वाश योजनाको अपरिहार्यता, स्वामित्व र दिगोपना : एक अवसर र प्रयोग

 पदम लम्साल

सन २०११ मा जारी भएको सरसफाइ गुरुयोजनाको जगमा देशैभरि सञ्चालित खुला दिसामुक्त क्षेत्र (गाउँ, नगर, जिल्ला, प्रदेश) घोषणा अभियानले ढिलै भए पनि विस्तारै लक्ष्य उन्मुख परिणामहरु दिन थालेको छ । पछिल्ला तथ्यांक अनुसार देशभर ६६ जिल्ला खुला दिसामुक्त क्षेत्रका रुपमा पहिचान बनाउन सफल भएका छन् ।

सरसफाइ गुरुयोजना जारी हुनु भन्दा अगाडि फुटकररुपमा सञ्चालित यस कार्यक्रमले सन् २०११ पछि एक अभियानकै रुपमा स्थान बनाए सँगै सन् २०१५ को विनाशकारी भुकम्पका बाबजुत पनि तिब्रतर रुपमा अभियान अगाडि बढेकै हो ।

 

पूर्ण सरसफाइका कार्यक्रमलाई एकतावद्ध गर्न र सरकारी तथा गैरसरकारी सबै निकायहरुबाट हुने काममा एकरुपता ल्याउन कम्तिमा पनि प्रत्येक पालिका तहमा एक एकिकृत WASH Plan को आवश्यकता पर्दछ ।

यस कार्यलाई सहजिकरण गर्न एक सशक्त निर्देशकको काम सरसफाइ गुरुयोजनाले गरेको थियो । सन् २०१७ मा सत प्रतिशत जनतामा आधारभुत स्तरको खानेपानी र सरसफाइको पहुँच पु¥याउने राष्ट्रिय लक्ष्यका बाबजुत अझै थप केही समयको मेहनतले मात्र तोकिएको समय सीमा भन्दा केही ढिलो भए पनि लक्ष्यमा पुग्ने देखिन्छ ।

केही जिल्लाहरुमा अझै खुला दिसामुक्त क्षेत्र घोषणाकै अभियानहरु सञ्चालित छन् भने यस अघि नै खुलादिसा मुक्त क्षेत्र घोषणा भई सकेका तर आधारभुत स्तरको खानेपानी र सरसफाइको पहुँचमा अझै काम गर्न बाँकी रहेका जिल्लाहरुमा पूर्ण सरसफाइ निर्देशित क्रियाकलापहरु पनि सञ्चालन गरिन थालेका छन्, जुन अति आवश्यक छ ।

पूर्ण सरसफाइ क्रियाकालापहरु सञ्चालन गर्न खुल्ला दिसामुक्त अभियानलाई निर्देशित गर्ने सरसफाइ गुरुयोजना जस्तो स्पष्ट दस्तावेज त अहिले यो क्षेत्रमा उपलब्ध छैन तथापि पूर्ण सरसफाइ मार्गदर्शन २०७३ र खानेपानी तथा सरसफाइको क्षेत्रगत विकास योजना– २०१६ (ड्राफ्ट) लाई आत्मासाथ गरेरै भए पनि पूर्ण सरसफाइका क्रियाकालापहरु सञ्चालन गर्ने कार्यलाई सरकारी तथा गैरसरकारी संस्थाहरुले सहजिकरण गर्दै आइरहेका छन् ।

पूर्ण सरसफाइ मार्गदर्शन अनुसार पूर्ण सरसफाइका क्रियाकलाप सफा र स्वच्छ क्षेत्र र पूर्ण सरसफाइ उन्मुख क्षेत्र गरी दुइ चरणमा बाँडेर सञ्चालित छन् । पहिलो चरणमा सफा र स्वच्छ क्षेत्र घोषणाका लागी पनि विभिन्न २७ वटा सूचकमा निश्चित अवस्था हासिल गर्नु पर्नेछ, जसका लागि २ नं. बुँदामा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी तथ्यांक संकलन तथा विश्लेषण गरी सम्बन्धित क्षेत्रका समन्वय समितिहरुले सरोकारवालाहरुको सहभागिता र सक्रियतामा गाउँपालिका वा नगरपालिका र जिल्ला खानेपानी, सरसफाइ र स्वच्छता योजना (WASH Plan) तर्जुमा गरिने छ भन्ने बुँदा उल्लेख गरिएको छ जुन अति महत्वपूर्ण र अन्य सबै सूचकहरुलाई प्रभावित पार्ने विषय हो भन्न सकिन्छ ।

स्वभाविक रुपमा भौतिक विकासमा नै सबथोक देख्ने हाम्रो विकासे चेतनाका अगाडि उनीहरुको पनि के नै लाग्छ र ? अतः WASH Plan निर्माणको सुरुवात विकासलाई बुझ्ने हाम्रो चेतनामा नै झड्का दिएर गर्नुपर्छ ।

 

त्यसकारण पनि, जसरी सरसफाइ गुरुयोजनाले सबैलाई निर्देशित गर्दै एक ठाउँमा ल्याउन भूमिका खेल्यो, त्यसरी नै पूर्ण सरसफाइका कार्यक्रमलाई एकतावद्ध गर्न र सरकारी तथा गैरसरकारी सबै निकायहरुबाट हुने काममा एकरुपता ल्याउन कम्तिमा पनि प्रत्येक पालिका तहमा एक एकिकृत WASH Plan को आवश्यकता पर्दछ ।

अब यहाँ उठान गर्न खोजिएको विषय के हो भने, पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले अनिवार्य गरेको र क्षेत्रगत विकासका लागि सम्बन्धित क्षेत्रका समन्वय समितिहरुले सरोकारवालाहरुको सहभागिता र सक्रियतामा अपनत्व ग्रहण गर्दै दिर्घकालीन, मध्यकालीन तथा अल्पकालीन योजना तथा बजेटको खाका सहित सम्बन्धित स्थानिय तहको स्वामित्वमा रहनु पर्ने WASH Plan आज यस क्षेत्रमा सक्रिय केही संस्थाहरु र यस क्षेत्रमा क्रियाशील भनिएका विज्ञ व्यक्तिहरुको एकल चासो र चिन्ताको विषय बनेको छ भने नितान्त प्राविधिक पक्ष जस्तो मात्र भएको छ ।

कुनै पनि तहको WASH Plan आफैमा केवल एक प्राविधिक पक्ष मात्र होइन, तर केही प्राविधिक जस्ता लाग्ने हिसाब–किताब यसमा हुन आवश्यक छ । हामीले माथि नै चर्चा गरिसकेका छौं कि यसमा सम्बन्धित सबै सरोकारवालाहरुको सहभागिता र सक्रियतामा, नेतृत्व सहितको अपनत्व आवश्यक छ ।

अहिलेको प्रशासनिक व्यवस्थामा हेर्ने हो भने स्थानीय सरकारहरुले आफ्नो प्रणालीबाट यसलाई ग्रहण गर्ने, अध्यावधिक गर्ने र प्राथमिकताका साथ कार्यान्वयन गर्ने पाटो महत्वपूर्ण हो । यो एक अवसर हो ।

बाहिरी संस्था र विज्ञ व्यक्तिहरुले त यसलाई व्यवस्थित गर्ने र खाकामा राखेर सम्पादनको काम मात्र गर्ने हो । तर, यहाँ ठीक उल्टो अभ्यास भइरहेको छ भन्दा अत्युक्ति नहोला । अब त्यसो भए सरोकारवालाहरुको सहभागिता र सक्रियतामा नेतृत्व सहितको अपनत्व ग्रहण गर्ने WASH Plan बनाउँदा कस्तो प्रक्रिया अवलम्बन गर्ने त ? जसले गर्दा WASH Plan को स्वामित्व स्थानिय तहमा रहोस् भने यसको दिगोपनामा कुनै प्रश्न नउठोस् ।

हामी सबैले बुझ्दै र भोग्दै आएकै कुरा हो, जबसम्म लाभग्राहीले कुनै पनि विषय वा समस्यालाई आफ्नो आवश्यकताबाट बुझ्दैन र त्यसै अनुसार ग्रहण गर्दैनन् तब सम्म बाहिरी संस्था वा निकायले जोड बल गरेको, चाहेको भरमा दिगो विकास र परिवर्तन विल्कुल सम्भव छैन ।

उदाहरणका लागी अहिले धेरै संस्थाहरुले प्रस्रय दिएको र स्थानीय तहले पनि सजिलो मानी प्रयोग गरेको परिपाटीलाई नै हेरौं न, कुनै एक जना बुज्रुक खोजेर ल्यायो, कुनै पनि क्षेत्रको योजना बनाउने जिम्मा दियो, उसले आफ्नो विवेकले भ्याए सम्मका विषयलाई समेटेर योजनाको खाका तय गर्छ, प्रस्तुत गर्छ, बिना कुनै छलफल र पृष्ठपोषण तोकिएको निकायबाट पारित हुन्छ ।

के त्यसरी कतैबाट टिपेर ल्याएको वा भनौं बाहिरी व्यक्तिले आफ्नो स्वविवेकले बनाएको दस्तावेजले काम गर्छ ? के त्यसले स्थानिय आवश्यकता र भविष्यको सोचलाई परिपूर्ति गर्न सक्छ ? त्यो दस्तावेज कस्को बन्छ ? कस्तो बन्छ ? कत्रो बन्छ ? त्यसको जीवन हुन्छ कि मृत्य, त्यसको सुनिश्चितता कसले गर्छ ?

अहिले वेल्ट हङ्गर हिल्फे र यसका साझेदार संस्थाहरुले WASH Plan निर्माणको कार्यलाई सहजीकरण गर्दै आइरहेको बिधि स्थानिय तहले अपनत्व ग्रहण गर्ने, नेतृत्व गर्ने र आफ्नो संस्थागत प्रणालीमा नै समाहित गरी सुरक्षित खानेपानी र सरसफाइको स्पष्ट योजनाको खाका तयार गर्ने कार्य हुँदै आएको छ ।

त्यसरी बनेका मृतप्रायः दस्तावेज समयको बर्बादी, स्रोतको नोक्सान र आफैलाई ब्यङ्ग्य होइन र ? अझ आफ्नो पक्षमा जनताको अभिमत पार्न भौतिक विकासका ठूला–ठूला सपना बाँडेर नेतृत्वमा आएका वर्गले त सफाइका कुरा, सुरक्षित पिउने पानीका कुरा, महिनावारी स्वच्छताका कुरा, धुँवा, धुलो, प्रदूषण मुक्त गाउँठाउँ बनाउने कुरालाई प्राथमिकतामै राख्दैनन् ।

स्वभाविक रुपमा भौतिक विकासमा नै सबथोक देख्ने हाम्रो विकासे चेतनाका अगाडि उनीहरुको पनि के नै लाग्छ र ? अतः WASH Plan निर्माणको सुरुवात विकासलाई बुझ्ने हाम्रो चेतनामा नै झड्का दिएर गर्नुपर्छ । कुनै तोकिएको तहको WASH Plan निर्माणको सुरुवात त्यहीबाट गर्नुपर्छ ।

निर्वाचित जनप्रतिनिधि, कर्मचारी वर्ग र लाभग्रहीको नेतृत्वमा सुरक्षित पिउने पानी र सरसफाइको महत्व के छ ? आफ्ना जनतालाई कति समय सीमा भित्र कस्तो प्रकारको सरसफाइ, स्वच्छता र स्वास्थ्यको अवस्थामा पु¥याउने, यस बारेका राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा के कस्तो प्रतिवद्धता गरेको छ ? हाम्रो आफ्नै संविधान र कानूनले यसलाई कसरी परिभाषित गरेको छ ? सुरक्षित पानी र सरसफाइलाई नागरिक अधिकारको रुपमा कसरी स्थापित गरेको छ भन्ने बारेमा आवश्यक र पर्याप्त मात्रमा मष्तिष्क मन्थन र छलफल गर्न आवश्यक छ ।

यसरी मष्तिष्क मन्थन र छलफल पश्चात् आफ्नो पालिका वा जिल्लाको समग्र खानेपानी र सरफाइको लक्ष्य निर्धारण गर्न आवश्यक छ । त्यही लक्ष्यमा टेकेर अन्य चरणका कार्य गर्दै एक निश्चित योजना बनाउने दिशामा अघि बढ्नु नै एक उपयुक्त तरिका हुनेछ ।

तत्पश्चात उक्त लक्ष्य लाई पुरा गर्न हाम्रा विद्यमान संस्थागत व्यवस्थाहरु कस्ता कस्ता छन् ? कतिको उपयोगी र कार्यमूलक छन् ? कत्तिको चलायमान छन्, यस बारेमा समिक्षा गर्दै टोल समुदाय हुँदै वार्ड, नगर, जिल्ला , प्रदेश तह सम्मका संस्थागत संरचनाहरुलाई अध्यावधिक गर्ने, आवद्धता गराउने र निश्चित समयमा बैठक, समिक्षा, मातहतका निकायहरुमा अनुगमन, मूल्यांकन र साझेदारको रुपमा कार्य गर्ने प्रणालीको विकास किन नगर्ने ? के यस कार्यसँग सम्बन्धित सबै प्रक्रियाहरु स्थानिय तहको मातहतमा, उनीहरुको सशक्तिकरण सँगसँगै संस्थागत प्रणालीको विकास भित्र पर्नु पर्ने होइन र ? यसै प्रक्रियालाई अवलम्बन गरी अहिले वेल्ट हङ्गर हिल्फे र यसका साझेदार संस्थाहरुले WASH Plan निर्माणको कार्यलाई सहजीकरण गर्दै आइरहेको बिधि स्थानिय तहले अपनत्व ग्रहण गर्ने, नेतृत्व गर्ने र आफ्नो संस्थागत प्रणालीमा नै समाहित गरी सुरक्षित खानेपानी र सरसफाइको स्पष्ट योजनाको खाका तयार गर्ने कार्य हुँदै आएको छ । यसविधि अन्तर्गत निम्न चरणहरु अवलम्बन गरिने गरिएको छ ।

१. लक्ष्य निर्धारण :

आफ्नो निश्चित स्थान भित्रका जनताहरुमा सुरक्षित खानेपानी र सरसफाइको अवस्था हासिल गर्न एक दिर्घकालीन सोच, मध्य तथा अल्पकालीन योजनाहरु आवश्यक पर्दछ । सम्बन्धित गाउँपालिका, नगरपालिका वा जिल्लाका जनप्रतिनिधि, नेतृत्व, मुख्य सरोकारवाला, विकास साझेदार र कर्मचारी संयन्त्र समेतको सहभागितामा यस प्रकारको लक्ष्य निर्धारण गर्ने ।

 

२. संस्थागत व्यवस्थापन :

राज्यको कानून, मागदर्शन वा क्षेत्रगत गुरुयोजना अनुसारका संस्थागत संरचनाहरुलाई स्थानीय टोल देखि केन्द्र सम्म अध्यावधिक गर्ने, चलायमान बनाउने र मातहतका निकायहरुमा नियमित अनुगमन, सुपरिवेक्षण र मूल्यांकनको व्यवस्था सहित जिम्मेवार र सुदृढ संस्थागत व्यवस्था गर्ने ।

 

३. तथ्यांक संकलन तथा विश्लेषण (लेखाजोखा):

 खानेपानी तथा सरसफाइ सँग सम्बन्धित विद्यमान भौतिक संरचनाहरुको लेखाजोखा

 खानेपानीका स्रोतहरु (नयाँ तथा पुराना), तिनको वर्तमान अवस्था (क्षमता, गुणस्तर), लागत विवरण र भविष्यमा स्तरउन्नति गर्न सकिने अवस्था र लागत तथा विस्तार योजना

 राज्यबाट तोकिएको मापदण्ड अनुसार स्थानीय जनतामा पानीको पहुँच स्थापित गर्न आवश्यक पर्ने नयाँ खानेपानी तथा सरसफाइका आयोजना र लागत योजना

 सेवा प्रदायहरुको विवरण, प्राप्त सेवा तथा सुविधाहर र कार्य क्षमता

 

४. WASH Plan को ड्राफ्ट लेखन, स्थानिय सरोकारवाला निकाय तथा पक्षहरु बीचमा छलफल, पृष्ठपोषण र अन्तिम WASH Plan को प्रस्तुति :

वाश योजना निर्माणका लागि आवश्यक पर्ने विभिन्न तथ्य तथ्यांकहरुको संकलन तथा विश्लेषण गरे पश्चात त्यहाँको वास्तविक चित्रबारे सबैले थाहा पाउने छन् ।

तत्पश्चात निर्धारित लक्ष्य हाँसिल गर्न, हालको विद्यमान अवस्था र पुग्नु पर्ने स्थान बीचको खाडल (ग्याप) को चर्चा गर्दै स्पष्ट नीति, कार्यक्रम, बजेट र साझेदारहरुका बीचको सहकार्यको योजना सहितको ड्राफ्ट तय गर्ने र स्थानिय सरोकारवाला निकाय तथा विकास साझेदार पक्षहरुका बीचमा छलफल, पृष्ठपोषण सहित अन्तिम WASH Plan को सार्वजनिकिकरण गर्ने ।

 

 

५. सरोकारवाला निकायहरुका बीचमा वितरण र कार्यान्वयनमा सहयोग/सहकार्य :

यसरी सबै पक्ष तथा सरोकारवालाहरुको सक्रिय सहभागिता र स्थानीय तहको नेतृत्वमा तयार गरिएको WASH Plan लाई सार्वजनिकिकरण गर्ने, सरोकारवाला सबै निकायहरुमा जानकारी गराउने तथा सबै पक्षबाट यसको कार्यान्वयनमा बजेट तथा कार्यक्रम सहितको सहकार्य र साझेदारी गर्ने ।

६. योजनाको पुनरावलोकन, सिकाइ आदानप्रदान तथा अध्यावधिक :

कुनै एक समय र सन्र्दभमा तय गरिएको कुनै पनि योजनालाई निश्चित समय पश्चात पुनरावलोकन, समिक्षा तथा अध्यावधिक गर्ने कार्य पनि त्यतिकै महत्वपूर्ण छ ।

यस्तो योजनालाई एक गतिशील दस्तावेजको रुपमा स्थापित गर्न र निर्धारित लक्ष्यहरु हासिल भए नभएको थाहा पाउन निश्चित समयको अन्तरालमा पुनरावलोकन तथा अध्यावधिक गर्नु पर्नेछ ।

अन्तमा  खुला दिसामुक्त क्षेत्र घोषणा पछि पूर्ण सरसफाइ उन्मुख कार्यक्रमहरु सञ्चालन गर्न, विशेष गरी नेपाल गुणस्तर मापदण्डले निर्धारण गरे अनुसारको सबै जनतामा सुरक्षित पानीको उपलब्धता सुनिश्चित गर्न, मर्यादित महिनावारीको अवधारणा विकास गर्न, ठोस तथा तरल फोहोरको उचित व्यवस्थापन गर्न, मानव दिसाजन्य लेदोको उचित व्यवस्थापन गरी स्रोतको रुपमा पुनः प्रयोग गर्न फुटकर कार्यक्रम तथा योजनाबाट सम्भव छैन ।

स्थानीय तहको अग्रसरता र आफ्नो संस्थाको एक नियमित प्रणालीकै रुपमा खानेपानी, सरसफाइ र स्वच्छतालाई स्वीकार गर्दै दिगो विकास लक्ष्य हासिल गर्न एक चलायमान, दिगो र सर्बपक्षिय WASH Plan को अपरिहार्यतालाई सबैले स्वीकार गरौं र विविधतामा आधारित एकरुप प्रणालीको विकास नै दिगोपनाको लागि एक सफल प्रयोग हुन सक्छ भन्ने बारेमा मतएक्यैता जनाऔं र त्यसै अनुसार हरेक स्थानीय तहलाई WASH Plan बनाउन सहजिकरण गरौं ।

 लेखक वेल्ट हङ्गर हिल्फे  (Welthungerhilfe) मा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार