खानेपानीको गुणस्तर र सेवाको सुधार गर्न विश्व बैंकसँग कुरा भईरहेको छ : कार्यकारी निर्देशक धिताल

काठमाडौ : चोक प्रसाद धिताल, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) मा कार्यकारी निर्देशक हुनुहुन्छ । ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र विश्व बैंक बीच भएको सम्झौता सकिन करिब ८ महिना मात्र बाँकी रहँदा कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएका धितालले २ महिना त व्यतित गरिसक्नुभएको छ ।

उहाँको काँधमा बाँकी समयभित्र सम्पन्न गर्नुपर्ने मुख्य २ वटा जिम्मेवारी छन् । यसअघि सम्झौता भए बमोजिम निर्माणाधीन अवस्थामा रहेका खानेपानी तथा सरसफाइ आयोजना सफल रुपमा सम्पन्न गर्नु र आगामी कार्यक्रमको मोडालिटी तयार पार्नु उहाँ सामु आएका मुख्य जिम्मेवारी हुन् ।

विश्व बैकसँग भएको सम्झौता बमोजिम निर्माणाधीन अवस्थामा रहेका खानेपानी तथा सरसफाइ आयोजनाहरुको कार्यान्वयन कसरी भईरहेको छ ? अब नयाँ कार्यक्रमको मोडालिटी के हुन्छ ? यसैको सेरोफेरोमा हामीले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक चोक प्रसाद धितालसँग कुराकानी गरेका छौं ।

हेर्नुहोस् यो भिडियो :

उहाँले ६ महिनासम्म अन्यौलता झेलेको फण्ड बोर्डले निर्धारित समयमै काम सम्पन्न गर्ने गरी काम गरिरहेको बताउनुभयो । कथंकदाचित एक दुई वटा आयोजना समयमै सम्पन्न नभएमा ६ महिना समय थप गर्नुपर्ने बिषयमा पनि कुरा भईरहेको उहाँले बताउनुभयो ।

नेपाल सरकार र विश्व बैंकबीच सन् २०१४ मा भएको सम्झौता बमोजिम हाल कार्यान्वयनमा रहेको ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना यही जुनमा सम्पन्न हुँदैछ ।

विकास ऐन २०१३ अन्तर्गत २०५२ साल चैत्र १ गते स्थापना भएको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले यस अघि ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना पहिलो मार्फत ९ सय आयोजना र ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना दोस्रो मार्फत १,४६५ आयोजना सम्पन्न गरी २३ लाख भन्दा बढी जनसंख्यालाई खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराईसकेको छ ।

नयाँ कार्यक्रमको सवालमा भने खानेपानीको गुणस्तर र सेवाको सुधारको बिषय समावेश गर्न विश्व बैंकको टोली सँग नियमित छलफल तथा कुराकानी भईरहेको उहाँको भनाई थियो ।

उहाँ सँग गरिएको कुराकानीको बाँकी अंश अर्को भागमा प्रकाशन गर्नेछौं । वास खबर हेर्दै गर्नुहोला ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार