बुटवल : तिलोत्तमा नगरलाई पोलिथिनमुक्त बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड जरिवाना गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न सरोकारवालाले सुझाव दिएका हुन् । तिलोत्तमा मिडिया क्लवले सोमबार मणिग्राममा आयोजनामा गरेको शून्य खुला पोलिथिन अभियानमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले फोहोर गर्नेलाई दण्ड–जरिवानाले मात्र व्यवहार परिवर्तन गराउने बताएका हुन् ।
कार्यक्रममा बोल्दै शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले अटेर गरी जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । नगरपालिकाले सञ्चालन गरेको शुन्य खुला पोलेथिन अभियान अत्यन्त सान्दर्भिक रहेको भन्दै उहाँले यो मानिसको व्यवहार परिवर्तनसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।
यस्तै आनन्दवन–शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केशवराज न्यौपानेले खुला दिसामुक्त अभियान जस्तै शुन्य खुला पोलिथिन अभियान पनि सफल हुने बताउनुभयो । जथाभावी फोहोर फ्याक्नेलाई टोल विकास संस्था मार्फत जरिवाना तिराउने व्यवस्था मिलाउन सके प्रभावकारी हुने उहाँले बताउनुभयो ।
अन्तरक्रियामा छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेलले नगरपालिकाले सञ्चालन गरेको अभियानबाट किसानहरु सबैभन्दा बढी हर्षित भएको बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन सिंचाई प्रणालीले नहर तथा शाखा कुलाहरुमा रहेको पोलिथिनजन्य फोहोर उठाउन विशेष कार्यक्रम सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।
वास सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले पोलोथिनजन्य फोहोरलाई नजलाउन नगरबासीलाई आग्रह गर्दै फोहोर व्यवस्थापनमा सहकारीले कार्यक्षेत्र बढाउँदै लैजाने बताउनुभयो । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सम्पूर्ण रुपमा प्लाष्टिकजन्य सामानको प्रयोगमा निषेध नगरेको स्पष्ट पार्दै पोलिथिनजन्य फोहोरलाई उचित व्यवस्थापन गर्न खोजेको बताउनुभयो । शुन्य खुला पोलिथिन अभियानमा नगरबासीले देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै उहाँले यो माटो बचाउने अभियान पनि रहेको स्पष्ट पार्नुभयो ।
यस्तै उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरबासीको आनीबानी र सोंच परिवर्तनले शुन्य खुला पोलिथिन अभियान सफल बनाउने बताउनुभयो । अभियन्ता निपेश ढाकाले अभियानमा नगरबासीले देखाएको उत्साहले आफूहरुलाई निकै प्रेरणा मिलेको बताउनुभयो ।
नेपाल भ्रमण वर्ष–२०२० को प्रारम्भसँगै सिम नेपालको सहकार्यमा तिलोत्तमा नगरपालिकाले सुरु गरेको अभियान तीव्र रुपमा अघि बढेको छ ।