पर्सामा दर्जनौं खानेपानीका होभरहेड ट्याङ्की प्रयोगबिहीन

पर्सा : जनता चापाकलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । तिनै जनतालाई आर्सेनिकमुक्त पानी वितरण गर्ने भन्दै बनाईएका दर्जनौं खानेपानीका होभरहेड ट्यांकी भने प्रयोगबिहीन छन् ।

पर्साका पोखरीया, भिषूवा, झौवागुठी, अलौ, बिन्दवासीनी, परशुरामपुर बहुअर्वाभाठामा खानेपानीको टंयाकी निर्माण भईसके पनि सञ्चालनमा छैनन् महुवन र सेंढवाका ट्यांकीको भने काम सम्पन्न हुन बाँकी छ । चालू आर्थिक वर्षमा सुवर्णपुर, सोलखपुर, बढनीहार, मनवा, रंगपुर र सोनवर्षामा खानेपानीको ट्याङ्की बन्दैछ । ठोरीको हनुमाननगर र बिजयबस्तीको ट्यांकी भने सञ्चालनमा आएको छ ।

२५ वर्ष हुँदा समेत सञ्चालनमा आएन

पानी ट्यांकी निर्माण सम्पन्न भएको २५ वर्ष हुँदा समेत सञ्चालनमा छैन । उपभोक्ता समिति र उपभोक्ता दुवैको बेवास्ताले खानेपानीको ट्याङ्की सञ्चालनमा आउन नसकेको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपभोत्ता समितिलाई हस्तान्तरण गरेको पानी ट्यांकी संचालनमा नआउँदा स्थानीय चापाकलको आर्सेनिकयुक्त खानेपानी पिउन विवश छन् । ट्यांकीबाट उपभोक्ताको घरघरमा पानी आपूर्तिका लागि विछ्याइएको पाइप सडक फराकिलो पर्दा भत्केको छ ।

२०६८ को जनगणना अनुसार ५५ हजार १ सय ५३ जनसंख्या रहेको पोखरियामा ८ हजार २५ घरपरिवार छन् । तर, खानेपानी उपभोग गर्न दुई÷तीन घरले मात्रै सदस्यता लिएका छन् । सदस्यता लिएका वकिल मियाँले स्वास्थ्यको दृष्टिकोणले ट्यांकीको पानी उपयुक्त हुने भएपनि ट्यांकीको पानी आपूर्ति नहुँदा ट्युवेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

समितिका उपाध्यक्ष समेत रहेको साविकको पोखरिया गाविसका उपाध्यक्ष गोवद्र्धन यादवले खानेपानी उपभोत्ता समिति राजनीतिक अखडा बनेको बताउनुभयो । ‘आफ्नो घरको पैसा भए पो माया लाग्छ । सरकारको पैसा जाने हो । खानेपानी ट्याङ्की सञ्चालनमा नल्याए पनि बर्सेनी मर्मत सम्भारको नाममा पैसा ल्याउदै खर्च देखाएर अनियमितता गरिरहेका छन्’ उहाँले भन्नुभयो ।

अलौको अवस्था पनि उस्तै

वीरगन्ज महानगरपालिका– १७ अलौमा पनि ट्याङ्की निर्माण भएको बर्षौ भईसक्दा समेत अहिलेसम्म सञ्चालनमा आएको छैन । अलौंका उपभोक्ताहरू भने खानेपानी प्रयोगको लागि इच्छुक भएपनि उपभोक्ता समितिले ट्याङ्की सञ्चालन नहुँदा पानी उपयोग गर्न नपाएको बताउँछन् ।

उपभोक्ता हरेराम साहले खानेपानी ट्याङकीबाट आपूर्ति गरिएको पानी प्रयोग गर्न पाउनु पर्ने बताउनुभयो । ‘पानी ट्याङ्कीबाट आउने पानी स्वच्छ हुन्छ, रोगबाट पनि बच्न सकिन्छ । तर ट्याङ्की सञ्चालनमा नआउँदा ट्युवेलकै पानी उपयोग गर्न बाध्य छौं ।’

अलौका खानेपानी उपभोक्ता समितिका अध्यक्ष ओम बहादुर लामिछानेले खानेपानी ट्याङ्की बजेट अभावका कारण सञ्चालन गर्न नसकिएको बताउनुभयो । प्रदेश सरकारले सहयोग नगरेको र संचालनको लागि अनुदान सहयोग गर्न वीरगन्ज महानगरपालिकालाई आग्रह गर्दा पनि आश्वासन मात्रै पाएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार