चण्डेनी – काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका वडा नं. १० चण्डेनीलाई नमूना स्वस्थ समुदाय घोषणा गरिएको छ । मंसिर ३० गते एक समारेहका बीच नगरपालिकाका मेयर टोक बाहादुर वाइबाले चण्डेनीलाई नमूना स्वस्थ समुदाय घोषणा गर्नुभयो ।
फ्याफुल्ला खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत रहेका नेपालथोक, श्रीचौर र सुलिकोट गाउँपालिका, सहयोगी संस्था एन्फो, शान्ति जनआदर्श सेवा केन्द्र लगायत सरोकारवाला निकाय, संघ संस्थाहरुले सरसफाइ स्थिति अनुगमन गरे पछि प्राप्त उपलब्धीको आधारमा उक्त समुदायलाई नमूना स्वस्थ समुदाय घोषण गरिएको हो ।
समुदायले शुद्ध खानेपानी, शौचालयको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, र जोखिमपूण अवस्थामा साबुन पानीले हात धुने बानीव्यवहार अन्तरगतका १५ वटा सरसफाइ सूचकहरु पुरा गरेका थिए । नेपाल खुल्ला दिसामुक्त घोषण भए लगतै पूर्ण सरसफाइ अभियान अन्तर्गत चण्डेनीमा नमूना स्वस्थ समुदाय अभियान संचालन गरिएको थियो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शान्ति जनआदर्श सेवा केन्द्रको सहयोगमा संचालित नमूना स्वस्थ समुदाय अभियानले समुदायमा सरसफाइ बानीव्यवहार परिवर्तन सम्बन्धी जनचेतना अभिबृद्धि गराएका थिए । नमूना स्वस्थ समुदाय घोषणा सँगै चण्डेनी जिल्लाको पहिलो सरसफाइ नमूना गाउँ बनेको छ ।
चण्डेनीलाई नमूना स्वस्थ समुदाय घोषणा संगै नगरपालिकाका मेयर वाइवाले जनस्वास्थ्य र सरसफाइ क्षेत्रको विकास भन्दा ठुलो विकास अरु हुन नसक्ने बताए । उनले जनता स्वस्थ नभए सम्बृद्धिको कल्पना गर्न नसकिने बताए । नगरपालिका अन्तर्गत एक घर एक धारा, भुकम्प आवास निर्माण, सरसफाइ जनचेतना र आयआर्जन लगायतका कार्यक्रमहरु संचालन गरी शान्ति जनआदर्शले नगरको विकासमा अमूल्य सहयोग पुर्याएको बताए ।
आगामि दिनहरुमा नगरले गैससहरु संग समन्वय र सहकार्य गरि नगरको विकासमा साझेदारी गर्ने बताए ।
शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले सरसफाइले चण्डेनी गाउँ र मण्डनदेउपुर नगरपालिकाको प्रतिष्ठा बढाएको बताए । मण्डनदेउपुर नगरपालिका र रोशि गाउँपालिकालाई सरसफाइ युक्त नगर र गाउँपालिका घोषणा गराउन संस्थाले १५ घरधुरीमा सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन अभियान संचालन गरेको बताए ।
वडा स्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष एवम् वडाध्यक्ष विष्णुमणी नेपालले चण्डेनीलई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको भन्दै संचालित सरसफाइ अभियान र नमूना स्वस्थ गाउँ घोषणाले पर्यटन क्षेत्र विकासमा सहयोग पुग्ने बताए । एक हातले तालि नबज्ने भन्दै वडाको विकासमा जनसहभागिता महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)का सरसफाइ अधिकृत रोहित ढकाल, शान्ति जन आदर्श सेवा केन्द्रका सरसफाइ अधिकृत कमल तामाङ, स्थानिय कुमार मोक्तान, श्याम तामाङ, कृष्ण बाहादुर दोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।