पानी युद्धको बढ्दो जोखिम

वातावरणीय प्रदूषणका जोखिमबारे अहिले समाजमा जनचेतना धेरै बढेको छ । यो राम्रो हो । वायुको कमजोर गुणतस्तरले धेरै स्थानमा निराशाजनक अवस्था सिर्जना गरेको छ । भारतमा त वायुको स्तर यति खस्कियो कि सार्वजनिक स्वास्थ संकटको घोषणा गर्नुपर्ने अवस्था निम्तियो । तर, प्रदूषणजस्तै गम्भीर समस्या बनेको छ, ताजा पानीको अभाव ।

झन्डै १ अर्ब ८० करोड जनसंख्या मानिस मलमूत्रबाट प्रदूषित स्रोतबाट पिउने पानी संकलन गरिरहेका छन् ।

हुन त पृथ्वीमा पानीको प्रचुरताको कारण यसलाई ‘नीलो ग्रह’ पनि भनिन्छ । तर, पृथ्वीको कुल पानीमध्ये ३ प्रतिशतभन्दा थोरै मात्र उपभोग गर्न सकिन्छ । सन् १९६० यता प्रतिव्यक्तिको हिस्सामा पर्ने ताजा पानीको परिमाण आधाभन्दा बढीले घटिसकेको छ । त्यस्तै, विश्वका ४० प्रतिशत जनसंख्याले पानीको अभाव भोगिरहेका छन् । अध्ययन अुनसार सन् २०३० सम्म, ताजा पानीको माग आपूर्तिभन्दा ४० प्रतिशत बढी हुनेछ ।

झन्डै दुईतिहाइ ताजा पानी नदी र तालबाट प्राप्त भइरहेको वर्तमान अवस्थामा पानीमाथिको दबाबले एक दुश्चक्र सुरु गर्छ । मुलुकहरू पानी आपूर्तिका लागि प्रतिस्पर्धा गर्छन् । यसले थप दबाब र प्रतिस्पर्धा निम्त्याउनेछ । आज, पानीसम्बन्धी सयौँ अन्तराष्ट्रिय सम्झौता जोखिममा छन् । चीन, भारत र बंगलादेश ब्रह्मपुत्र नदीलाई लिएर विवादमा फसेका छन् । एसियाको सबैभन्दा ठूलोमध्ये एक ब्रह्मपुत्र नदीका ठाउँ–ठाउँमा चीन र भारत सक्रियतापूर्वक बाँध लगाइरहेका छन् ।

अघिल्लो वर्ष दक्षिण अफ्रिकाको केप टाउनले पानीको यस्तो विषम अवस्था भोग्यो कि त्यहाँको नगरपालिकाले पानी आपूर्ति बन्द हुने ‘डे जिरो’का लागि तयारी सुरु गरेको थियो (धन्न उपभोगमा नियन्त्रण र अन्य सरकारी कदमले त्यस्तो दिन आएन) । मेक्सिको सहर वर्षौंदेखि पानी संकटसँग जुधिरहेको छ ।

यसले पानीको बाँडफाँड सम्बन्धमा भय उत्पन्न गरेको छ । भारत सरकार नदीको बहावलाई परिवर्तन गरेर पाकिस्तानको भूमिबाट भएका आतंकवादी आक्रमणको बदला लिइरहेको छ । इथियोपियाले नाइलमा बनाएको बाँधले तल्लो तटीय क्षेत्र इजिप्टमा बसोवास गर्ने मानिसलाई रुष्ट बनाएको छ । अन्तर–सिमाना द्वन्द्व पानी विवादको एक पाटो मात्र हो ।

एउटै देशभित्र पनि पानीलाई लिएर सहर र गाउँबीचमा तनाव बढिरहेको छ । त्यस्तै, कृषिजन्य क्षेत्र, उद्योग र घरायसी उपयोगबीचमा पनि तनाव छ । अघिल्लो वर्ष पानीको खडेरीले उत्तरी अफ्रिकाका केही क्षेत्रमा लडाइँ भड्कियो । त्यो भेगको इतिहासमा पनि पानीको पहुँचको लागि जातीय द्वन्द्व भएको भेटिन्छ । वास्तवमा संसारका प्रमुख नदीलाई लिएर इतिहासमा कैयौँ द्वन्द्व भए । यसमा नाइल, मेकङ र डेन्युवसमेत समावेश छन् ।

जलवायु परिवर्तनले वर्षाको शैली बदलिरहँदा यस्तो द्वन्द्व थप विकराल र तीव्र हुन सक्छ । सीमित पानीको भण्डारलाई उद्योगबाट निस्कने फोहोर, प्लास्टिक, मानव मलमूत्रजस्ता प्रदूषणले झन् प्रदूषित बनाउने गर्छ । मध्यम आय भएका देशमै पनि एकतिहाइ फोहोर पानी मात्र पुनः प्रशोधित गरिन्छ । न्यून आय भएका राष्ट्रमा यस्तो प्रशोधन एकदम नगन्य हुन्छ ।

 

झन्डै १ अर्ब ८० करोड जनसंख्या मानिस मलमूत्रबाट प्रदूषित स्रोतबाट पिउने पानी संकलन गरिरहेका छन् । भूमिगत पानीको स्रोतमा ह्रास आइरहँदा र पानीसम्बन्धी पूर्वाधारमा पर्याप्त लगानी नहुँदा समस्या झनै बढेको छ ।

पानीमाथि भार पर्दा सबैलाई असर पर्छ । तर, पानीको आपूर्तिमा हुने दबाबका कारण कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित छ । किनकि विश्वभरि हुने कुल पानीको उपभोगमा कृषि क्षेत्रमा मात्रै ७० प्रतिशत हिस्सा उपयोग हुन्छ । न्यून विकसित मुलुकका कृषि क्षेत्रमा ९० प्रतिशतसम्मै पानी प्रयोग भएका छन् । पानीको अभाव हुँदा खेतीपाती र मानव उपभोगकै लागि पानी कम पर्ने भएकाले वस्तुभाउ पाल्न कठिन हुन्छ ।

 

सहरी क्षेत्र पनि विध्वंशतर्फ अघि बढिरहेको छ । अघिल्लो वर्ष दक्षिण अफ्रिकाको केप टाउनले पानीको यस्तो विषम अवस्था भोग्यो कि त्यहाँको नगरपालिकाले पानी आपूर्ति बन्द हुने ‘डे जिरो’का लागि तयारी सुरु गरेको थियो (धन्न उपभोगमा नियन्त्रण र अन्य सरकारी कदमले त्यस्तो दिन आएन) । मेक्सिको सहर वर्षौंदेखि पानी संकटसँग जुधिरहेको छ ।
भारतका महानगरहरू झन् ठूलो संकटतर्फ अघि बढिरहेका छन् । सन् २०१८ को एक सरकारी रिपोर्टले देशको राजधानीसमेत २१ ठूला सहरको भूमिगत पानीको स्तर शून्यमा पुग्ने चेतावनी दिएको छ । यसले १० करोड मानिस प्रभावित हुन्छन् । जलवायु परिवर्तनले जस्तै पानीसंकटको सबैभन्दा नकारात्मक प्रभाव विश्वका सबैभन्दा गरिब क्षेत्रका मानिसलाई पर्नेछ । त्यो भाग विशेषतः अफ्रिका र दक्षिण तथा केन्द्रीय एसियाली क्षेत्र हुनेछ ।

ग्रामीण महाराष्ट्रको एक भागमा महिला र युवतीहरू पिउने पानीको स्रोतसम्म २५ किलोमिटरसम्मको दूरी हिँड्ने गर्छन् । अन्य गाउँमा स्थानीय इनार सुक्दै गर्दा घरका मानिसले एकजनालाई पानी संकलन गर्ने पूर्णकालीन काममा लगाउन थालेका छन् । उता, सम्पन्न अर्थतन्त्रले यस्तो पानीको अभावको खतराको अनुमान नगरेको मात्र होइन, तिनले विलासी जीवन बिताइरहेका छन् । त्यसले गर्दा नै जलवायु परिवर्तन र वातावरणीय ह्रास तथा पानीको अभावलाई बढाइरहेको छ ।

 

धान खेतीलाई धेरै ठाउँमा पानीको अत्यधिक उपयोग गर्ने क्षेत्रका रूपमा उल्लेख गरिन्छ । तर, एक किलो मासुका लागि एक किलो धान उत्पादन गर्नभन्दा पाँच गुणा पानीको आवश्यकता हुन्छ ।

अझ एक किलो आलु उत्पादन गर्न एक किलो धान उत्पादन गर्न भन्दा १ सय ३० गुणा बढी पानीको उपभोग हुन्छ । विश्वका धेरै विकासोन्मुख देशको निर्यातको ठूलो हिस्सा कृषि खाद्यान्न हुने भएकाले तिनले सीमित पानीको स्रोतलाई निर्यात गरिरहेका हुन्छन् ।

 

अहिले अफ्रिकामा जमिन हत्याउने विदेशी राष्ट्रको होडबाजी पनि पानीसँगै जोडिएको छ । विदेशी लगानीकर्ताले ठूला नदी, विशाल ताल, सिमसार क्षेत्र र भूमिगत पानीलाई निशाना बनाइरहेका छन् । सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रले दिगो विकास लक्ष्य अंगीकार गरे । त्यसमा ‘पानीको उपलब्धता तथा दिगो व्यवस्थापन प्रत्याभूत गराउने’ प्रतिबद्धता पनि समावेश छ । तथापि, पछिल्लो चार वर्षमा अवस्था झन् बिग्रिएको छ ।

लेखक : जयती घोष

साभार  :नयाँ पत्रिका दैनिक

जयती घोष जवाहरलाल नेहरू विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार