सुन बेचेर शौचालय बनाउने सुन्टी सम्मानित

 

सिन्धुपाल्चोक : ‘एक्ली महिलालाई समाजले सधैं हेप्छ, पुरुष नभएको घरको महिलालाई समाजले गर्ने व्यवहार पनि फरक हुन्छ, चर्पी बनाउन नसक्दा पनि मलाई समाजले हेप्यो ।’ सधैं हेपाई मात्र दिने समाजले यत्ति गतिलो सम्मान देला भनेर उहाँले सपनामा पनि चिताउनुभएको थिएन । तर उहाँको जीवनमा कहिल्यै नसोचेको फल प्राप्त भयो शुक्रबार ।

चर्पी बनाउँदा कानको सुन गुमाएकी सिन्धुपाल्चोक इर्खुकी सुन्टी तामाङलाई सिन्धुपाल्चोक जिल्ला खुला दिसामुक्त घोषणाको अवसरमा सम्मान गरिएको हो । सुनलाई भन्दा चर्पीलाई बढी महत्व दिएर समाजमा अरुलाई समेत चर्पी बनाउन प्रेरणा प्रदान गरिएकोले उहाँलाई खानेपानीमन्त्री बिना मगरले सम्मान गर्नुभयो ।

सम्मान लिएर फर्किदा सुन्टीको गह खुसीको आँसुले भरिएको थियो । आफूले जीवनमै कल्पना नगरेको ठूलो सम्मान मिल्दा सारा दुःख भुलेको बताउनुभयो । ‘सुन बेचेर चर्पी बनाएको कुरा मैले त बिर्सिसकेको थिएँ, आजको सम्मानले फेरि झल्झली याद दिलायो’ उहाँले भन्नुभयो ।

सुन बेचेर यसरी बनाएको रहेछ चर्पी

दुःखले बनाएको चर्पीले अहिले इज्जत मिलेको उहाँले सुनाउनुभयो । ‘म मरेर गएपनि यो सम्मान रहिरहन्छ, मेरो नातानातिनाले सम्झिन्छन् नि, होइन त ?’ उहाँले खुसी हुँदै भन्नुभयो ।

२०७१ साल साउन १७ गते । उहाँ गैह्रीबारीमा बीउ गोडेर बसिरहनु भएको थियो । त्यही बेला गाउँकै ज्वाइ पर्ने व्यक्ति अर्का एक जना व्यक्तिको साथमा आउनुभयो । ती व्यक्ति गाउँमा ट्वाइलेट बनाउनुपर्छ भन्दै हिड्ने व्यक्ति हुनुहुन्थ्यो । ५ नम्बरमा चर्पी नबनाउने यिनै बूढी हुन् भन्दै ती जुवाई पर्नेले देखाए । सुन्टीको घर साबिकको ईर्खु गाविस वडा ५ दिप गाउँमा पर्दछ ।

सुन्टि भन्नुहुन्छ ‘मलाई औंलाले देखाएर यही दिदी हो चर्पी नबनाउने भनेपछि मलाई साह्रै दुःख लाग्यो ।’

उहाँले चर्पी बनाउँदाको दुःखजिलो बेलिबिस्तार लगाउनुभयो । ‘साथमा पैसा थिएन, कसरी चर्पी बनाउने, आफू एक्लो मान्छे खेतीको काम गर्नु कि चर्पी बनाउनु, यस्तो समस्या आइलाग्यो कि, मैले उनीहरुकै मुखान्जी भनिदिएँ ‘मलाई कमजोर भनेर हेपेको, एक्लो भनेर हेपेको होला, म अब चर्पी बनाउँछु ।’

कुरा झनै चाखलाग्दो बन्दै थियो ‘त्यो दिन साउन मसान्तको दिन थियो, चौतारा गएँ, अनि आफूले लगाएको आधा सुन बेचें । त्यसबाट १३ हजार २ सय ५० रुपैयाँ आयो । अनि चर्पीका ढुंग्रा, नाला, सबै सामान ल्याएँ ।’

अनि कसरी बनाउनुभयो ? उत्तर त्यत्ति सजिलो थिएन । यत्ति धेरै दुःख नगरेको भए सायद बिर्सिसक्नु हुन्थ्यो तर ५ बर्ष भईसक्दा पनि ती दिनको सम्झना ताजै रहेछन् । ‘मलाई त्यो रातभरि निन्द्रै लागेन । सामान त ल्याएँ, तर कसले बनाइदिने मेरो चर्पी, अर्को चिन्ता थपियो ।

बनाउने मान्छे कहाँ खोज्ने भनेर मनमनै गुने, झट्ट मीत छोराको याद आयो । भोलिपल्ट उज्याले हुने बित्तिकै मीत छोरालाई बेलिबिस्तार लगाएँ सके तिरौंला नसके थानकोट डाँडा काटेर जान्न, चर्पी बनाउन लागेको खर्च तिर्छु भनेपछि मीत छोरा आउन तयार हुनुभयो ।’

दुःखको कथा अझै खोतलिदै थियो । ‘त्यही दिनदेखि आफैले बालुवा बोकें, सिमेन्टको भारी आफैंले बोकें । भोलिपल्ट मीतछोराले पाँचजना काम गर्ने मान्छे लिएर आउनुभएछ, पाँच दिनमै चर्पी ठडियो, अनि जनैपूर्णे मनाइयो ।’

दुःखले बनाएको चर्पीले अहिले इज्जत मिलेको उहाँले सुनाउनुभयो । ‘म मरेर गएपनि यो सम्मान रहिरहन्छ, मेरो नातानातिनाले सम्झिन्छन् नि, होइन त ?’ उहाँले खुसी हुँदै भन्नुभयो ।

३ छोरी र १ छोराकी आमा सुन्टी ६९ बर्ष पुग्नुभयो । तर उहाँ एक्लै बस्नुहुन्छ । २०५९ साल असारमा घर छाडेर हिडेका श्रीमान नफर्के पछि सुन्टी एक्लै हुनुहुन्छ । सुनचाँदी भन्दा पनि ठूलो सम्पक्ति चर्पी रहेछ भन्ने कुरा आफूले बल्ल थाहा पाएको सुन्टी बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार