खानेपानीले हाम्रो दुःख बगायो

 संगीता गिरी दास

उराठलाग्दो गाउँ, न त बस्नका लागि उपयुक्त घर, न त शौचालयको व्यवस्था । विद्यालय जाने उमेरका केटाकेटी दिनभरि बाटातिर बरालिएका । गाउँमा पुरूषहरू त देख्नै नपाइने । पानीको सधैं हाहाकार । महिलाहरूको अनुहारमा छाएको दुःख र निराशाको भाव । बाटोघाटो समेत त्यस्तै अव्यवस्थित र फोहोर ।

महोत्तरी जिल्लाको बर्दाहा गाउँपालिका वडा नंं ३, बर्दाहा गाउँमा कुनै समय देखिने यस्तो अवस्था अब एकादेशको कथा जस्तै भइसकेको छ । केही वर्ष अघि यस्तो अवस्था देखेर त्यहाँबाट फर्केको मानिस अहिले फेरि उक्त गाउँ पुग्यो भने त्यहाँ आएको परिवर्तन देखेर आश्चर्य चकित हुन्छ ।

कोष विकास समितिद्वारा महिला प्राविधिक सहयोग सेवा कार्यक्रम अन्तर्गत स्थानीय उपभोक्ता महिलाहरूलाई उपलब्ध गराइएको बीउ रकम १० हजार रुपैयाँ बाट ७६ हजार ७१५ रुपैयाँ पुर्‍याइसकेको छ ।

अहिले घर–घरमा पानीको उपलब्धता र शौचालयको व्यवस्थाले गर्दा यहाँको घरायसी वातावरण र मानिसहरूको व्यक्तिगत सरसफाइको अवस्थामा व्यापक परिवर्तन आएको छ । गाउँको मदरसा (मुस्लिम विद्यालय) मा समेत राम्रो शौचालय बनेको छ । सबै बालबालिकाहरू पढ्न मदरसा जान्छन् । पहिले पहिले जीवन निर्वाहका लागि भारत गएर पसिना बगाउन बाध्य कतिपय पुरूषहरू अब गाउँ फर्केर तरकारी खेती लगायतका काममा संलग्न भएका छन् । यहाँ आएको परिवर्तनका बारेमा स्थानीय जमैदा खातुन एकै वाक्यमा भन्नुहुन्छ, “पहिले र अहिलेमा आकाश पातालको फरक छ ।”


अभाव र पछ्यौटेपनले गाँजेको यस गाउँमा वि.संं २०७१ चैत्रमा परिवर्तनको घाम झुल्केको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास सेवा परिषद्को प्राविधिक सहयोगमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यो गाउँमा परिवर्तनका लहरहरू देखा पर्न थाले ।

खानेपानी र सरसफाइ आयोजनाको विकास चरणमा सञ्चालन भएका स्वास्थ्य तथा सरसफाइ कार्यक्रमको प्रभावले बर्दहा गाउँमा व्यक्तिगत र वातावरणीय सरसफाइमा उल्लेखनीय प्रगति भएको बताउनुहुन्छ ग्रामीण सामुदायिक विकास सेवा परिषद्को खानेपानी तथा सरसफाइ कार्यक्रमकी टीम लीडर संगीता ज्ञबाली । “खानेपानी तथा सरसफाइ आयोजनाका क्रियाकलापहरू शुरू हुनु अघि यहाँका महिलाहरूको अधिकांश समय खानेपानीको जोहो गर्दैमा बित्ने गथ्र्यो । बच्चाहरू विद्यालय जान पाउँदैनथिए” ज्ञबाली भन्नुहुन्छ “खासगरी बालिकाहरू त विद्यालय जाने कुराको कल्पना पनि गर्न सकिंदैनथ्यो, किनभने उनीहरूको अधिकांश समय पानी ओसार्ने काममा आमाहरूलाई सघाउँदै, भाइबहिनी स्याहार्दै र अन्य घरायसी काम गर्दैमा बित्थ्यो ।”

 

जीविकोपार्जनका अवसरहरूमा वृद्धि

खानेपानीको उपलब्धता र सरसफाइ कार्यक्रमको प्रभावले मानिसहरूको जीवन सहज भएको र जनस्वास्थ्यमा सुधार आएको स्थानीय वासिन्दाहरू बताउँछन् । पानी भर्ने समय बचत भएपछि उक्त समयमा यहाँका वासिन्दाहरू आय आर्जनका काममा निकै सक्रिय भएका छन् ।

विशेष गरी तरकारी खेती यहाँको आयआर्जनको एक सशक्त माध्यम बनेको छ । कोष विकास समितिद्वारा महिला प्राविधिक सहयोग सेवा कार्यक्रम अन्तर्गत स्थानीय उपभोक्ता महिलाहरूलाई उपलब्ध गराइएको बीउ रकम १० हजार रुपैयाँ बाट ७६ हजार ७१५ रुपैयाँ पुर्‍याइसकेको छ । मुस्लिम बरकाती कृषि समूहले बचत तथा ऋण कार्यक्रम सञ्चालन गरी कोष बृद्धि गराएको हो ।

विगतमा श्रीमान् श्रीमतीको दिनहुँजसो झगडा भइरहने घटना यस क्षेत्रमा सामान्य जस्तै थियो । तर अहिले तिनै दम्पतीहरू समाजका लागि प्रेरणाका स्रोत बनेका छन् ।

प्रत्येक महिला सदस्य तरकारी खेतीमा संलग्न छन् । यसले गर्दा उनीहरूलाई तरकारी खान त मनग्य पुगेकै छ भने उत्पादित तरकारी बेचेर राम्रै आर्थिक उपार्जन गरिरहेका छन् । उनीहरूको तरकारीले स्थानीय मतिहानी हाटबजार लगायत भारतको सीमानामा पर्ने मधुवनीमा समेत राम्रै बजार पाएको छ ।

सामाजिक आर्थिक रूपान्तरणको उदाहरण बन्दै बर्दाहा

पहिले पहिले बुर्काभित्रै सीमित रहेर अरूसँग बोल्न समेत हिच्किचाउने यस समुदायका महिलाहरूमा अहिले आमूल परिवर्तन देखिएको छ । मुस्लिम बरकाती कृषि समूहकी अध्यक्ष जमैदा खातुनले स्थानीय निर्वाचनमा बर्दाहा गाउँपालिकाको उपमेयरमा समेत उम्मेदवारी दिनुभयो । मात्र ३८ मतले पराजित हुनुभएकी खातुन अर्को निर्वाचनमा जित्ने कुरामा विश्वस्त हुनुहुन्छ । “उहाँको उम्मेद्वारीले हाम्रो शिर उँचो भएको छ, अब हामी पनि निर्वाचनमा उठेर जनप्रतिनिधि हुन सक्ने रहेछौं ।” स्थानीय सकिला खातुनले भन्नुभयो ।

खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन हुनु अघि गाउँका ६० जना बालिकाहरू मात्र मदरसा जान्थे भने सरसफाइ कार्यक्रमको प्रभावले मदरसामा शौचालयको व्यवस्था भएसँगै मदरसा जाने बालबालिकाहरूको संख्या २१९ पुगेको छ ।

विगतमा श्रीमान् श्रीमतीको दिनहुँजसो झगडा भइरहने घटना यस क्षेत्रमा सामान्य जस्तै थियो । तर अहिले तिनै दम्पतीहरू समाजका लागि प्रेरणाका स्रोत बनेका छन् । यसका जल्दाबल्दा उदाहरण हुन्, अब्बास कबाडीको जोडी, जसले अहिले तरकारी खेतीकै भरमा पक्की घर बनाउन सफल हुनुभएको छ ।

 

यति मात्र नभई उनीहरूले छोरालाई उच्च शिक्षाका लागि विदेश पठाउनुभएको छ । “पानीको सुविधाले हामीलाई तरकारी खेती गर्न सजिलो भयो । अब त यो काममा राम्रो अनुभव पनि भएको छ र आम्दानी पनि राम्रो भएको छ” उनी भन्छन् ।

अहिले गाउँमा लगभग सबैको घर भइसकेको छ । प्रत्येक घरमा धारा जडान भइसकेको छ भने शौचालय निर्माण गरेर प्रयोग समेत गर्न थालेका छन् । गाउँले मिलेर गाउँपालिकासँग ढल व्यवस्थापनको माग गरेका छन् ।

खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन हुनु अघि गाउँका ६० जना बालिकाहरू मात्र मदरसा जान्थे भने सरसफाइ कार्यक्रमको प्रभावले मदरसामा शौचालयको व्यवस्था भएसँगै मदरसा जाने बालबालिकाहरूको संख्या २१९ पुगेको छ । जसलाई पानीले ल्याएको एउटा अर्को उल्लेखनीय उपलब्धी मान्न सकिन्छ । मुस्लिम समुदायका महिलाहरू संघर्षका विगतका क्षणहरूलाई वर्तमान सँग तुलना गर्दैै भन्छन् “खानेपानीको सुविधाले हाम्रो दुःख बगायो ।”

लेखक : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार