स्रोत नभएको वस्तीमा खानेपानीको एउटै विकल्प लिफ्टिङ प्रविधि

 

विराटनगर :  बसाइँ सराइ रोक्न पहाडमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गर्न थालिएको छ। पहाडको फेदमा भएका मुहान र खोलाको पानी पम्पबाट माथि रहेका बस्तीसम्म पुर्याउन यो प्रविधि उपयुक्त भएकाले लिफ्टिङ आयोजना सञ्चालन गरेर पहाडका नागरिकको प्यास मेटाउने प्रयत्न गरिएको हो।

ताप्लेजुङ, पाँचथर, इलामलगायत पहाडी जिल्लाको माथिल्लो क्षेत्रमा खानेपानीको चरम समस्या हुन थालेपछि स्थानीय बासिन्दाको बसाइँ सर्ने क्रम बढ्दो छ। यो क्रम रोक्न सरकारले लिफ्टिङ आयोजना सञ्चालनका लागि पछिल्लो समय पहाडी सुख्खा क्षेत्रमा ठूलो रकम लगानी गरेको हो। अहिले पाँचथर, इलाम र धनकुटामा यस्ता आयोजनाका लागि लगानी भएका छन् भने ताप्लेजुङको फुङलिङ नगरपालिका–२ मा आयोजना सञ्चालनका लागि प्रारम्भिक चरणको अध्ययन गरिएको छ।

पाँचथरको सुख्खाग्रस्त क्षेत्रका मानिसलाई पानी पुर्याउने उद्देश्यले तीनवटा लिफ्टिङ खानेपानी आयोजना निर्माण भइरहेको छ। यी आयोजनाको काम सम्पन्न भएपछि पाँच हजार चार सय ९७ घरमा खानेपानी पुग्नेछ। ‘लिफ्टिङ खानेपानी आयोजनाको काम हुन थालेपछि यहाँबाट बसाइँ जानेको संख्या घटेको छ,’ स्याबरुम्बाका टंक पौडेलले भने, ‘घरमै पानी आउँछ भन्ने आसमा मानिस रोकिएका हुन्। लिफ्टिङ आयोजनाको काम नभएको भए बस्ती रित्तो भइसक्थ्यो।’

कुम्मायक गाउँपालिकामा निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा छ। ४० करोड ४४ लाख ४७ हजार रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो। आयोजनाबाट कुम्माय गाउँपालिकाका तीन हजार ४३ घरमा पानी पुग्ने प्रेरणा स्वामीनारायण जेभी निर्माण कम्पनीका साइड इन्चार्ज लोकेन्द्रराज भण्डारीले जानकारी दिए। तमोर नदीको लुमुघाटमा मुहान थापेर पम्पिङ गरी बस्तीसम्म पानी ल्याउन संरचना निर्माण गरिएको हो। आयोजनाबाट कुम्मायक गाउँपालिकास्थित स्याबरुम्बा, रानीगाउँ र यासोक क्षेत्रका बासिन्दा लाभान्वित हुन्छन्। यहाँ सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। यो खबर अन्नपूर्ण दैनिकबाट लिएका हौं ।

तुम्बेवा गाउँपालिकामा पनि लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको छ। ‘आङ्ना मौवा बृहत् तमोर लिफ्ट खानेपानी आयोजना’ बाट यहाँका एक हजार ६ सय घरमा पानी पुर्याउन लागिएको उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खत्रीले बताए। ४५ करोडको लागतमा निर्माण थालिएको आयोजनाबाट आङ्ना र मौवाका प्रत्येक घरमा पानी पुर्याउने तयारी गरिएको छ। आयोजना प्रमुख चन्द्रनारायण चौधरीका अनुसार धमाधम काम भइरहेको छ।

लुम्फाबुङ नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजनाको भर्खरै शिलान्यास भएको छ। फिदिम नगरपालिका–९ र फाल्गुनन्दा गाउँपालिका–१ नवमीडाँडाका बासिन्दालाई पानी पुर्याउने उद्देश्यले यो आयोजनाको काम सुरु गरिएको हो। २१ करोड २० लाख ७२ हजार सात सय ८६ रुपैयाँ खर्चिएर यहाँका आठ सय ४४ घरमा पानी पुर्याउन लागिएको हो।

मेची राजमार्गको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाको सिमाना छुने हर्कटे बजारमा घर बाक्लिँदै छन्। स्थानीय अगुवालाई पानीको प्यास मेटाउने चिन्ताले निकै पिरोल्ने गरेको छ। हर्कटे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव टीकाराम अधिकारीले भने, ‘विद्युत् आएन भने हाहाकार सुरु हुन्छ। सत्र वर्षअघि बजारमुनिको पानी कन्याम डाँडामा तानेर प्यास मेट्ने प्रयास गरेका स्थानीयलाई बढ्दो होटल र जनघनत्वको चापले झनै पिरोलेको छ।’

रोङ–३ र सूर्योदय–६ र ७ का १६२ धारामा नियमित पानी झार्न अहिलेसम्म २ करोड ५० लाख खर्च भइसकेको छ। उनले भने, ‘मुहान खोजेर पानी सहज बनाउने प्रयास भइरहेको छ।’ हर्कटेका बासिन्दा सूर्योदय नगरपालिका–६ नागधाराको पानी पाँच सय मिटरमाथिको कन्याम डाँडामा जम्मा गरेर उपभोक्ताको घरमा पुर्याइरहेका छन्। यसरी पुगेको पानीको शुल्क घरमात्रै भएकाले मासिक औसत ५ सयदेखि होटल सञ्चालकले ५ हजारसम्म बुझाउने गरेका छन्। बजारमा अहिले दैनिक ५० हजार लिटर पानी खपत हुने गरेको सचिव अधिकारीले बताए। यसबाट मासिक ३५ हजार रुपैयाँ शुल्क उठ्ने गरेको उनले बताए।

रोङ–३ को ह्याकुले मुहानबाट पानी तान्न गत वर्षदेखि नै काम सुरु भएको छ। ह्याकुलेको पानी ९ सय मिटरमाथिको हर्कटे बजारमा ल्याउन अझै समय लाग्ने अधिकारीले बताए। ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का लागि प्रारम्भिक चरणको अध्ययन पूरा गरिएको छ। वडाध्यक्ष मोहन न्यौपानेका अुनसार ४० हजार खर्चेर अध्ययन पूरा गरिएको हो। तमोर नदीबाट दुई किलोमिटर माथि पानी पुर्याउन करिब चार करोड खर्च लाग्ने अनुमान छ। लिफ्टिङ आयोजना सञ्चालनका लागि पहल भइरहेको न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार