सुकेको ढुंगे धारामा पानी झार्ने यस्तो छ ललितपुर महानगरपालिकाको योजना

 

ललितपुर : ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा पानी आउने बनाउन त्यस सम्बन्धी योजना अघि बढाएको छ। महानगरले ढुंगेधाराको संरक्षणका लागि यस सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । ढुंगेधारामा पानी ल्याउनका लागि तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहान संरक्षण नभएकाले पानी आउन छोडेको बताउनुभयो। उहाँले भन्नुभयो  ‘मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर ती धारामा पानी ल्याउँछौ। ’

ललितपुर महानगर  ६ र १७ मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने प्रमुख महर्जनले बताउनुभयो।

तीन वटा धाराको मुहान नाय्ख्यमा छ। नाय्ख्य ललितपुर महानगरको १५ मा पर्दछ । जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताउनुभयो। मृततुल्य भएका ढुंगेधारामा पानी ल्याउनका लागि राजकुलोलाई पुनर्जिवित गर्नुपर्ने उहाँले बताउनुभयो। टिकाभैरवमा रहेको राजकुलो सुनाकोठी सम्म व्यवस्थित छ।

उहाँले भन्नुभयो ‘राजकुलोलाई ल्याउन सके ललितपुरका सबै ढुंगेधारामा पानी आउँछन्।’ जोशीले प्रस्तुत गर्नुभएको अध्ययन प्रतिवेदनले ललितपुर महानगरपालिका भित्रका ११ वटा ढुंगेधारामा पानी ल्याउन सकिने सम्भावना औल्याएको छ । ती ढुंगेधारामा अहिले पानी आउँदैन।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजना अघि बढाएको बताउनुभयो। उहाँले भन्नुभयो  ‘सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं।’ ललितपुर महानगर  ६ र १७ मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने प्रमुख महर्जनले बताउनुभयो।

महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको बताउनुभयो। उहाँले भन्नुभयो ‘यो काम सुरु गर्न अब ढिला गर्नु हुदैन, पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ, त्यो भनेको राजकुलोलाई पुनर्जिवित बनाउनु हो, त्यस तर्फ पनि काम थाल्नुपर्छ।’

महानगरका इन्जिनियर रुद्र गौतमले महानगरको योजनाले सहरलाई सजीव र सुन्दर बनाउने दावी गर्नुभयो। उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई जिम्मेबार बनाउनुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा वडा १५ का अध्यक्ष सुदर्शन मिश्रले ढुंगेधाराको संरक्षणमा गर्न कानुन निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार कानुन भए त्यसकै आधारमा दण्डित र पुरस्कृत गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार