एउटा सरसफाइ हिरो, जसले पक्रेपछि गन्तव्यमा पुर्‍याएरै छाडे

 

काठमाडौ : खुला दिसामुक्त घोषणा गर्नका लागि अति चुनौतीपूर्ण मानिएको प्रदेश २ का जिल्लाहरु धमाधम खुला दिसामुक्त घोषणा भएका छन् । खुला ठाउँमा दिसा गर्ने परम्परालाई तोड्न लगाएर सानो कोठाभित्र सीमित बनाउने काम कम चुनौतीपूर्ण थिएन ।

यो चुनौतीपूर्ण यात्रा सितिमिती तरिकाले पार भएकै छैन । ‘खुला दिसामुक्त मधेस’ केन्द्र, प्रदेश तथा स्थानीय तहमा परिचालित सरकारी तथा गैरसरकारी संस्था, सरसफाइ अभियन्ता, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी, सरसफाइ प्रज्ज्वलक, प्रहरी एवं स्थानीय बासिन्दाको संयुक्त बलबाट प्राप्त उपलब्धी हो ।

सरसफाइ अभियन्ताहरुकै भाषामा तराई मधेसमा सरसफाइ आन्दोलनको आँधीबेहरी ल्याउन पापड पेलेका छन् , पापड ।
तिनै पापड पेल्नेहरु मध्येको एक हुनुहुन्छ, ‘मदन मल्ल’ । तराईका जिल्लाहरुको सरसफाइलाई यो उचाइमा ल्याई पुर्‍याउन उहाँको योगदान सम्मान गर्न लायकको छ । जसले तराईको सरसफाइ अभियानमा आफूलाई कर्मचारीको हैसियतमा मात्र सीमित राख्नुभएन, त्यही समुदायमा समर्पित सरसफाइ अभियन्ताको रुपमा समेत प्रस्तुत गर्नुभयो ।

पछिल्लो ५/७ बर्षको बीचमा मल्लका लागि तराईका जिल्लाहरु पानी पधेंरा जस्तै भैसकेका छन् । उहाँ कार्यरत रहेको UN HABITAT को मुख्य कार्यालय ललितपुरको झम्सिखेलबाट खुर्कोट, सिन्धुली, बर्दिबासको बाटो कतिपटक पार गरियो भन्ने कुनै हेक्का छैन उहाँलाई । फर्पिङ, कुलेखानी, भीमफेदी हेटौडाको बाटोलाई कति पटक चक्कर लगाईयो त्यो पनि गणना गरिसाध्य छैन । सायद जीवनमा सबैभन्दा बढी फान्को मारेको तिनै दुईटा बाटो होलान् ?

मल्लको सरसफाइको प्रवेश बिन्दु

इञ्जिनियर भएपछि उहाँलाई सडक विभागमा काम गर्ने मन थियो । त्यहाँ नभए पनि सिंचाई विभागमा । तर उहाँले सेवा शुरु गर्नुभयो खानेपानी तथा ढल निकास विभागबाट । खानेपानी विभागमा त खानेपानीको धारा, ट्याङ्की र पाइप लाइनको डिजाइन गर्नु पर्दो हो भन्ने लागेको उहाँलाई पछि मात्र थाहा भयो, खानेपानी तथा ढल निकास विभाग अन्तर्गत रहेर त चर्पी बनाउने काम पनि पो गर्नुपर्दोरहेछ ।

२०४७ सालमा खानेपानी तथा ढल निकास विभागमा इञ्जिनियर भएर सेवा प्रवेश गरेका मदन मल्ल अहिले UN HABITAT का कार्यक्रम विश्लेषक हुनुहुन्छ । आजभन्दा २९ बर्ष अगाडि इञ्जिनियर भएर खानेपानी तथा ढल निकास विभाग प्रवेश गर्दा चर्पी बनाउने दायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने नलगेको उहाँले नै जीवनको आधा समय चर्पी बनाएरै विताउनुपर्‍यो ।

‘त्यत्तिबेलै उपभोक्ता समिति मार्फत खानेपानी योजना निर्माण गर्नुपर्ने, सरसफाइ पनि एउटा पाटो हो र यसलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने अवधारणा आइसकेको रहेछ, खानेपानी योजना निर्माण गर्नुभन्दा पहिले उपभोक्ता समितिको लागि योजना निर्माण पूर्वको ६ दिने तालिम हुन्थ्यो त्यसमा पनि चर्पीकै कुरा हुन्थ्यो, गाउँलेहरु त्यत्तिबेला त लजाउँथ्यो पनि । शुरु शुरुमा त हामीलाई पनि लाज लाग्थ्यो । तर पछि यो विषयलाई समेट्दै जाँदा आफै पनि यत्ति अभिप्रेरित भएँ र गाउँलेहरुलाई पनि यसरी प्रेरित गर्न सफल भएँ कि वास्तवमा सानो विभागमा आइयो कि भन्ने लागेको मान्छे त्यसैमा विस्तारित हुँदै गएँ’ त्यसबेलाका दिनहरु सम्झिदै मल्लले भन्नुभयो ।

‘खानेपानी बनाउने होला गाउँ तथा शहरमा’ यस्तै लाग्थ्यो उहाँलाई । ‘बनाउन पनि बनाएँ, उपभोक्ता समितिसँग काँधमा काँध जोडेर, हातमा हात मिलाएर काम पनि गरियो, त्यत्तिबेला पनि मलाई चर्पीमा यत्ति धेरै लगानी गर्नुपर्छ भन्ने चाहिं थाहा थिएन’

उहाँ आफ्नो काम र जिम्मेवारी प्रति परिपक्व हुँदै जानुभयो । साथीभाइसँग भेट गर्दा, सरसफाइको क्षेत्रमा काम गर्ने विज्ञहरु सँग घुलमिल गर्दै जाँदा उहाँलाई लाग्थ्यो चर्पी सम्बन्धी त केही बुझेकै पो रहेनछ, यसले उहाँलाई सरसफाइको क्षेत्रमा काम गर्न थप उत्साह जाग्थ्यो ।

जिल्ला संयोजक भएर काम गर्दा

 

चितवन जिल्लालाई देशकै दोस्रो खुला दिसामुक्त जिल्ला बनाउनुमा उहाँको ठूलो योगदान छ । त्यसबेला उहाँले जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएको थियो । चितवनको एउटा गाउँ विकास समितिका २० घर दलितले चर्पी बनाउन नसकेर खुला दिसामु्क्त घोषणा गर्ने कार्यक्रम प्रभावित भइरहेको थियो । अन्त्यमा उहाँकै सक्रियतामा राष्ट्रिय सरसफाइ सप्ताहको बेला कच्ची चर्पी बनाएर घोषणा गर्दा त्यहाँ ठूलो उल्लास छाएको थियो, हजारौं मानिस भेला हुन्थे, एक प्रकारको पर्व झैं लाग्थ्यो ।

चितवनलाई २०६८ साल असोज ६ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

‘घोषणा गर्नुभन्दा पहिले खुट्टाले कुल्चिने दिसा घोषणा गरेपछि पनि भेटियो भने नाकले टेक्नुपर्छ, किनकि नाक भनेको हाम्रो इज्जत हो । इज्जत जोगाएर राख्न धेरै गाह्रो छ ।’

शुरु शुरुमा खुला दिसामु्क्त घोषणा गर्दा धेरै खर्च पनि हुन्थ्यो तर त्यो खर्च अनुत्पादक नभएको बताउनुहुन्छ मल्ल । अहिले पनि चर्पी बनाउनु भने पछि अरुकै लागि बनाइदिनुपर्ने जस्तै गरिन्छ । हत्तपत्त मानिसहरु चर्पी बनाउन चाहदैनन् र चर्पी बनाउन पनि अनुदान चाहिने बताउँछन् । आज भन्दा १०/१२ बर्ष अगाडिको अवस्था झनै कस्तो थियो होला ? मदन मल्लको स्मरणबाट टाढा भएका छैनन् ती कहालीलाग्दा दिनहरु ।

‘शौचालय निर्माण, प्रयोग तथा मर्मत सम्भारका लागि हामीले पापड नै पेलेका हौं, अहिले त हामी धेरै अगाडि बढिसकेका छौं, सरसफाइ एउटा मूल प्रवाहमा आइसकेको छ । त्यत्तिबेलाको अवस्था कहालीलाग्दो र नाजुक थियो ।’ लामो सास फेर्दै उहाँले भन्नुभयो ।

UN HABITAT सँगको यात्रा

खानेपानी तथा ढल निकास विभागमा बहाल रहँदा रहँदै कसरी हाम्फाल्नुभयो त UN HABITAT मा ? मल्ल भन्नुहुन्छ ‘सरकारी जागीर २० बर्ष पूरा भइसकेको थियो । म सरसफाइकै क्षेत्रमा चितवनमा कार्यरत थिएँ । एक जना मेरा गुरुले सरकारी सेवामा तपाईको योगदान धेरै भइसक्यो, अब ठूलो प्रोग्राम हेरौ न त, अझ यसलाई बृहत बनाऔं, अर्को नयाँ उचाईमा पुर्‍याऔं, तपाईले साथ दिनुहुन्छ ? भनेर सोध्नुभयो । मैले पनि केही समय मागें ।

 

सरकारी सेवामा निक्कै समय व्यतित गरिसकेको हुनाले कार्यक्रमलाई अर्को नजरले हेरौं, अब सामाजिक सेवाको भावना लिएर यतातिर जाउँ, सम्हालौं, आफूलाई पनि बुझौं, हेरौं र अर्को रुपमा ढालौं भनेर म यतातिर आएँ’

सधैं एउटा खुड्किला बाट अर्को खुड्किलामा जम्प गर्ने स्वभाव भएका मल्ललाई शुरुमा त अवधारणागत कुराहरु, तालिम दिनुपर्ने, वकालत गर्नुपर्ने, तालिम दिदै हिड्नुपर्ने, सचेतना जगाउनुपर्ने काम गर्नुपर्दा कता कता आफ्नो दायरा नै खुम्चिएको हो कि भन्ने पनि लाग्थ्यो तर पछि काम गर्दै जाँदा आफ्नो दायरा यत्ति फराकिलो लाग्न थाल्यो कि, आफूले काम गर्ने क्षेत्र विशाल समुद्र जस्तै लाग्न थाल्यो ।

UN HABITAT मा मल्लको ‘यु टर्न’

यत्रो विशाल क्षेत्र सम्हाल्न पाएपछि पनि उहाँको तीन बर्षे विदा सकिएपछि फेरि उहाँ खानेपानी तथा ढल निकास विभागमै फर्कनुभयो । ‘म त सरकारको मान्छे पो हुँ त’ उहाँलाई यही भावनाले डोर्‍याएर त्यही पुर्‍यायो ।

तीन बर्ष पछि फर्किएको पुरानो घर अर्थात खानेपानी विभागमा उहाँले झण्डै २० दिन जत्ति विताउनुभयो । लामो समयपछि पुरानो घरमा फर्किदा कता हराए जस्तो, अलमलमा परेजस्तो र कामको थालनी कहाँबाट गरौं भएकै बेला फेरि साथीहरुले सुझाए ‘तपाई त UN HABITAT मै फर्किनुपर्छ, तपाईको आवश्यकता त्यही छ ।’

उहाँ फेरि नयाँ जोश र जाँगर लिएर UN HABITAT मै फर्किनुभयो । आज पर्यन्त उहाँ सरसफाइ अभियानमै हुनुहुन्छ । अहिले त उहाँलाई सरकारी तथा गैरसरकारी मान्छे भन्दा पनि समाजको मान्छे भन्न मन लाग्छ रे !

‘म आफूलाई समाजको एउटा जिम्मेवार पात्र ठान्छु, समुदायसँग घुलमिल गरेर समाजसँगै काम गर्ने र समाजमै बसेर रमाउने, सामाजिक प्रगति देखि रमाउने र सन्तुष्टि लिने मेरो यही चाहना छ’

 

खुट्टाले कुल्चिने दिसा अब नाकले टेक्नुपर्छ

 

 

चर्पी बनाउने क्रममा भोगेका सजिला अफ्ठ्याराका कयौं स्मरणीय दिनहरु छन् उहाँ सँग । घर बनाउन सक्ने तर एक जना अट्ने सानो कोठा बनाउन नसक्ने किन होला ? सरसफाइको क्षेत्रमा उहाँले गर्नुभएको लामो अनुभवले भन्छ, ‘चर्पी बनाउने भनेर मात्र हुँदैन, सामग्रीको जोरजाम, बनाउने अठोट, रकमको उपलब्धता, समय जस्ता कुरा मिल्यो भने मात्र चर्पी बनाउन सकिन्छ । चर्पी बनाउने काम व्यक्ति विशेषसँग, समाजसँग, परिवारसँग, घरसँग, समुदायसँग अनि स्थानीय सरकार सँगसँगै काम गर्ने संघसंस्थासँग पनि सम्बन्धित हुने भएकाले निक्कै गहिरो र चर्को पनि हुँदोरहेछ ।’

उहाँको अनुभवले यो पनि सिकाएको छ कि खुला दिसामु्क्त क्षेत्र घोषणा गर्नु अघि भन्दा गरेपछि धेरै चुनौती आईपर्छ । मल्ल भन्नुहुन्छ ‘घोषणा गर्नुभन्दा पहिले खुट्टाले कुल्चिने दिसा घोषणा गरेपछि पनि भेटियो भने नाकले टेक्नुपर्छ, किनकि नाक भनेको हाम्रो इज्जत हो । इज्जत जोगाएर राख्न धेरै गाह्रो छ ।’

नागरिकलाई सरसफाइको आवश्यकता र महत्व सिकाउने सेवाबाट निजामति प्रवेश गर्नुभएका मदन मल्ल अहिले पनि सरसफाइकै पाठ सिकाइरहनुभएको छ । उहाँ भन्नुहुन्छ ‘देशलाई नै खुला दिसामु्क्त राष्ट्र भनेर घोषणा गर्ने दिन औधी खुसी हुनेहरु मध्ये म पनि पर्नेछु’

यत्तिबेला देश नै खुला दिसामुक्त हुने चरणमा छ । असोज १३ गतेपछि देशले आधारभूत सरसफाइको तह पार गरेर पूर्ण सरसफाइतिर प्रवेश गर्नेछ । देश नै खुला दिसामुक्त हुँदा मल्ल जस्ता हजारौंले आफूले गरेको मिहेनतको फल प्राप्त गरेको सम्झनेछन् । धेरै धेरै बधाई छ सरसफाइ यात्रामा सहभागी सबैलाई ।

नोट : २०७४ मंसिर ४ मा वास खबरमा प्रकाशित सामग्री, खुला दिसामुक्त राष्ट्र घोषणाको सन्दर्भ पारी सामान्य सम्पादन पछि पुनः प्रकाशित गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार