सिसडोलबासीको समस्या समाधान गर्न कार्यदलले बुझाएको रिपोर्टमा के छ ?

काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिदै आएको ककनी गाउँपालिका वडा नं. २ सिसडोलमा बेला बेलामा अनेकन समस्या निस्कन्छन् । स्थानीय बासिन्दाले क्षणभरमै अनेक थरी माग तेस्र्याउने र फोहोर व्यवस्थापनमा अवरोध पुर्‍याउने काम कुनै नौलो होइन ।

अवरोध नपुर्‍याओस् पनि किन ? शुरुमा २०६२ साल जेठमा बन्चरे डाँडामा फोहोरमैलाको अन्तिम विर्सजन गर्ने स्यानिटरी ल्याण्डफिल साईट नबुन्जेलसम्म २ बर्षका लागि भनेर फोहोर बिसर्जन गर्न थालेको सिसडोलमा अहिलेसम्म पनि बिसर्जन गर्दै आएको छ ।

२ बर्ष भनेर फोहोर फ्याँकन दिएको ठाउँमा १४ बर्षसम्म फोहोर बिसर्जन गर्दा सिसडोलमा कति फोहोरको डंगुर थुप्रिए होलान् ? अनुमान गर्न गाह्रो छ ।

फोहोरमैलाबाट प्रभावित सिसडोलका बासिन्दाको समस्या समाधानका लागि गठित कार्यदलले भने विभिन्न १४ वटा सुझाव महानगरपालिकामा पेश गरेको छ ।

२०७६ असार १५ गते काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले फोहोरमैलाबाट अति प्रभावित स्थानीय वासिन्दाहरुको मागलाई दीर्घकालसम्म समस्या नआउने गरी समाधान गर्न काठमाडौ महानगरपालिकाको वडा नंं १२ का वडा अध्यक्ष विकास डंगोलको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

 

फोहोर प्रभावित बासिन्दाको समस्या समाधान गर्न कार्यदलले बुझाएको सुझाव

 

१. शुरुमा २ बर्षको लागिमात्र सिसडोलमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि हाल सम्म सिसडोलमा नै अन्तिमफोहोर विसर्जन गरिदै आएकोले फोहोरले पार्ने वातावरणीय प्रभावको सम्बन्धमा ल्ब्क्त् लाई अनुरोध गरी प्रभावित क्षेत्र निर्धारण गर्नुपर्ने ।

२. क्षमताभन्दा बढी फोहोर आजको दिन सम्म पनि सिसडोलमा नै गरिदै आएकोले हिजोका दिनमा तोकिएको अति प्रभावित र प्रभावित क्षेत्रको पुनःअध्ययन गरी क्षेत्र निर्धारण हुनुपर्ने ।

३. अतिप्रभावित, प्रभावित र न्युन प्रभावित क्षेत्रको सिमा निर्धारण पछि फोहोरमैला सँग सम्बन्धित विज्ञहरुको टोली गठन गरी प्राप्त प्रतिवेदनको आधारमा अधिग्रहण नगरी नहुने जग्गाहरुको लगत तयार गरी अधिग्रहण प्रक्रिया अघि बढाउनु पर्ने ।

४.फोहोरमैलावाट अति प्रभावित स्थानीय वासिन्दाहरुको माग सम्बोधनको लागि ५०० मिटर भित्रको जग्गा अधिग्रहण गर्न सम्बन्धित निकायमा तत्काल पहल हुनुपर्ने ।

५. हाल दिदै आइरहेको मूअब्जा र क्षतिपूर्ति आर्थिक बर्ष ०७६/०७७ देखि लागु हने गरी समय सापेक्ष पुनरावलोकन हुनुपर्ने ।

६. स्वास्थ्य बीमा, पशु, बीमा र बालिबीमा सम्बन्धमा सरोकारवाला निकायसँग समन्वय गरी उचित समयमा नै सम्बोध नहुने गरी काठमाडौ महानगरपालिकाले अग्रसरता लिई कार्य अगाडि बढाउनुपर्ने ।

७. सडकमा परेका जग्गाधनीहरुको लगत कट्टा सम्बन्धमा धुनीवेसी न.पा. र ककनी गाउँपालिकाका अन्तर्गत रहेका सम्बन्धित वडा कार्यालयहरुले आवश्यक कागजात सम्बन्धित जग्गा धनीसँग माग गरी लगत कट्टाको लागि धुनीवेसी न.पा. र ककनी गाउँपालिका मार्फत उचित मुअब्जा सम्बन्धित जग्गा धनीलाई दिने गरी सम्बन्धित निकायमा पहल गर्ने ।

८. लिचेडलाई सिधै कोल्फु खोलामा जान नदिन ट्रिटमेन्ट प्लान्ट बनाई आ.व.०७६/०७७ मा उचित व्यवस्थापन गर्नुपर्ने ।

९.फोहोरमैला प्रभावित क्षेत्रका युवाहरुलाई का.म.पा. लगायत बाँकी १७ वटा स्थानीय तहमा आवश्यक जनशक्तिको विज्ञापन भएको बेलामा प्राथमिकता दिनुपर्ने ।

१०. दीर्घकालिन फोहोरमैलाको उचित व्यवस्थापन बन्चरे डाँडामा भएपछि हालको सिसडोल ल्याण्डफिल साइट पूर्ण रुपमा क्यापिङ्ग गरी फोहोरले ओगटेको क्षेत्रहरु व्यवस्थित रुपमा काँडे तार लगाई हरियाली कायम गर्न वृक्षारोपण गर्नु पर्ने ।

११. हाल ३०० मि. भित्र दिदै आइरहेको अन्न वालीको क्षतिपूर्तिलाई दायरा फराकिलो पारी ५०० मि. सम्मको क्षेत्र तोक्नु पर्ने ।

१२. हाल ९०० मि. भित्र दिईदै आइरहेको घररटहराहरुको क्षतिपूर्तिलाई दायरा फराकिलो पारी १५०० मि. सम्मको क्षेत्र तोक्नु पर्ने ।

१३. दीर्घकालीन रुपमा फोहरमैलाको अन्तिम विर्सजन गर्ने कार्यको लागि बन्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणाधिन अवस्थामा रहेकाले भविष्यमा आईपर्ने समस्याहरुलाई समयमा नै उचित सबोधन गर्न का.म.पा., धुनिबेसाी न.पा., ककंनी गा.पा. र प्रभावित स्थानिय वासिन्दाहरु समेतको प्रतिनिधित्व हुने गरी एक उच्च स्तरिय समिति गठन गरी कार्य अधि बढाउनु पर्ने ।

१४. अति प्रभावित धुनीवेसी न.पा. १, ककनी गा.पा. १ र २ मा भौतिक पूर्वाधार निर्माण अन्तर्गत कम्तीमा १ कि.मी. सडक पिच हुनुपर्ने ।

 

यस्ता थिए, स्थानीयको माग

१.फोहोरमैला सँग सम्बन्धित विज्ञहरुको समिति गठन गरी प्राप्त राय, सुझाव र प्रतिवेदनको आधारमा अतिप्रभावित र प्रभावित जग्गाधनीहरुको जग्गा अधिग्रहण गर्नुपर्ने ।

२. प्रभावित क्षेत्र भित्र रहेका घर, टहरा र खेती योग्य जमिनको समय सापेक्ष उचित मूअब्जा पाउनु पर्ने ।

३. हाल दिदै आएको मूअब्जा पुनरावलोकन गर्नुपर्ने ।

४. फोहोरमैलाको कारणले प्रभावित क्षेत्रका स्थानीयबसिन्दाहरु विभिन्न रोगहरुसँग पीडित भएकाले आवश्यक स्वास्थ्य सुविधा स्थानीय तहमा नै व्यवस्था हुनुपर्ने ।

५. स्वास्थ्य बीमा, पशु बीमा र कृषि बीमाको तत्काल व्यवस्था हुनुपर्ने ।

६. फोहोरमैलाबाट निस्कने लिचेडको उचित व्वस्थापन हुनुपर्ने ।

७. ल्याण्डफिल साइटमा हरियाली प्रवद्र्धन गर्ने प्रयोजनको लागि वृक्षारोपण गर्नु पर्ने ।

८. तिनपिप्ले देखि सिसडोल—बन्चरे डाडा ल्याण्डफिल साइट जाने बाटोमा परेका जग्गाहरुको लगत कट्टा हुनुपर्ने ।

९. प्रभावित क्षेत्रका युवाहरुलाई रोजगार दिनु पर्ने ।

१०. प्रभावित वडामा भौतिक पूर्वाधार विकास निर्माण अन्तर्गत सडक कालोपत्रे गर्नुपर्ने ।

 

काठमाडौ उपत्यकाका नगरपालिकाहरुबाट दैनिक करिब १ हजार ४५ मेट्रिक टन फोहोर उत्सर्जन हुँदै आएको छ । शुरुका दिनमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र किर्तिपुर नगरपालिकाको मात्रै फोहोरको व्यवस्थापन सिसडोलमा गर्ने भनिए पनि हाल आसपासका १७ वटा नगरपालिकाको फोहोरमैला समेत सिसडोलमा बिसर्जन गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार