‘रिचार्ज काठमाडौं’अभियानको सुरुवात वातावरण विभाग प्रमुखकै घरबाट

 

काठमाडौ : काठमाडौ महानगरपालिकाले अघि सारेको ‘रिचार्ज काठमाडौ’ अभियानको सुरुवात वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको घरबाटै सुरुवात गरिएको छ । विभाग प्रमुख श्रेष्ठको घरमा आकाशेपानी संकलन र भूमिगत पानीको पुनःभरण गर्ने प्रविधि जडान गरिएको हो ।

‘रिचार्ज काठमाडौं’ अभियानको सुरूवातमा महानगरका सबै कर्मचारीको घरमा अनिवार्य रिचार्ज इनार बनाउन लगाउने महानगरको योजना छ । सोही योजना बमोजिम सबैभन्दा पहिले उहाँले गुठी संस्थाको प्राविधिक सहयोगमा शनिबार आकाशेपानी संकलन र भूमिगत पानीको पुनःभरण समेत गर्न मिल्ने प्रविधि जडान गर्नुभएको हो ।


आकाशेपानी संकलन प्रविधि जडान गरेपछि विभागका प्रमुख श्रेष्ठले खुसी हुँदै भन्नुभयो ‘यो त्यत्ति ठूलो कुरा त होइन, तर रिचार्ज काठमाडौ योजना अन्तर्गत अन्य मानिसलाई आकाशेपानी संकलन र भूमिगत पानी रिचार्ज गर्ने व्यवस्था राख्नुहोस् भन्नु भन्दा आफ्नै घरबाट किन सुरु नगर्ने भन्ने हिसाबले मैले आफ्नै घरमा यो प्रविधि जडान गरेको हुँ ।’
उहाँले सबैले यो प्रणाली जडान गरेमा पानीको अभाव टर्ने र बर्खामा सडक ढल जम्ने समस्या पनि कम गर्न सकिने बताउनुभयो ।
उहाँले अब ट्याङ्करको पानी किन्न बार्षिक खर्च हुँदै आएको रकम समेत जोगिने बताउनुभयो । ‘मैले करिब ६० हजार रुपैयाँ रकम ट्याङ्करको पानी किन्नमै खर्च गर्दै आएको थिएँ, अब उक्त रकम त जोगिने भए ।’ उहाँले भन्नुभयो ।

पानीका मूल स्रोतदेखि इनार, धारा, ट्युबवेल सबै सुकिसके । हामीले अब जमिनमुनिको पानीको रिचार्जमा ध्यान दिनैपर्छ । यो काम त्यत्ति गाह्रो पनि छैन । आकाशेपानी हामी पाइपबाट सडकतिर हुत्याइरहेका छौं । अब त्यही पानी इनारमा हाल्ने हो । यसमा छत वा कौसीबाट बग्ने पानी पाइपबाट सिधै इनारमा खसाल्न सकिन्छ ।’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार