उमेर अनुसारको धाराले कक्षा छोड्ने बानीमा सुधार

 

कालिकोट : कालिकोटको शुभकालिका गाउँपालिका ८, पोरिवाडामा स्थापना भएको नैनलदेव आधारभूत विद्यालयका बालबालिका तिर्खा लाग्ने वित्तिकै धारा, कुवा जहाँ छ त्यतै पुग्थे । शिक्षकले पढाउन खोज्दा कक्षामा २/४ जना भन्दा हुदैनथ्यो । दिन ढल्किदै गएपछि कक्षा रित्तिदै जान्थ्यो । शिक्षकहरु भन्नुहुन्थ्यो ‘बालबालिका तिर्खाएर हो कि भोकाएर हो आज पनि कक्षाकोठा रित्तै रहेछ ।’

तर नैनलदेव आधारभूत बिद्यालयको यो अवस्था अहिले इतिहास भईसकेको छ । अहिले त कक्षाकोठा सबै विद्यार्थी हुन्छन् । बालबालिकाहरु पानी पिउन गएको भन्दै जथाभावी जान पाउँदैनन् । न त चार बज्नु अगाडि नै कक्षाकोठा छोड्न पाइन्छ । किनकि नैनलदेव आधारभूत बिद्यालयमा अहिले उमेर अनुसारका धारा बनेका छन् ।

NORAD सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटद्वारा संचालित सहयात्रा दोस्रो परियोजना (2019-2023) अन्तर्गत बालमैत्री धारा निर्माण गरिएको हो । शिक्षा, बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा काम गर्दै आएको सहयात्रा दोस्रो परियोजनाले क्रस ईस्युका रुपमा सुरक्षित विद्यालय पनि राखिएको किर्डाक नेपाल कालिकोटका सामाजिक परिचालक अधिकृत प्रेम बहादुर नेपालीले जानकारी दिनुभयो । परियोजना लागु भएको करिब ९ महिना वितेको छ ।

यसरी छनौट गरिएको थियो विद्यालय

 

परियोजनाले शुभकालिका गाउँपालिकामा २९ बिद्यालय लक्षित बर्गमा राखिएको छ । गाउँपालिकामा सबै बिद्यालयहरु परियोजनाबाट पूर्व मूल्याङ्कन गर्दा २९ वटा विद्यालय मध्ये नैनलदेव आधारभूत विद्यालयमा सहयात्रा दोस्रो परियोजनाले बालमैत्री खानेपानी योजना छनोट गरेको थियो ।

असार महिनामा शुभकालिका गाउँपालिका कार्यपालिकाको बोर्डले विद्यालयको योजना अनुमोदन गरी लागत अनुमानका आधारमा सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोट सँग सम्झौता गर्‍यो । सम्झौता अनुसार सेभ द चिल्ड्रेन र किर्डाक नेपालको एक लाख अनुदान र ७५ हजार समुदायको श्रमदानमा कार्य सम्पादन गरी किर्डाक नेपाल कालिकोटले विद्यालयलाई हस्तान्तरण गर्‍यो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रति विकले विद्यालयमा उमेर अनुसारको होचो अग्लो धारा बनेकोमा खुसी व्यक्त गर्नुभयो । ‘धारा मात्र होईन बालमैत्री धारा अनि सँगै ३ धारा फरक उमेरका बालबालिकाले प्रयोग गर्न मिल्ने धारा देख्दा म धेरै खुसी भएको छु । आफ्नो बालबालिकाले स्वच्छ खानेपानी खान पाएको देख्दा अभिभावक पनि खुसी भएका छन् । आगामी दिनमा परियोजनाले शौचालय र भवन निर्माणका लागि समेत म सम्बन्धित पक्षसँग आग्रह गर्छु’ अध्यक्ष विकले भन्नुभयो ।

यस्तै ४ नम्बर वडाका अध्यक्ष दिपराज महताराले यस परियोजनाले आफूहरुलाई सोच्न बाध्य बनाएको बताउनुभयो । ‘आज भोलि मानिसहरु श्रमदान गर्न छोडिरहेका बेला यस परियोजनाले यति ठूलो श्रमदान जुटाएर बालमैत्री धारा बनाएको छ । आगामी दिनमा यसै वडाका अन्य विद्यालयले पनि यस्तै खाले धारा बनाउन आवश्यक छ’ उहाँले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक नैन बहादुर शाहीका अनुसार खानेपानीका कारण १ बजे देखि बालबालिका अनियमित हुने समस्या अहिले हटेको बताउनुभयो । बालबालिकाले रुचाउने उमेर अनुसारका ३ वटा धाराबाट बालबालिकाहरुले नियमित पानी पिउन पाएपछि खुसी भएको उहाँले बताउनुभयो ।

बालमैत्री धाराबाट २१ छात्रा र २२ छात्र गरी ४३ जना छात्रछात्रा तथा ४ जना शिक्षक लाभान्वित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार