यी हुन् वास क्षेत्रमा सन् २०३० सम्ममा गर्नुपर्ने मुख्य कामहरु

 1438 पटक हेरिएको
🔗
11
Shares

काठमाडौ : विश्व यत्तिबेला सन् २०२० को संघारमा छ अर्थात सन् २०३० आउन १० बर्ष मात्र बाँकी छ । सन् २०३० ले किन पनि विशेष महत्व राख्दछ भने सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाईएको छ । १७ वटा दिगो विकास लक्ष्य तोकिएकोमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी लक्ष्यको प्रतिनिधित्व दिगो विकास लक्ष्य नंं ६ ले गर्दछ । नेपालले सन् २०३० सम्ममा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा गर्नुपर्ने कामहरु के – के छन् त ?

 आधारभूत खानेपानी तथा सरसफाइ सेवामा सबै नेपालीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने,

 हालको अवस्थामा करिव ११ प्रतिशत जनसंख्या आधारभूत खानेपानी सेवाबाट अझै पनि बिमुख रहेकाले सोको लागि आवश्यक सेवाप्रणालीहरुको निर्माण गर्नुपर्ने,

 निर्माण सम्पन्न भएका आयोजनाहरु मध्ये झण्डै ३३ प्रतिशत आयोजनाहरुको सञ्चालनस्तर सन्तोषजनक नभएकाले यस्ता आयोजनाहरुको सुधार, बिस्तार र पुनर्स्थापन गरी पूर्ण सञ्चालनमा ल्याउनुपर्ने,

 मुलुकका सुख्खाग्रस्त क्षेत्रहरुमा बिशेष प्रकृतिका ठूला आयोजनाहरुको सञ्चालन गरी खानेपानी उपलब्धिको सुनिश्चितता गरिनुपर्ने,

 राष्ट्रिय जल योजना (सन् २००५) अनुसार नेपाल सरकारको सन् २०२७ सम्ममा ५० प्रतिशत जनसंख्यालाई मध्यम तथा उच्चस्तरको खानेपानी सेवा उपलब्ध गराउने नीतिगत प्रतिबद्धता अनुरुप प्रदुषणमुक्त सुरक्षित खानेपानी व्यवस्थाका लागि गुणस्तर सुधार गर्न पानी प्रशोधन प्रणाली निर्माण गर्नुपर्ने,

 तराईका २२ जिल्ला लगायत काठमाण्डौंको भूमिगत पानीमा समेत देखापरेको प्राणघातक आर्सेनिक प्रदुषण नियन्त्रणका लागि एकिकृत तथा बृहत्तर कार्यक्रम सञ्चालन गरिनुपर्ने,

 परिवर्तित जीवनशैली, गार्हस्थ्य, वाणिज्य र औद्योगिकस्तरमा पानीको उपभोगमा भएको बृद्धि तथा वातावरणीय परिवर्तनका कारणबाट उत्सर्जन भएका फोहोर पानीको समुचित व्यबस्थापन गर्न शहरी तथा जनघनत्व बढी भएका स्थानहरुमा ढल प्रणाली र प्रशोधन केन्द्रहरुको बिकास र बिस्तार गर्नुपर्ने,

 दीगो विकास लक्ष्यले अंगिकार गरेका ६ वटा क्षेत्रहरुः सर्वसुलभ तथा सुरक्षित खानेपानी, दीगो तथा समतामुलक सरसफाइ, जलप्रदुषण नियन्त्रण तथा जलगुणस्तर, पानीको समुचित प्रयोग, जलश्रोतको एकिकृत व्यवस्थापन तथा जल पर्यावरण अन्तर्गतका उद्देश्य प्राप्तीका लागि कार्यक्रमको सञ्चालन गरिनुपर्ने,

 सन् २०३० का लागि निर्देशित गरिएको दिगो विकास लक्ष्य ६ सम्बन्धी विशेष परिमाणात्मक लक्ष्यहरुमा आधारभूतस्तरको खानेपानी सेवामा १०० प्रतिशत परिवारको पहुँच पुर्याउने, उच्च तथा मध्यमस्तरको खानेपानी सेवामार्फत ९० प्रतिशत जनसंख्यालाई सुरक्षित पानी उपलब्ध गराउने र मानव मलमूत्रजन्य घरायसी, औद्योगिक र संघ संस्थाबाट उत्सर्जित सहरी क्षेत्रको ५० प्रतिशत फोहोरपानी प्रशोधन गरी सुरक्षित रुपमा विसर्जन गर्ने लक्ष्य हासिल गर्नुपर्ने,

 नेपालको पन्ध्रौं योजनाको आधारपत्र अनुसार आव २०८०/८१ सम्ममा १०० प्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पुगेको हुने, करिब ४० प्रतिशत नागरिकहरुलाई उच्च तथा मध्यमस्तरको सुरक्षित खानेपानी सेवा उपलब्ध भएको हुने, खुला दिसामुक्त क्षेत्र घोषणा भएका क्षेत्रहरुमा पूर्ण सरसफाइ उन्मुख क्रियाकलापहरुले निरन्तरता पाउने र घरायसी, औद्योगिक र अन्य मानवजन्य गतिविधिहरुबाट उत्सर्जित २० प्रतिशत फोहोरपानी प्रशोधन गरी निष्काशन एवं विसर्जन भएको हुने जस्ता प्रतिफलहरु हासिल गर्नुपर्ने ।

– ‘खानेपानी र सरसफाइ विधेयक सम्बन्धी छलफल कार्यक्रम’ का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको प्रस्तुतीकरणबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार