कैलारी सुदुरपश्चिम प्रदेशको पहिलो पूर्ण सरसफाइयुक्त गाउँपालिका बन्ने अभियानमा

 1383 पटक हेरिएको

धनगढी :  कैलालीको कैलारी गाउँपालिका यतिखेर सुदुरपश्चिम प्रदेशकै पहिलो पूर्ण सरसफाइयुक्त गाउँपालिका बन्ने अभियानमा जुटेको छ । यसका लागि कैलारीका भल्मन्साहरूले गाउँघर सफा राख्न, घरघरमा चर्पी बनाउन, धारामा फर्स गर्न, भाँडा सुकाउने चाङ बनाउन, घर आँगन सफा राख्न तथा सडकमा वस्तुभाउ नबाँध्न निर्देशन दिएका छन् ।

कैलारी गाउँपालिकामा अधिकांश थारु गाउँ भएकाले भल्मन्साको यो निर्देशन गाउँलेहरूले पालना गरिरहेका छन् । प्रदेशमै पहिलो खुला दिसामुक्त गाविस बन्न सफल भएको पवेरा गाविसलाई समावेश गरी बनेको कैलारी गाउँपालिका पूर्ण सरसफाइयुक्त गाउँपालिकामा पनि पहिलो बन्ने दाउमा छ ।

कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाइ शाखा प्रमुख तर्कराज जोशीले प्रदेशको पहिलो पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने होडमा सिंगो गाउँपालिका लागेको बताउनुभयो । उहाँले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, भल्मन्सा र कर्मचारी सबै एकजुट भएर सरसफाइ अभियानलाई तीव्रता दिईरहेको बताउनुभयो

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले यसै आर्थिक वर्षभित्र पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने गरी प्रत्येक वडामा अभियान सञ्चालन गरिएको बताउनुभयो । बाटो, घर, आँगन सरसफाइ गर्नुका साथै गाउँपालिकाको मुख्य केन्द्रमा पाँच वटा सार्वजनिक शौचालय निर्माण गर्ने काम भइरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

आठ हजार घरधुरी रहेको गाउँपालिकामा पूर्ण सरसफाइको सूचक तयार गरिरहेको उहाँले बताउनुभयो । प्रत्येक घरमा चर्पी हुनुपर्ने, धारामा सर्फ अनिवार्य बनाउनुपर्ने, बाटोमा गाईभैंसी नबाँध्ने, सुरक्षित खानेपानी प्रयोग गरेको हुनुपर्ने, महत्पूर्ण अवस्थामा साबुनपानीले हातधुने, सुरक्षित खानाका लागि भान्साको सरसफाइ गरेको हुनुपर्ने लगायतको मापदण्ड राखिएको खानेपानी तथा सरसफाइ शाखा प्रमुख जोशीले बताउनुभयो ।

कैलारीका भल्मन्सा, आमा समूह, शिक्षक, युवा क्लब लगायतका व्यक्तिहरूले मापदण्डअनुसार गाउँपालिकालाई माघ महिनाभित्रै पूर्ण सरसफाइयुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता अनुसार भल्मन्साहरूले निर्देशन जारी गरेपछि काम पनि तीव्रगतिमा भइरहेको जोशीले बताउनुभयो । गाउँपालिका र गैरसरकारी संस्थाको साझेदारीमा गतवर्ष कम्तीमा डेढ सय मिटर गहिरो गाडिएको तीन सय नौं वटा नल्का हालिएको छ । यस वर्ष पनि दुई सय ६० वटा नल्का हाल्ने काम भइरहेको छ ।

सुरक्षित खानेपानीका लागि सुदूरपश्चिम प्रदेश सरकारले कैलारी गाउँपालिकामा ६ वटा ओभरहेड ट्यांकी सहितको खानेपानी योजना निर्माण गरिरहेको छ । तर कराडौंको रकम लाग्ने योजनामा लाखका दरले बजेट विनियोजन गरिँदा खानेपानी योजना निर्माण सुस्त छ । यस वर्ष दुईवटा खानेपानी योजनाले मात्र खानेपानी वितरण गर्न सक्ने खानेपानी तथा सरसफाइ शाखा प्रमुख जोशीले बताउनुभयो ।

पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउनका लागि प्रत्येक विद्यालयमा शौचालय सरसफाइका लागि एक हजार लिटरको पानी ट्यांकी, एउटा पानी तान्ने मोटर र धाराको व्यवस्था गर्ने योजना रहेको जोशीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार