोहोरमैला भनी तोकिदिएका अन्य वस्तु समेतलाई जनाउने छ ।

फोहोरमैलाको व्यवस्थापनः

फोहोरमैला समस्या व्यक्ति एक्लैले समाल्न सक्ने विषय त हैन तर व्यक्ति–व्यक्तिबाट तह–तहमा गरिने प्रयासबाटै यस्ता समस्याको समाधान निकाल्न सकिन्छ । तपाई हामी गाउँमा बसौं वा सहरमा घरमा बसौं वा डेरामा जहाँ बसे पनि जहाँ रहे पनि प्रकृति र वातावरण प्रतिको दायित्व उत्तिकै छ ।

फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी तपाई हामी सबैको हुँदा हुँदै पनि यसमा हामी माध्यम हुन सक्छौ तर साध्य हुन फोहोरमैलालाई स्रोतमा न्यूनीकरण, पुनःप्रयोग, प्रशोधन वा विसर्जन गरी फोहोरमैलाको व्यवस्थित तथा प्रभावकारी व्यवस्थापन गर्न तथा फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्नका लागि फोहोरमैलालाई सुव्यवस्थित तरिकाले व्यवस्थापन गर्नु सार्वजनिक चिन्ता र चासोको विषय बन्नु पर्छ ।

फोहोरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहोरमैलाको भोलुममा कम गर्न घरघरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहोर फरक किसिमको भाँडोमा राख्ने परिपाटिको विकास गर्ने र साप्ताहिक रुपमा फरक फरक बारको तालिका बनाएर फोहोर संकलन गरेको अवस्थामा फोहोरको मात्रामा कमी बनाउन सकिन्छ । राजधानी सहर सहर सफा सुन्दर सहर “संस्कृतिको सहर काठमाडौ नगर” भन्ने नारा सफल बनाउन सकिन्छ ।

फोहोरमैलालाई स्रोतमा न्यूनीकरणः पुनःप्रयोग प्रशोधन वा विसर्जन गरी फोहोरमैलाको प्रभावकारी व्यवस्थापन गर्न आफ्नो घर, पसलले चर्चेको आधा सडक सम्म सफा गर्ने जिम्मेवारी सरोकार निकायको हुनेछ । यसै गरी फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरण पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्नका लागि फोहोरमैला जस्तो अत्यन्त सम्बेदनसिल विषयबस्तु फोहोरमैलाबाट निस्कने ठोस, तरल वा ग्याँस वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव पारी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने क्षति पुर्याउने वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानी नोक्सानी पुर्याउने घरेलु फोहोरमैला, औद्योगिक फोहोरमैला, वा हानिकारक फोहोरमैला सडेगलेका, वातावरणमा ह्रास आउने गरी निष्काशन गरिएका ठोस, तरल, ग्याँस लेदो, धूवाँ धुलो, आदिले जलवायु परिवर्तनमा प्रभावित पारेको छ ।

सोको नियन्त्रण गर्न काठमाडौै महानगरपालिकाले फोहोरको स्रोतमै फोहोरको पहिचान गरी व्यवस्थापन गर्ने नीति अवलम्बन गर्न लागेको छ । स्थानीय तहले निजी क्षेत्र, सामुदायिक एवम् गैरसरकारी संघ, संस्थासँगको साझेदारीमा फोहोरमैला व्यवस्थापन न्यूनीकरणको लागि जनचेतना अभिबृद्धि, फोहोरमैला सङ्कलन, ढुवानी, फोहोरमैला व्यवस्थापन स्थलको बन्द पश्चात व्यवस्थापन, उद्यान निर्माण र सौन्दर्यीकरण जस्ता कार्य गर्न प्रत्येक वडामा समुह परिचालन गरिनेछ । समूहलाई जिम्मेवारी, जवाफदेही र अधिकार सम्पन्न समूहमा परिणत गर्नको लागि फोहोर घर, होटल, अस्पताल, उद्योग कलकारखाना, गार्मेन्ट आदिबाट उत्सर्जन गरिएको फोहोर डाइरेक्ट सडकमा नआउने गरी व्यवस्थापन गरिने छ ।

अनुगमन समिति : अनुगमन समिति टोलटोलमा गठन गरिनेछ, जस्ले सडकमा फोहोर फल्छ उसलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम कारवाही गरिने छ । कारवाही गर्ने जिम्मा वडा समूहलाई प्रदान गरिनेछ । समूहले सजाय गरेको रकमको २५ प्रतिशत सम्बन्धित समितिलाई दिने नीति बनाइने छ ।

जैविक र अजैविक फोहोरको लागि कम्पोष्ट विन र डष्ट विन प्रयोग गर्न सकिनेछ । डष्ट बिनमा जैविक र अजैविक फोहोर छुट्याई जैविकलाई कम्पोष्ट मलमा रुपान्तरण गर्ने र करेसावारीमा प्रयोग गर्ने अजैविक फोहोरलाई पुनःप्रयोग गर्नको लागि कवाडीलाई विक्री गर्न दररेट कायम गरिनेछ । साथै आय आजर्न गर्न सक्ने सीपमूलक तालिम प्रदान गर्दै स्ववलम्वन बन्ने उद्धेश्यले कार्यक्रम अगाडि बढाइनेछ ।

कुहिने फोहोर ४ दिन र नकुहिने फोहोर लिन ३ दिनमा फरक फरक किसिमले संकलन गरिने परिपाटीको विकास गरिनेछ ।

आइतवारः कुहिने फोहोर                                                सोमवारः कुहिने फोहोर

मंगलवारः नकुहिने फोहोर                                              बुधवारः कुहिने फोहोर

विहिवारः नकुहिने फोहोर                                                शुक्रवारः कुहिने फोहोर

शनिवारः नकुहिने फोहोर

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले नगरवासीहरुको भावना, चाहना र उद्धेश्य पुरा गर्न यो कार्यक्रम ल्याएको छ ।

यस आर्थिक वर्षवाट कम्पोष्ट प्लानवाट मल उत्पादन गर्ने । उत्पादित मल किसानहरु सँग समन्वय गरेर सहुलियत मूल्यमा किसानलाई उपलब्ध गराउने नीति ल्याइने छ । प्रत्येक नगरवासीहरुको घर घरमा गएर संकलन गर्ने । त्यसको व्यवस्थापन काठमाडौं महानगरपालिकाले कार्य योजना वनाएको छ ।

काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोरको परिमाणः

१. काठमाडौं महानगरपालिका काठमाडौं  ५१६  मेट्रिक टन

२. कीर्तिपुर नगरपालिका काठमाडौ ६ मेट्रिक टन

३. कागेश्वरी मनहरा नगरपालिका काठमाडौ २० मेट्रिक टन

४. चन्द्रगिरी नगरपालिका काठमाडौ ३० मेट्रिक टन

५. गोकर्णेश्वर नगरपालिकाका काठमाडौ ६० मेट्रिक टन

६. टोखा नगरपालिकाका काठमाडौ ३५ मेट्रिक टन

७. तार्केश्वर नगरपालिका काठमाडौ ३५ मेट्रिक टन

८. बुढानिलकण्ठ नगरपालिका काठमाडौ ३५ मेट्रिक टन

९. दक्षिणकाली नगरपालिका काठमाडौ १५ मेट्रिक टन

१०. नागार्जुन नगरपालिक काठमाडौ ३५ मेट्रिक टन

११. शंखरापुर नगरपालिका काठमाडौ ८ मेट्रिक टन

१२. ललितपुर महानगरपालिका ललितपुर १३० मेट्रिक टन

१३. गोदावरी नगरपालिका ललितपुर २५ मेट्रिक टन

१४. महालक्ष्मी नगरपालिका ललितपुर ३० मेट्रिक टन

१५. भक्तपुर नगरपालिका भक्तपुर —

१६. मध्यपुरथिमी नगरपालिका भक्तपुर ३० मेट्रिक टन

१७. चाँगुनारायण नगरपालिका भक्तपुर १५ मेट्रिक टन

१८. सूर्यविनायक नगरपालिका भक्तपुर २५ मेट्रिक टन

जम्मा फोहोर – १०४५ मेट्रिक टन

फोहोरमैलाको दिगो समस्या समाधन गर्ने उपायहरुः

घर करेसाको सरसफाइबाट गमला, करेसावारी वा खेतवारीलाई उपयोग हुने मल आफैं बनाउने र प्रयोग गर्ने वा कम्पोष्ट मल बनाउने संस्थालाई जैविक फोहोरमैला उपलब्ध गराएर सहयोेग गर्ने । कामको सिलसिलामा बनिबनाउ खाजा, मिनेरल वाटर, प्लाष्टिक वा प्याकेटमा रहेका खानेकुरा, खाएका बोटल, कन्टेनर वा प्याकेट, थैला वा पोकाका खोल जताततै वा सार्वजनिक वा खुला ठाउँमा नफाल्ने ।

यस्तो कुरालाई कुनै झोलामा पोको पारेर घरमै लगि उपयुक्त फोहोर राख्ने भाँडोमा राख्ने । थोत्रा टुटेफुटेका सामान जत्रतत्र नफाली एकीकृत गरी कवाडीमा पठाउने । पुर्दा वा जलाउँदा मक्किने सड्डे गलेका, धुलिया धमिरा लागेका जैविक फोहोरमैलालाई सकेसम्म घरपरिसरमै गाड्ने वा जलाउने वा काठपातको फोहोर भए त्यसैको उपयोग गर्न सक्नेलाई उपयोग गर्न दिने ।

सार्वजनिक क्षेत्रको सरसफाइमा स्वयम्सेवकको भूमिका निर्वाह गर्ने । फोहोरमैलाको प्रशोधन र विसर्जन सम्बन्धी ज्ञान आफूले राख्ने र अरुलाई पनि सिकाउने । प्रकृति र वातावरणप्रेमी भएर समुदायलाई यसतर्फ उत्प्रेरित गर्ने ।

फोहोरमैलाको प्रयोग क्षेत्रगत वर्गीकरणः पुन प्रयोगमा ल्याउन नसकिने वा अनावश्यक ठानेर फालिने चीजहरु नै फोहोरमैला हुन् । उत्पादन, प्रशोधन तथा उपभोगका लागि गरिने औद्योगिक, व्यापारिक, कृषिजन्य, सामुदायिक तथा घरायसी क्रियाकलापको नतिजा स्वरुप फोहोरमैला उत्पन्न हुन्छ । फोहोरमैलाको उदय र विस्तारबाट निस्कने फोहोरमैलालाई विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।

१. घरेलु फोहोरमैला :

घरव्यवहारमा उपभोग, उपयोग र प्रयोग गरिने उपभोग्य वस्तु, औजारसाधन र कामकाजबाट उत्पन्न हुने फोहोरमैला घरेलु फोहोरमैला हुन् ।

सागसब्जीका बोक्रा, सागपातका सढेगलेका टुक्रा, च्यातिएका लत्ताकपडा, टुटेफुटेका भाँडावर्तन, किलाकाँटी, सावुनको खोल, दुध वा तेलका खाली भएका थैला, कुनै पनि वस्तुका खोलका रुपमा राखिएका प्लाष्टिकका खोल, सडेगलेको सागसब्जी वा खानेकुराको जुठो, फुटेटुटेका ऐना, सिसा, गीलास, रित्तिएका वट्टा च्यातिएका कागजपत्र, बोतल र बोतलका विर्का, खालि भएका आदि सामान्यत घरेलु फोहोरमैलाका रुपमा चिनिन्छन् ।

मिठाई, चकलेट, चुरोटका खोल, पेयपदार्थ पिउने प्लाष्टिकका पाइप, पूजाआजा गरेर सेलाउनु पर्ने ध्वजापतका, फूलपात, दुनाटपरा, वा यस्तै एक पटक प्रयोग गरेर फालिने चीजविज पनि घरेलु फोहोरमैलाका स्रोत हुन् ।

२. औद्योगिक फोहोरमैला :

आम उपभोक्ताका लागि बजारमा उपलब्ध गराउने विभिन्न थरीका तयारी सामानको उत्पादन, प्रशोधन, भण्डारण, विक्री–वितरण तथा आपूर्तिका सिलसिलामा उत्पन्न हुने फोहोरमैला औद्योगिक फोहोरमैला हुन् ।

औद्योगिक फोहोरमैलामा घरेलु फोहोरमैलामा उल्लेख भएका अधिकांश खालका फोहोरमैला पर्दछन् । औद्योगिक फोहोरमैलामा यस्ता फोहोरका अतिरिक्त रासायनिक फोहोरमैला समेत पर्दछन् ।

३. रासायनिक फोहोरमैला :

यथास्थितिमा प्रयोग गर्न नसकिने र मानवस्वास्थ्य, जीवजन्तु, वनस्पति र वातावरणलाई प्रतिकूल असर पार्ने फोहोरमैलाका रुपमा उत्सर्जन वा विसर्जन गरिएका सबै रासायनिक पदार्थ रासायनिक फोहोरमैलामा पर्दछन् ।

मानिसको सम्पर्कमा आउने यस्ता रासायनिक फोहोरमैलामा ड्रइसेल वा व्याट्री, व्याट्र्ीमा प्रयोग हुने अम्ल (एसिड) घर सडकपेटी रङ्गाउने रङ्ग र त्यसमा प्रयोग हुने रासायनिक पदार्थ, कृषिसँग सम्बन्धित विषादी लगायतका वस्तुबाट यस खालको फोहोरमैला निस्कन्छ ।

४. स्वास्थ्य सेवा सम्बन्धी फोहोरमैला :

अस्पताल, औषधालय, औषधिको उत्पादन, विक्री वितरण, चिकित्सागत प्रयोगशाला, पशुस्वास्थ्य सेवा वा स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान गर्ने संस्थाहरुबाट उत्पन्न तथा निष्कासन हुने फोहोरमैला स्वास्थ्य सम्बन्धी फोहोरमैलामा पर्दछन् ।

यस्ता फोहोरमैलामा कतिपय घरेलु फोहोरमैलासँग मिल्दाजुल्दा फोहोर हुन्छन् भने कतिपय औद्योगिक फोहोरमैला हुन्छन् । कतिपय फोहोरमैला मिश्रित पनि हुन्छन् । रसायन र रेडियो विकिरण पनि मिसिएको फोहोरमैला हुने भएकाले यस्ता फोहोरमैला मानिस तथा पशुपंक्षीका लागि हानी गर्ने खालका नै बढी हुन्छन् ।

५. हानिकारक फोहोरमैला :

फोहोरमैला हुँदैमा सबै कुरा मानिस जीववस्तु, वनस्पति र जलवायुका लागि प्रतिकूल भई हाल्दैनन् । तर यस्ता कतिपय फोहोरमैला हुन्छन् जसका उपस्थिति, अरु वस्तुसँग तिनकको संसर्गले नै मानिस जीवनजन्तु, चराजुरुङ्गी, जल, जमिन, जंगल वायु आदिलाई हानी गर्छ ।
यस्ता फोहोरमैला हानिकारक फोहोर हुन् । विषादि, रसायन, रेडियोविकिरण, बहुअम्लीय गुण भएका फोहोरमैला हानिकारक फोहोरमैलामा पर्दछन् ।

६. मलखाद योग्य सडने फोहोरमैलाः

कुहिने खालका सागसब्जी, फूलफल खाद्यवस्तु केलाउदा वा काट्दा निस्कने बोक्रा वा टुक्रा, झुत्रा आदि फोहोर, सामान्य कसिङ्गर, झारपात, पातपतिङ्गर, सडेगलेको तरकारी, सागसब्जीका रुपमा निस्कने फोहोर मलखाद योग्य फोहोरमैला हुन् । यस्ता फोहोरमैलालाई सामान्यतः जैविक फोहोरमैला भनेर चिनिन्छ ।

गाई वस्तु, बाख्राखसी, कुखुरा, परेवा, कुकुर विराला, जस्ता घर पालुवा जन्तुले खानेकुरा र तीनको दिसापिसाब पनि मलखादयोग्य फोहोरमैला हुन् । मानिसको दिसापिसाब पनि यही कोटीको फोहोरमैला हो ।

पराल, अम्लिसो, बावियो, थाँक्रो, खरेटो जस्ता वडार कुँडारमा प्रयोग हुने वा गुन्द्री, सुकुलजस्ता छिटै सड्ने वा माटामा मिल्ने खालको सामान्यतः एक वर्षमा हुर्कने वढ्ने र सड्ने कच्चा पदार्थबाट बनेको फोहोरमैला पनि यसै खालको फोहोरमैलामा पर्दछ ।

७. रछाने फोहोरमैलाः

घरको भान्साको निकास, नुहाइधुवाइको निकास र बग्ने खालको मैला, घुर्यानको निकास, ढलपानीवाला फोहोरमैला नै रछाने फोहोरमैला हुन् । सरसफाइका क्रममा सावुन, स्याम्पो वा अन्य रासायनिक पदार्थको मिसिएमा यस्तो फोहोरमैला मलखादयोग्य हुँदैनन् । सामान्य भाँडावर्तन वा सागसब्जी सफा गरेको वा पखालेको पानी पात्र रहने फोहोरमैला पनि सडने मलखाद योग्य हुन्छ ।

८. मलखाद अयोग्य सडियल फोहोरमैलाः

फर्निचर वा अन्य घरेलु उपयोगमा ल्याइएका बहुवर्षीय जीवन भएका काठ, बाँस, चोया, बेतबाट उत्पादन गरिएका थोत्रिएर, भत्केर, मक्किएका उपयोग गर्न नसकिने अवस्था भएका वस्तुबाट उत्पन्न भएका फोहोरमैला मलखाद अयोग्य सडेका फोहोरमैला हुन् ।

९. कवाडी फोहोरमैलाः

धातुका भाँडावर्तन फुटेटुटेर वा खिइएर काम नलाग्ने भएका फोहोरमैलालाई कवाडी फोहोरमैल भन्न सकिन्छ । धातुजन्य र पुनरुपयोगको गुन्जाइस रहेका काँटी, तार, फलामका टुक्रा, च्यातिएका जाली पनि यसै कोटीका फोहोरमैलामा पर्दछन् ।

१०. प्लास्टिकजन्य फोहोरमैलाः

प्लास्टिक एक दमै बहुउपयोगी वस्तु हो । आजभोलि प्यास्टिका अनेक प्रकारका सामान प्रयोग हुन्छन् । खानेपानीको पाइप, ट्याङ्कीदेखि लिएर अनेक भाडाँवर्तनका पनि प्लास्टिकका उपलब्ध हुन्छन् र प्रयोग गरिन्छन् । यस अतिरिक्त, निर्माण सामग्री, झोला र बचावटका लागि खोलका रुपमा प्लास्टिकको प्रयोग अत्यधिक हुने गर्दछ ।

प्लास्टिकजन्य पदार्थको फोहोर अनेक तरिकाले निर्माण हुन्छ । निर्माण सामग्रीको रुपमा प्रयोग गरिँदा बनिने टुक्राटाक्री वा प्रयोग भएपछि थोत्रिएर, बिग्रेर, च्यातिएर, भत्किएर पनि प्लास्टिक फोहोरमैला हुने गर्दछ ।

११. सिसाजन्य फोहोरमैलाः

काँच पनि बहुउपयोगी वस्तु भएकाले यसका अनेक थरी सामान हुन्छन् । काँचको प्रकृति आफूभन्दा कडा वस्तुसँगको ठक्करबाट फुट्नेटुट्ने मात्र होइन वातावरणको तापमानमा हुने चर्को उतारचढावले पनि यो टुट्नेफुट्ने हुन्छ । काँचका सामान फुटेपछि अर्को रुपले प्रयोग हुने सम्भावना ज्यादै कम रहन्छ ।

सिसाजस्तै सेरामिक, टायल आदिका सामानको टुटफुटले पनि उस्तै खालको फोहोर उत्पन्न हुन्छ । यसैले तिनलाई सिसाजन्य फोहोरको रुपमा हेर्न सकिन्छ ।

१२. फोहोरमैलाको प्रशोधन र विसर्जनः

कुनै पनि कुरा वा वस्तुलाई कच्चा पदार्थ मानेर त्यसलाई तत्काल उपयोग गर्न सकिने वा उपभोग गर्न सकिने बनाउनु वा अर्को कुनै काम वा उत्पादनका लागि तयार पार्ने प्रशोधन भनिन्छ । प्रशोधनको सामान्य अर्थ सफा पार्नु भन्ने हो । फोहोरको उदय प्रशोधनका क्रममा हुन्छ । जस्तो चकलेट, विस्कुट, चाउचाउ, आदिलाई परिवर्तन गर्न सजिलोको लागि प्याकेट गरिएको हुन्छ । उपभोग गर्नुपर्दा त्यसका खोल निकालिन्छ ।

खोल निकाल्नु पनि खानेकुरा प्रशोधन गराइभित्रै पर्ने कुरा हो । तरकारी केलाउँदा हामी खानयोग्य भागलार्ई लिएर विग्रेको, सुकेको बोक्रा, जरा कडा भाग छुट्याउँछौ यो पनि प्रशोधन गराइनै हो । यसरी प्रशोधन गर्दा उपयोग वा उपभोग गरिने कुरालाई मात्र हामी ग्रहण गर्दछौ र बाँकीलाई फोहोर भनेर फाल्ने काममा उद्दत भई हाल्छौ । तर फोहोर भनिएको चिज वा वस्तुमा अर्को उपयोगिता रहेको हुन सक्छ ।

यस्तो उपयोगिता पहिचान गरेर सो उपयोगिता लिने गरी फोहोरलाई थप केलाउने कामलाई फोहोर प्रशोधन भनिन्छ । यसै गरी कुनै पनि कुरा वा वस्तुलाई टुङ्याउने, फाल्ने, त्याग्ने, वा छाड्ने कार्यलाई विसर्जन भनिन्छ । विसर्जन भनेको उपयोगिताबाट हटाउनु हो । त्यसलाई अनुपयोगी वा फोहोर मानेर अस्तित्वहीन बनाउने प्रयास पनि हो ।

१३. स्रोतन्यूनीकरणः

स्रोतबाटनै रोकथाम गर्ने उपाय हो । प्लास्टिकका झोलाको साटो टिकाउ हुने जुट वा कपडाको झोला प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ । उदाहरणका लागि तरकारी वा सागसब्जीको अनुपभोग्य फेद वा तीनलाई बाँध्ने परालको मात्रा घटाउने, एक पटक प्रयोग गरेर फालिने वस्तुको प्रयोग कम गर्नु पनि अर्को उपाय हुन सक्छ ।

१४. पुनरुपयोगः

प्रयोगमा आउने अनेक सरसामान जुन रुपमा तिनले उपयोगीता दिन भनेर ल्याइएको हुन्छ त्यही रुपमा उपयोगीता नदिदैमा तीनलाई उपयोगीता सकिएको फाल्नु पर्ने वस्तु वा फोहोरका रुपमा परिभाषित गर्न हुँदैन ।

जस्तो यात्रा गर्दा तिर्खा मेटाउन पिउने पानीको बोतल किनियो र पानी खाइयो भने त्यो बोतलको उपयोगीता सकियो भनेर फाल्ने गरिन्छ । उपयोगीता लिने प्रयोजन सकिने वित्तिकैै त्यसलाई त्याग्ने वा फाल्ने काम फोहोरमैला विसर्जनको सही विधि होइन ।

१५. नवउपयोगीत सिर्जनाः

फोहोरमैला नै कम उत्पन्न हुने अवस्था सिर्जना गर्नु फोहोर विसर्जनको आर्को उपयोगी र प्रभावकारी तरिका हुन सक्छ । एउटा उपयोगीता वा प्रयोजनका लागि प्रयोग, उपभोग वा उपभोग गरिएको चिजविजको विकृत रुप वा बाँकी रहेको रहलपहललाई अर्को उपयोगी वा उपभोग्य वस्तु बनाएर प्रयोग गर्न सक्निछ ।

यस्तो नवउपयोगिता सिर्जना गर्ने कुरामा गुन्दु्रक नेपालको बेजोड परम्परागत खाद्य पदार्थ हो । कुनै पनि वस्तुको पूरा उपयोगीता नलिई निरुपयोगी मानेर त्यतिकै फाल्नुभन्दा त्यसको अर्को उपयोगीता विचार गरेर फोहोरमैला कम गर्न सकिन्छ ।

१६. रुपान्तरणः

फोहोरमैलाको रुपलाई प्रक्रिया गरेर बदल्दै नयाँ उपयोगीता सिर्जना गर्ने तरिका फोहोरमैला विसर्जनको सबैभन्दा लाभदायक र प्रभावकारी तरिका हो । यस तरिका अनुसार जैविक वा वानस्पतिक फोहोरमैलाबाट मल बनाउने, अजैविक फोहोरमैलालाई पुनःचक्र गरी नयाँ उपयोगीता सिर्जना गर्ने कुरा पर्दछन् । यस तरिकाअनुसार फोहोरमैलाको विसर्जनमा फोहोरमैलाले नै नयाँ वस्तुको तयारीका लागि कच्चा पदार्थको रुपमा काम गर्दछ ।

१७. गाड्ने पुर्नेः

जैविक फोहोरमैलाका विभिन्न रुपलाई गाड्ने वा पुर्ने गरेर पनि विसर्जन गर्न सकिन्छ । ठाउँको अभाव भएमा मल बनाउने मल बनाउने खालका जैविक फोहोरलाई पनि मल नवनाइकनै जमिनमा गाड्न सकिन्छ । यो विधि भनेको गहिरो खाल्डो बनाएर फोहोरलाई खाल्डोमा पुर्ने वा विसर्जन गर्ने विधि हो । यस्तै मल बनाउन नसकिने मरेका जीववस्तुको सिनो वा हाडखोर, रौँ, भत्किएच्यातिएका छालाका वस्तु, मक्किएकाा वा धुलिया धमिरा लागेका काठपाटलाई समेत गाडेर वा पुरेर विसर्जन गर्न सकिन्छ ।

१८. जलाउनेः

जैविक फोहोर सबै मल बनाउने वा गाडेर वा पुरेर जमिनमा सडाउन सकिन्न । त्यस्ता धेरै वस्तुलाई जलाएर पनि विसर्जन गर्न सकिन्छ । गाड्नपुर्न हुने तर तिनीहरु जमिनमा माटोसँग हतपत नमिल्ने नगल्ने भएमा तिनलाई जलाउनु उपयुक्त हुन्छ ।

जस्तो सालको काठको कुनै टुक्रालाई गाडेर सडाउन सकिन्न त्यसलाई इन्धनको रुपमा बालेर प्रयोग गर्ने वा सडाउनकै लागि भए पनि जलाएर खरानी बनाउनुपर्ने हुन्छ । जलाउने विधि प्रयोग गरेर फोहोर विसर्जन गर्दा पनि अजैविक र विषादि वा रासायनिक पदार्थ धेरै रहेको फोहोरमैलालाई बाहेक नै गर्नुपर्छ ।

१९. भूभण्डारणः (ल्यान्डफिलिङ):

विविध खालका फोहोरलाई निर्जन र एकान्त ठाँउमा गाँउवस्तीबाट टाढा लगेर जम्मा पार्ने विधिलाई ल्यान्डफिल अर्थात भूभण्डारण भनिन्छ । यो काम व्यक्तिगत तरिकाले नभइकन संस्थागत तरिकाबाट सम्पन्न गरिन्छ । फोहोर संकलन गर्ने काम स्थानीय सरकारको रहेको छ । ल्यान्डफिलका लागि फोहोर संकलन र ढुवानीको कामचाहिँ, उपभोक्ता समिति, निजी कम्पनी र सामुदायिक संस्थाहरुले पनि गर्दै आएका छन् ।

२०. फोहोरमैला तह लगाउने केही उपयोगी तरिकाः

फोहोरमैला पार्नु, जथाभावी फाल्नु र त्यसलाई बेवास्ता गर्नुले गाँउठाँउ टोल सहर वस्ती, सेरोफेरो दुर्गन्धपूर्ण र घीनलाग्दो देखिने मात्र हैन त्यसले जल, जमिन, जंगल र वायुमण्डलाई प्रदूषित पार्दछ । प्रदूषणको असर मानिस र अन्य जीवजन्तुमा त पर्छ नै त्यो भन्दा पर भावी पिडिले समेत त्यसको पिडा बेहोर्नुपर्ने दिन आउँछ ।

२१. स्रोतमै फोहोरको पृथकीकरणः

घर, कार्यालय, यात्रा, उद्योग पेसाव्यवसाय आदि विभिन्न क्षेत्रका दैनिक कामकाजमा उपभोग, उपयोग, प्रयोगका अनेक सन्दर्भ आउँछन् । त्यहाँ फोहोर निस्कन्छन् निस्कने फोहोरमैलामा ठोस र तरल फोहोर बढी निस्कन्छन् । ठोस र तरल फोहोरलाई भिन्दाभिन्दै राख्न सकियो भने मात्रै दुर्गन्ध पनि कम हुन्छ ।

यस्तै ठोसमा पनि जैविक र अजैविक दुई खालका फोहोर सामान्यत निस्कन्छन् । यसरी फोहोर निस्कँदा त्यसको स्रोतमै ठोस र तरल अनि जैविक र अजैविकलाई भिन्न भिन्न भाँडा छुट्याएर सङ्कलन गर्नुपर्छ । जैविक फोहोरमा पनि तत्काल सड्ने गल्ने खालका र सड्नेगल्न समय लाग्ने खालकालाई भिन्दाभिन्दै राख्नु उपयुक्त हुन्छ । अजैविक फोहोरलाई पनि तिनको प्रकृति र अवस्था अनुसार फरकफरक गरेर राख्नु उचित हो ।

यसो गरिएमा फोहोर तह लगाउन सजिलो हुन्छ । यसरी पृथकपृथक गरेर राख्नाले तत्काल सड्नेगल्ने प्रकृतिको फोहोरलाई कम्पोष्ट मल बनाएर गमला, करेसावारी वा खेतीवारीमा प्रयोग गर्न सकिन्छ । सड्नगल्न समयलाग्ने हड्डी, रौं छाला, आदिलाई पुरिदिन सकिन्छ ।

२२. बैकल्पिक रुपले प्रयोग गर्नेः

उत्पन्न भएको जैविक फोहोरलाई तिनको प्रकृति विचार गरी गोवरग्याँसको कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, मासुखाने परिवारले बोसो छाला, आन्द्राभूँडी फाल्नुपर्दा अन्त नफाली गोवरग्याँसमा मिसाइदिए हुन्छ । घरेलु जैविक मल बनाउनेः घरबाट उत्पन्न हुने सागसब्जी, फूलफलका बोक्रा लगायतका जैविक फोहोरमैलालाई मल बनाउन सकिन्छ ।

२३. सरसफाइ मार्फत सङ्कलन गर्नेः

आफू बस्ने ठाँउमा घरआँगन, करेसावारी, बाटो सडकवरपर अरु मानिसले फोहोर छाडिदिन सक्छन् । खास गरी फूलफलका बोक्रा, पानीका बोतल, चकलेट, विस्कुटका खोल, प्लास्टिका थैला, दूध वा तेलका थैला, स्याम्पोका पकेट प्रयोगका सानासाना थैला मानिसहरुले प्रयोग गरिसकेपछि जत्रतत्र फाल्ने गर्दछन् ।

यसरी छरिएको फोहोरलाई पनि कम्तीमा जैविक र अजैविकलाई छुट्याएर अलगअलग भाँडोमा सङ्कलित गरी उचित तरिकाले फोहोर तह लगाउने गर्नुपर्छ ।

२४. कवाडी बेचविखन गर्नेः

विग्रेभत्केका घरायसी भाँडाकुँडा, निर्माण सामग्री लगायतका थुप्रै वस्तु कवाडी रुपमा विक्री हुन्छ । यस्तो सामानलाई बिक्री गरेर तह लगाउन सकिन्छ ।

२५. फोहोर प्रशोधनका लागि उपलब्ध गराउनेः

अहिले विभिन्न संस्थाले फोहोरको प्रशोधन सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरेको छन् । पुनः चक्रीय फोहोरलाई बटुलेर त्यसलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने व्यावसायिक काम भइरहेको छ । यस्तै सड्नेगल्ने फोहोरमैलाबाट कम्पोष्ट वा घरेलु मल बनाउने पनि विभिन्न व्यापारिक तथा सामुदायिक पहल सुरु भएका छन् । अलगअलग रुपमा गरिएको यस्तो फोहोरमैलाको सङ्कलन यस्ता संस्थागत प्रयासलाई उपलब्ध गराएर पनि फोहोर तह लगाउने कुरामा विशेष काम गर्न सकिन्छ ।

निष्कर्षः

विगत लामो समय सम्म गोकर्ण स्यानिटेशन ल्याण्डफिल साइटको Close off पछि काठमाडौ उपत्यकाको फोहोरकोे अन्तिम विसर्जन साविक नुवाकोट जिल्ला ओखरपौवा गा बि स –४ हाल कंकनी गा.पा –२ सिसडोलको सार्बजनिक १४५ रोपनी र अन्य २८७ं गरी जम्मा ४३२ रोपनी जग्गामा फोहोरमैला व्यवस्थापन गरिदै आएको छ ।

सिसडोल ल्याण्डफिल साइट Close off  पश्चात दीर्घकालिन समस्या समाधानको लागि बन्चरे डाँडामा १८९२ रोपनीमा फोहोर विसर्जन गर्नु पर्ने पूर्वाधारहरुको काम अगाडी बढी रहदाँ सिसडोलको भ्याली १ मा २ बर्ष, भ्याली २ मा २ बर्ष, आलेटारमा २० महिना सम्म फोहोर विसर्जन गर्ने कामको सुरुवात मितिः २०६२ जेठ २२ गते देखि हाल सम्म सिसडोल ल्याण्डफिल साइटमा नै अन्तिम फोहोर विसर्जन गरिदै आएकोमा बन्चरे डाँडा जानु पूर्व सिसडोल ल्याण्डफिल साइटको सम्पूर्ण समस्या समाधान गर्नुछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार