लेखा समितिले मेलम्ची खानेपानीको कागजात झिकाईयो

 

काठमाडौ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाका प्रगति र खर्च प्रक्रियाबारे छानबिन गर्न सुरु गरेको छ । समितिले मेलम्ची खानेपानी आयोजनाको कागजपत्र झिकाएको छ । लेखा समितिको साउन ५ गतेको बैठकले मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको कागजपत्र झिकाउने निर्णय गरेको थियो ।

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको विवरण सार्वजनिक लेखा समितिमा पेस गरिसकेको छ । मेलम्चीको सञ्चालक समितिसँग यो साताभित्रै सोधपुछ गर्ने तयारी भईरहेको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो । समिति बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची आउने कुरा मात्र भएकाले यथार्थ खर्च र जानकारी लिन जरुरी भएको बताउनुभएको थियो ।

समिति सभापति शाहको निर्देशन बमोजिम कागजपत्र झिकाइएको र मेलम्चीको डकुमेन्टमाथिको अध्ययन पूरा भएको सचिव पाण्डेले बताउनुभयो । उहाँले आगामी साता सञ्चालक समितिलाई बोलाउने तयारी भईरहेको जानकारी दिनुभयो । सचिव पाण्डेका अनुसार सेनाले निर्माण गरिरहेको द्रुतमार्गको प्रगति र खर्चको बारेमा समेत समितिमा अध्ययन भइरहेको छ ।

मेलम्चीपछि द्रुत मार्गका विषयमा सरोकारवालासँग सोधपुछ हुने पाण्डेले जानकारी दिनुभयो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एकातिर, निर्माण भइरहेको स्थान अर्कोतिर भईरहेको भन्दै सांसदले प्रश्न उठाएपछि समितिले अध्ययन अघि बढाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार