उपभोक्ता जागे के छ असम्भव ? १७ लाखमा मुहान खरिद, ८५ जनाको नाममा धनीपूर्जा

 

धनकुटा : उपभोक्तालाई वास्तविक आवश्यकता मात्र हुनुपर्छ, जस्तो सुकै असम्भव कामलाई पनि सम्भव तुल्याउँछन् । पहाड फोडेर होस् वा छाक काटेर या त सयौं दिन श्रमदान गरेर नै किन नहोस्, खानेपानी ल्याएरै छाड्छन् । धनकुटाको शहिदभूमी गाउँपालिका – ६, थलथले वजारका बासिन्दाले खानेपानी आपूर्तिका लागि गरेको संघर्षको कथाले यही कुराको पुष्टि गर्छ ।

खानेपानी आपूर्तिका लागि गरिएका सबै प्रयास विफल भएपछि आफ्नो भाग्य र पुर्पुरोलाई दोष दिदै खानेपानीको दुःख झेल्न बाध्य थलथले वजारबासीले घरआँगनकै धाराबाट थापेर पिउन थालेको करिब एक बर्ष पार भईसकेको छ ।

यसरी जुर्‍यो खानेपानी

खानेपानीको दुःख कतिलाई सुनाईयो, कतिलाई मागियो भनिसाध्य छैन । खानेपानी समस्या समाधानका लागि तत्कालीन गाउँ विकास समिति, जिल्ला विकास समिति, खानेपानी कार्यालय, राजनीतिक दलका नेता लगायत गुहार्न कोही बाँकी नराखेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुकुम चन्द्र राई बताउनुहुन्छ । पानीको समस्याबारे कुरा गर्दा मौखिक आश्वासन बाहेक केही पनि नपाए पछि गाउँले सबै निराश भईसकेका थिए ।

तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति तथा राष्ट्रिय सभाका सांसद टिकाराम चेम्जोङसँग पनि एक दिन खानेपानीकै बिषयमा कुरा चल्यो । त्यत्ति नै बेला उहाँले पर्डेप नेपालका कार्यकारी निर्देशक नरेश प्रसाद श्रेष्ठलाई टेलिफोन गरी खानेपानीको समस्याबारे सुनाई दिनुभयो ।

खानेपानी अध्यक्ष राई त्यत्तिबेलाको दिन सम्झिदै भन्नुहुन्छ ‘उहाँले पनि कुरा गर्न सम्बन्धित मान्छे पठाईदिनु भन्नुभयो, त्यसको केही दिनमै हामी केही साथीहरु मिलेर पर्डेप नेपाल धनकुटाको कार्यालयमा गयौं, विगतमा पनि धोका पाईसकेकाले हामीलाई विश्वास भने लागेको थिएन । खानेपानीको वास्तविक समस्या हो र खानेपानीको मुहान प्रबन्ध भएमा विचार गर्न सकिने जवाफ लिएर हामी त्यहाँबाट फर्कियौं ।’

१७ लाखमा दुईटा मुहान, ८५ जनाको नाममा लालपूर्जा

१७ लाख खर्च गरेर खानेपानी मुहान त पास गरियो । र पनि खानेपानीको समस्या समाधान हुने टुङ्गो लागिसकेको थिएन । खानेपानी आयोजना नचले वा सफल नभए उपभोक्तासँग उठाएको रकम कसले फिर्ता दिने भन्ने ठूलो चिन्ता थियो, अगुवाई गर्नेहरुलाई त्यसबेला ।

खानेपानी समस्या समाधानका बारेमा पर्डेप नेपाल सकारात्मक हुँदै गएपछि गाउँलेले मुहानको खोजी गर्न थाले । तर खानेपानीको मूल स्थानीय नेत्रमान राईको जग्गामा थियो । सित्तैमा खानेपानी उपभोग गर्न नदिने भनेपछि गाउँले किन्न राजी भए ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष राईका अनुसार खानेपानी उपभोक्ता १ सय ९ घरपरिवारबाट २० हजारका दरले रकम संकलन गरी स्थानीय नेत्रमान राई सँग १७ लाखमा २ वटा खानेपानी मुहान किने । ती दुवै मुहान ८५ जना व्यक्तिको नाममा पास गरिएको छ ।

८५ जनाको नाम करिव डेढ मिटर लामो पहाडे कागजमा बल्लतल्ल अटेपछि थाहा पाउनेहरु समेत आश्चर्यमा परेको अध्यक्ष राईले सुनाउनुभयो ।

‘खानेपानीको लागि खरिद गरेको विश्वकै लामो पूर्जा होला भनी जिस्क्याउने ठट्टा गर्ने मसला पनि भयो त्यो धनीपूर्जा । करिव ५ रोपनी जग्गा पास गर्ने वेलामा कार्यालयमा एकैपटक ८५ जना पुग्दा मेला लागे जस्तै भएको थियोे’ विगतको सम्झना फेरि एक पटक राईको स्मृतिपटलमा घुम्यो ।

१७ लाख खर्च गरेर खानेपानी मुहान त पास गरियो । र पनि खानेपानीको समस्या समाधान हुने टुङ्गो लागिसकेको थिएन । खानेपानी आयोजना नचले वा सफल नभए उपभोक्तासँग उठाएको रकम कसले फिर्ता दिने भन्ने ठूलो चिन्ता थियो, अगुवाई गर्नेहरुलाई त्यसबेला ।

उपभोक्ता समितिका सदस्य भिम राईलाई त्यत्तिबेलाको दिन सम्झिदा अहिले पनि मन सिरिङ्ग हुन्छ ‘उपभोक्ताहरुले हामी अगुवाहरुलाई रिसको आवेशमा आएर ढुट्याउन पनि सक्थे । गाउँमा यसै विषयलाई लिएर द्वन्द्ध पनि हुनसक्थ्यो, हामी चिन्तित थियौं । तर अहिले योजना सफल भयो हामी पनि सफल भयौं’ राईले आनन्दको सास तान्नुभयो ।

 

लगानी करिब ५१ लाख, आगामी २० बर्षसम्मका लागि ढुक्क

पर्डेप नेपालका अनुसार मुहानमा हाल उपलब्ध भएको पानीको परिमाणको आधारमा विश्लेषण गर्दा करिव ६५० जनसंख्यालाई आउँदो २० बर्ष सम्म पुग्नेछ ।

खानेपानी आयोजना सम्पन्न गर्न कूल ५० लाख ९३ हजार ८३३ रुपैयाँ लगानी भएको छ । ती मध्ये ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड वोर्ड) बाट संयुक्त खातामा २८ लाख ९४ हजार ८५२ उपलव्ध गराएको थियो । समुदायले १० लाख १८ हजार ७६६ रुपैयाँ बराबरको श्रमदान गरेका थिए भने ६३ हजार २२३ रुपैयाँ नगद व्यहोरेका थिए ।

उक्त लगानीमा ईन्टेक ३ वटा, सम्पवेल १ वटा, रिजर्भ टंकी १६ घनमिटरको १ वटा, सेक्सनल भल्भ वक्स २ वटा, निजी धारा संख्या १०९ वटा, सार्वजनिक धारा १ वटा, एंकर व्लक ३३ वटा, मुख्य पाईपलाइन ७८२.१ मिटर, वितरण पाईप लाइन ८ किलोमिटर ६९६.९० मिटर, ईलेक्ट्रोमेकानिकल वर्क १ र स्वीच पम्प हाउस १ निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । अहिले दैनिक ३ घण्टा उपभोक्ताको घरमा पानी वितरण भैरहेको छ ।

 

पर्डेप नेपालका अनुसार मुहानमा हाल उपलब्ध भएको पानीको परिमाणको आधारमा विश्लेषण गर्दा करिव ६५० जनसंख्यालाई आउँदो २० बर्ष सम्म पुग्नेछ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा विकास चरण २०७३ जेठ २६ देखि ८ महिना र कार्यान्वयन चरण २०७४ असार १८ गतेदेखि २०७५ वैशाख १७ सम्म गरी २ बर्षमा काम सम्पन्न भएको थियो ।

विद्युत महसुलले खानेपानीको लागत चर्को

सरकारले सिँचाई प्रयोजनमा उपभोग गरेको विजुलीमा ७५ प्रतिशत सम्म अनुदान दिए पनि खानेपानीमा नदिएको बताउनुहुन्छ पर्डेप नेपालका टिम लिडर नरेश प्रसाद श्रेष्ठ ।

लिफ्ट प्रणालीको खानेपानी आयोजना भएकोले पानी तान्न विद्युत चाहिन्छ । पानी उपभोग गरेपनि नगरेपनि मासिक ४ हजार ६ सय रुपैयाँ विद्युत कार्यालयलाई महसुल बुझाउनुपर्छ । त्यसपछि प्रति युनिट ८ रुपैयाँका दरले थप महसुल तिर्नुपर्छ ।

विद्युत कार्यालयलाई चर्को महसुल बुझाउनुपर्दा खानेपानी उपभोक्ता मारमा परेका छन् । सरकारले सिँचाई प्रयोजनमा उपभोग गरेको विजुलीमा ७५ प्रतिशत सम्म अनुदान दिए पनि खानेपानीमा नदिएको बताउनुहुन्छ पर्डेप नेपालका खानेपानी तथा सरसफाइ कार्यक्रमका टिम लिडर नरेश प्रसाद श्रेष्ठ ।

 

‘संविधानमा खानेपानीलाई मौलिक हकमा राख्ने तर सिँचाई र खानेपानीलाई सरकारले छुट्टाछुट्टै व्यवहार गर्दा जनताहरु खिन्न भएका छन् यदि यो जनताको सरकार हो भने यो विषयलाई सरकार आफैले सिँचाईमा दिएको सुविधा सरह खानेपानीमा पनि सहुलियत दिन ढिला गर्नुहुन्न ।सरकारले पुनर्विचार गरेर विद्युत महसुलको दर उल्लेखनीय रुपमा घटाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

उपभोक्ताहरुले ३ युनिट खानेपानीको मासिक ३ सय रुपैयाँ र सो भन्दा वढी पानी चलाएमा प्रति युनिटको थप दुई सय रुपैयाँ महसुल बुझाउनुपर्ने ग्रामीण मर्मत सम्भार कार्यकर्ता गंगाराम राईले बताउनुभयो ।

खानेपानीसँगै जीविका र जागरण कार्यक्रम

गाउँवाट करिव ३० मिनेट सीधै ओरालो र पानी लिएर १ घण्टा ठाडो उकालो उक्लनुपर्ने बाध्यताबाट मुक्ति मिलेको हलहले बजारबासीका लागि आयआर्जन र जागरण कार्यक्रम पनि सँगसँगै सञ्चालन भईरहेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष हुकुमचन्द्र राई भन्नुहुन्छ ‘खानेपानी आयोजनाले ल्याएको खुशीको सीमा छैन । त्यो दुःखबाट यो सुखमा रुपान्तरण होला भन्ने हामीले यो जुनीमा चिताएका पनि थिएनौं घरमा धारा जोडिदा सपना जस्तै लागिरहेको छ।’

फण्ड बोर्डको आर्थिक सहयोगमा पर्डेप नेपालले थलथले बजारमा महिलाहरुको समूह वनाएर जीविका कार्यक्रम सञ्चालन गरिरहेको छ । खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष राम कुमारी राईका अनुसार खानेपानी ओसार्दा लाग्ने समय बचत गरी महिलाहरुले अहिले आयआर्जनको काममा लगाएका छन् ।

पर्डेप नेपालले खानेपानी आयोजनालाई दिगो वनाउन जागरण समिति वनाई सवेैको कामको स्कोरकार्ड भर्न लगाएर कामको मूल्याङ्कन गर्ने परिपाटी बसालेको छ ।

उपभोक्ताहरुले रकम संकलन गरेर खरिद गरेको खानेपानी मुहान भएको जग्गामा करिब २५ सय उत्तिसको विरुवा लगाएका छन् । यसले भुक्षय रोक्ने र पानीको स्रोत संरक्षणमा टेवा पुग्ने उपभोक्ताहरु बताउँछन् ।

सलाम ! ! खानेपानीका लागि थलथले बजारका बासिन्दाले गरेको लगाव र खानेपानीको दिगो उपयोगका लागि गरिरहेको संरक्षणको कामलाई ।

– पर्डेप नेपाल धनकुटाका खानेपानी तथा सरसफाइ कार्यक्रमका टिम लिडर नरेश प्रसाद श्रेष्ठको सहयोगमा तयार पारिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार