सांसद तामाङको टोलीद्वारा खानीपानी आयोजना निरीक्षण, निर्धारित समय अगावै निर्माण सम्पन्न हुने

 1377 पटक हेरिएको
🔗
10
Shares

 

सिन्धुपाल्चोक : पूर्व मन्त्री एवं संघीय सांसद शेर बहादुर तामाङको टोलीद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन विभिन्न खानेपानी आयोजनाको निरीक्षण गरिएको छ । सांसद तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख एवं सहसचिव नन्दलाल बन्जाडे र आयोजना सँग सम्बन्धित सरोकारवाला सहितको टोलीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा निर्माणाधीन जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना र जुगल – थालखर्क–होल्चे खानेपानी तथा सरसफाइ आयोजनाको निरीक्षण गरिएको हो ।

सम्झौता अनुसार २०७७ असार २४ गतेसम्म सम्पन्न गर्नुपर्ने भएपनि २०७६ सालभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

निरीक्षणका क्रममा सांसद तामाङले खानेपानी आयोजनाको विस्तृत जानकारी हासिल गर्नुभयो । उहाँले जाडेखोलाको पानीले मात्र बढ्दो जनसंख्याको मागलाई धान्न नसके भविश्यमा अवलम्बन गर्न सकिने  उपायका बिषयमा आयोजना प्रमुख बन्जाडेसँग परामर्श गर्नुभयो ।

सुनकोशीको पानी पनि लिफ्ट गरिने

आयोजना प्रमुख बन्जाडेले सुरुमा खानेपानी मुहानको विवादले केही माथि सार्नुपरेकोले पानीको मात्रा केही घट्न सक्ने भएकाले सुनकोसीको केही पानी लिफ्ट गरी प्रशोधन केन्द्रमा थप गरिने जानकारी गराउनुभयो । सुनकोशीको पानी लिफ्टिङ गरी प्रशोधनशालामा मिसाउँदा पम्पको क्षमता बाहेक हालकै संरचनाले काम गर्ने उहाँले बताउनुभयो । ‘पानी प्रशोधन गरी पिउन योग्य खानेपानी चौबीसै घण्टा उपलब्ध गराउँदा अहिलेको पानीले मात्र अपुग हुनसक्छ, यसका लागि सुनकोशीको पानी लिफ्ट गरी वितरण गर्न सकिनेछ । साथै प्रशोधनशाला पुग्न पहुँच मार्ग निर्माण गर्नुपरेकाले समय र लागत केही बढ्न गएको छ’ उहाँले भन्नुभयो ।

निरीक्षणकै क्रममा सुनकोशीबाट जाडेखोलामा निर्माण भईरहेको प्रशोधनशालामा पानी लिफ्ट गर्न सम्भाव्यता अध्ययन समेत गरिएको छ ।

निरीक्षण टोलीद्वारा सिन्धुपाल्चोकको सदरमुकाम चौताराका बासिन्दाले खानेपानी उपभोग गर्दै आएको जुगल – थालखर्क–होल्चे खानेपानी तथा सरसफाइ आयोजनाको समेत निरीक्षण गरिएको छ । भूकम्प पछि खानेपानी मुख्य लाइन नै विच्छेद भएपछि जाइकाद्वारा पुनःनिर्माण गरिएको खानेपानीको प्रशोधन केन्द्रबाट पानी चुहावट हुने समस्या भएपछि सांसद तामाङको टोलीले उक्त खानेपानीको प्रशोधन केन्द्रको समेत निरीक्षण गरिएको हो ।

निर्धारित समय अगावै निर्माण सम्पन्न हुने

खानेपानी आयोजना निर्माण जिम्मा पाएको सगरमाथा ड्रिलिङ एण्ड कन्ट्रक्सन कम्पनीले २०७६ सालभित्रै निर्माण सम्पन्न गरी खानेपानी वितरण गर्ने जनाएको छ । ‘निर्माण कम्पनीले फागुन मसान्तभित्रै निर्माण सम्पन्न गरी पानी वितरण गर्ने भनेको छ, फागुन भित्र नभएपनि चैत्र मसान्तभित्रमा सम्पन्न हुन सक्ने सम्भावना देखियो’ आयोजना प्रमुख बन्जाडेले भन्नुभयो ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सचिनकुमार मिश्रका अनुसार ५ वटा मुख्य ट्याङ्की मध्ये पाँच वटै सम्पन्न भईसकेको छ । यस्तै ९ वटा वितरण ट्याङ्की पनि निर्माण सम्पन्न भईसकेको छ । उहाँका अनुसार ७६ किलोमिटर वितरण पाईपलाइन र १३ किलोमिटर मुख्य पाईपलाइन मध्ये ७ किलोमिटर मात्र विछ्याउन बाँकी छ । ती मध्ये वितरण पाईप ५ किलोमिटर र मुख्य पाइप २ किलोमिटर विछ्याउन बाँकी रहेको प्रोजेक्ट म्यानेजर मिश्रले बताउनुभयो ।

‘यत्ति काम हुँदा हाम्रो भौतिक प्रगति ८५ प्रतिशत र वित्तिय प्रगति ७३ प्रतिशत सम्पन्न भएको छ, हामी फागुन वा चैत्रभित्र निर्माण सम्पन्न गरी यहाँको घरघरमा पानी वितरण गर्न सक्छौं भन्ने विश्वास छ ।’ उहाँले भन्नुभयो ।

उपभोक्तालाई समयमै पानी वितरण गर्न दैनिक ९४ जना मिस्त्री र १० जना कर्मचारी मार्फत काम भईरहेको निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार दाहालले बताउनुभयो ।

जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीका अनुसार निर्माण कम्पनी मार्फत गर्नुपर्ने कामहरु सन्तोषजनक तरिकाले अगाडि बढिरहेको छ । उपभोक्ता समिति मार्फत गर्नुपर्ने धारा जडान, उपभोक्ता दर्ता लगायतको काम समेत माघको पहिलो हप्ताबाटै हुनेछन् ।

 

सम्झौता अनुसार २०७७ असार २४ गतेसम्म सम्पन्न गर्नुपर्ने भएपनि २०७६ सालभित्रै सम्पन्न हुने सगरमाथा ड्रिलिङ एण्ड कन्ट्रक्सन कम्पनीका इञ्जिनियर सचिनकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार भौतिक प्रगति ८५ प्रतिशत र वित्तिय प्रगति ७३ प्रतिशत सम्पन्न भईसकेको छ ।

सन् २०१७ मा गरिएको सर्वेक्षण अनुसार खानेपानी आयोजना सम्पन्न भएपछि चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १०, ११ र १२ का २ हजार २२२ घरधुरी लाभान्वित हुनेछन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार