ट्रिटमेन्ट प्लान्ट बिनाका खानेपानी योजना नबनाऔं : कार्यकारी निर्देशक धिताल

 2893 पटक हेरिएको
🔗
26
Shares

 

काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक चोक प्रसाद धितालले उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच बढाउन खानेपानी आयोजना निर्माण गर्दा ट्रिटमेन्ट प्लान्ट सहितको बनाउन आग्रह गर्नुभएको छ । ट्रिटमेन्ट प्लान्ट सहितको खानेपानी उपलब्ध नगराउँदासम्म उच्च तथा मध्यमस्तरको खानेपानीमा पहुँच नबढ्ने भएकाले खानेपानी योजना बनाउने जुनसुकै निकायले टिट्मेन्ट प्लान्ट स्टिमेटमै समावेश गर्न आग्रह गर्नुभयो ।

‘हामी खानेपानीको गुणस्तरको कुरा गर्न छाड्दैनौं, तर ट्रिट्मेन्ट प्लान्ट चाहिं योजनामा समावेश गर्दैनौं । अनि कसरी पूरा हुन्छ गुणस्तरयुक्त खानेपानीको आपूर्ति ।’

महिला बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यक र सेवा पहुँचबाट बञ्चित वर्गको सरसफाइमा पहुँच सँग सम्बन्धित राष्ट्रिय नीति, कार्यक्रम एवं दिगो विकास लक्ष्य ६.१ र ६.२ को प्राप्तिका लागि गर्नुपर्ने कामहरुका बिषयमा छलफल गर्न वाटर एडको आर्थिक सहयोगमा गैरसरकारी संस्था महासंघ नेपालले आयोजना गरिएको गोष्ठीमा कार्यकारी निर्देशक धितालले आग्रह गर्दै भन्नुभयो ‘ट्रिटमेन्ट प्लान्ट बिनाका स्किम नबनऔं, योजना छनौट गर्ने बेलामै स्टिमेट गरौं ।’

उहाँले आफूले नेतृत्व गरिरहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले समेत अर्को चरणको कार्यक्रम सञ्चालन गर्दा प्रशोधन केन्द्रलाई अनिवार्य योजनामा समावेश गर्ने बताउनुभयो । ‘विश्व बैंकको मिसन आएको बेला मैल यस बिषयमा कुरा अगाडि बढाएको छु, अर्को चरणमा खानेपानीको गुणस्तर सुधार सम्बन्धी योजना बनाउनुहोस् भनेको छ । अर्को चरण कार्यान्वयनमा आउँदासम्म पनि म कार्यकारी निर्देशक रहें भने ट्रिटमेन्ट प्लान्ट बिनाको कार्यक्रम म स्वीकार गर्दिन ।’ उहाँले भन्नुभयो ।

‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ लागु भएको १४ बर्षको अवधिमा मापदण्डको कार्यान्वयन क – कसले गर्‍यो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो ‘हामी खानेपानीको गुणस्तरको कुरा गर्न छाड्दैनौं, तर ट्रिट्मेन्ट प्लान्ट चाहिं योजनामा समावेश गर्दैनौं । अनि कसरी पूरा हुन्छ गुणस्तरयुक्त खानेपानीको आपूर्ति ।’

‘अहिलेसम्म गैरसरकारी संस्था, विकास साझेदार, सरकारी निकाय कसैको पनि यसमा ध्यान गएको पाईदैन । अब निर्माण हुने खानेपानी योजनामा यसलाई अनिवार्य बनाऔं । २ करोडको खानेपानी आयोजना बनाउँदा थप २५ लाख खर्च गरेर ट्रिटमेन्ट प्लान्ट सहितको बनाऔं न, पछि बनाउँला भनेर राख्दा अहिले भन्दा लागत बढी पर्न जान्छ । त्यसैले पछि होइन, अहिले नै समावेश गरौं ।’ उहाँले आग्रह गर्नुभयो ।

सरकारले १५ औं योजनाको अन्त्य अर्थात २०८०/८१ सम्ममा उच्च तथा मध्यमस्तरको खानेपानीमा ४० प्रतिशत र सन् २०३० सम्ममा ९० प्रतिशत नागरिकको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । अहिले २१ प्रतिशत नागरिकले मात्र उच्च तथा मध्यमस्तरको खानेपानी सेवा प्राप्त गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार