भकुन्डेबेसी र खनालथोकका बासिन्दालाई पानी खुवाउन सम्भाव्यता अध्ययन

 

काभ्रेपलाञ्चोक : काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डेबेसी र साबिकको खनालथोक गाउँ विकास समितिमा सुख्खाक्षेत्र खानेपानी आयोजना सञ्चालन गर्ने बारे  सम्भाव्यता अध्ययन गरिएको छ । अर्थसचिव राजन खनाल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दास, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका आयोजना प्रमुख नन्द बन्जाडे, सुख्खा क्षेत्र खानेपानी आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर रामेश्वर घिमिरे, इन्जिनियर रमेश सत्याल लगायतको टोलीले खानेपानीको मुहान, खानेपानीको ट्याङ्की रहने स्थान र वितरण हुने बस्तीमै पुगेर सम्भाव्यता अध्ययन गरिएको हो ।

टोलीले खनालथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुसँग छलफल गरी भकुण्डेबेसी र खनालथोक क्षेत्रमा एउटै योजना अन्तर्गत २ वटा स्किम निर्माण गर्ने प्रारम्भिक सहमति जुटाएको छ । खनालथोक क्षेत्रका बासिन्दाले अहिले पनि रोशी खोलाको पानी लिफ्टिङ गरी भुलभुलेमा रहेको पानीलाई समेत जम्मा गरी पिउँदै आएका छन् ।

‘हामीले २०६७ सालदेखि नै लिफ्टिङ गरी खानेपानी पिउँदै आएका छौं, अहिले सम्म नमोबुद्ध नगरपालिकाको वडा नं. ७ तथा ६ र ८ को आंशिक भाग गरी ३१० घरपरिवारलाई खानेपानी वितरण गर्दै आएका छौं’ खनालथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार अहिलेको संरचनाबाट धुवाकोट, पौवा, काँक्रे, पिपलचौर, धर्मशाला, तल्लो हटिया बजार, विश्वकर्म टोल, सिग्देलथोक, बूढास्वाँरा, बरबोट, पानङखर्क, समुन्द्रे लगायतको बस्तीमा खानेपानी वितरण भईरहेको छ । प्रस्तावित सुख्खाक्षेत्र खानेपानी आयोजना सञ्चालन भएपछि भकुण्डेबजार, हर्कपुर, जयमंगलटार समेत गरी करिब १५ सय घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यस्तो बन्नेछ अबको नयाँ आयोजना

खनालथोक क्षेत्रका बासिन्दाले अहिले उपभोग गर्दै आएको खानेपानी आयोजनालाई केही बृहत बनाएर खानेपानी वितरण गरिनेछ । यसको मुख्य इनार (सम्पवेल) नमोबुद्ध नगरपालिका वडा नं. ६ को भण्डारे स्थित रोशी खोलाको किनारमा रहेको छ ।

यसबाट ६ तहमा पानी लिफ्टिङ गरिनेछ । दुई वटा इनारबाट जम्मा भएको पानी सुरुमा भूलभुलेमा निर्माण गरिएको ट्याङ्कीमा जम्मा गरिनेछ । जहाँ भूलभुलेमै रहेको मूलको पानी समेत जम्मा गरिएको छ ।

 

यो स्किम अन्तर्गत दोस्रो टयाङ्की हलेतेमा रहनेछ । एवं रीतले तेस्रो ट्याङकी सल्लेनी, चौथो काँक्रेको हस्पिटल डाँडा, पाँचौ ठूलधारा र सत्यालडाँडामा रहेको छैंटौं ट्याङ्कीमा पानी चढाईनेछ ।

सत्यालडाँडामा पानी जम्मा गरेपछि करिब ६ सय घरमा वितरण गरिनेछ । यद्यपि यो आयोजना नेपाल सरकार र धुलिखेल हस्पिटलको लगानीको ११ बर्ष अघि नै सुरु भएको आयोजना हो । हालसम्म सबै संरचना तयार भईसकेपनि सबै क्षेत्रमा खानेपानी वितरणको काम भने भएको छैन । उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठका अनुसार यो आयोजनामा करिब ७ करोड रुपैयाँ लगानी भईसकेको छ ।

दोस्रो स्किमको इनार पनि रोशी खोलामै बन्नेछ । एउटा इनारबाट मात्र पर्याप्त पानी जम्मा नहुने भएकाले यसका लागि पनि दुई वटा इनार बनाईनेछ । नमोबुद्ध नगरपालिकाको वडा नं. ६ स्थित खाक्सीबाट तीन तहमा लिफ्टिङ गरिएको पानी भकुण्डेबेसी, हर्कपुर, जयमंगलटार, नौबिसे लगायतको क्षेत्रमा वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

भकुण्डेबेसी इलाकामा शहरी खानेपानीको मापदण्ड अनुसार डिजाइन गरिने र खनालथोक र अन्य ग्रामीण क्षेत्रमा ग्रामीण खानेपानीको मापदण्ड बमोजिम डिजाइन गर्दा सजिलो हुने भएकाले छुट्टाछुट्टै स्किम तयार पार्न लागिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका आयोजना प्रमुख नन्द बन्जाडेले जानकारी दिनुभयो ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न खानेपानी विभागले परामर्शदाता खटाईने र प्रतिवेदन तयार भएपछि बोलपत्र मार्फत निर्माण कम्पनी छनौट गर्दा केही समय लाग्ने आयोजनाका इन्जिनियर रमेश सत्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार