घिमिरेथोक, दाहालथोक र दाहालडाँडा पूर्ण सरसफाइ नमुना गाउँ घोषणा

 391 पटक हेरिएको

 

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ६ को घिमिरेथोक, दाहालथोक र दाहालडाँडालाई पूर्ण सरसफाइ नमुना गाउँ घोषणा गरिएको छ । ५९ घरपरिवारको बसोबास रहेको घिमिरेथोक, दाहालथोक र दाहालडाँडा गाउँले पूर्ण सरसफाइ मार्गदर्शन – २०७३ का ७ वटा सूचकहरु मध्ये ५ वटा सूचकहरु पुरा गरेकोले वडा नं. ५ का वडा अध्यक्ष अनन्तराम नेपालको प्रमुख आतिथ्यमा मंगलबार ती टोलहरुलाइ स्वस्थ नमूना टोल घोषणा गरिएको हो ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहयोग र डिकोन नेपालको सहजिकरणमा सञ्चालित नमूना समुदाय निर्माण कार्यक्रम अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का २२१ घर परिवारको वसोवास रहेको डवली समुदायमा बैशाख महिना देखि नमुना समुदाय निर्माण गर्ने उद्देश्यले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

 

बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ लाई नुवाकोटकै पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने अभियानमा सहयोग गर्न वडा अध्यक्ष नेपालले सबैलाई आग्रह गर्नुभयो । ‘सन २०३० भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त राष्ट्र घोषणा गर्ने सरकारको लक्ष्य पुरा गर्ने दायित्व निर्वाह गर्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारको भएको हुँदा पूर्ण सरसफाइ अभियानलाई सफल पार्न स्थानीय सरकारको नाताले बेलकोटगढी नगरपालिका र वडा कार्यालय प्रतिबद्ध छ ।’उहाँले भन्नुभयो ।

त्यसै गरी डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्यले नुवाकोट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने दायित्व पुरा गर्न बिगतमा डिकोन नेपालले खेलेको भूमिकाको स्मरण गर्दै नुवाकोटलाई पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने अभियानमा पनि स्थानीय सरोकार निकाय र जिल्लावासीहरुको सहयोग पाउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले बिभिन्न दातृ निकायको सहयोगमा डिकोन नेपालले बिदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका र किस्पाङ्ग गाउँपालिकामा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको नेतृत्व र स्थानीय पालिकाको समन्वय र सहकार्यमा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

 

नमूना स्वस्थ समुदाय निर्माण अभियान मूल समितिका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको घोषणा समारोहमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सहायक कार्यक्रम अधिकृत अजय नकर्मी, कामरुदेवी माद्यमिक बिद्यालयका अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, निमित्त प्रधानाध्यापक नारायण नेपाल, डवली टोल सुधार समितिका अध्यक्ष श्यामलाल श्रेष्ठ लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थीहरुको ब्यापक सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार