छाउपडी प्रथा विरुद्ध १३ बुँदे घोषणा पत्र जारी, फागुन मसान्तभित्र अछामलाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गरिने

 1732 पटक हेरिएको

 

अछाम : आगामी फागुन मसान्तभित्र अछाम जिल्लालाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गर्ने गरी घोषणा पत्र जारी गरिएको छ । महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सहितको टोलीको उपस्थितीमा माघ १५ गतेभित्र जिल्लाका सवै वडा, फागुन १५ गतेभित्र सवै पालिका र फागुन मसान्तभित्र जिल्लालाई नै पूर्ण छाउपडी मुक्त जिल्ला घोषणा गर्ने गरी घोषणा पत्र जारी गरिएको हो ।

छाउपडी प्रथा विरुद्धको कार्यक्रम लिएर अछाम पुग्नुभएका मन्त्री गुरुङले छाउपडी प्रथाले सुदुरपश्चिम क्षेत्रलाई सामाजिक रुपमा फरक रुपमा हेर्ने गरिएको बताउनुभयो । ‘सरकारले छाउपडी प्रथा उन्मुलनका लागि छाउगोठ भत्काउने अभियानका साथै यस प्रथा अन्त्यका लागि आवश्यक नीति कार्यक्रम तथा बजेटको व्यवस्था गरेको छ,’ मन्त्री गुरुङले भन्नुभयो । उहाँको यसको अन्त्यका लागि सवैले आ आफ्नो ठाउँबाट पहल कदमी लिनु आवश्यक रहेको बताउनुभयो ।

के छ घोषणापत्रमा ?

घोषणापत्रमा स्थानीय सरकार र सरोकारवालाहरु बीचको समन्वयमा जनचेतनामुलक तथा मनोसामाजिक परामर्श सहितको अभियान सन्चालन गर्ने उल्लेख छ । त्यसैगरी कानुनको अवज्ञा गरी छाउगोठ बस्ने, गोठ भत्काई सकेपछि पनि घरवाहिर बस्ने, ओडारमा बसेको थाहा पाएमा स्थानीय सरकारमा खवर गर्ने र मनोसामाजिक परामर्श दिने र अटेर गरेमा कानूनको दायरामा ल्याउने उल्लेख छ ।

घोषणापत्रमा यो अभियानमा कर्मचारी, शिक्षक, बुद्धिजीवी, राजनीतिक दल आफैले परिवर्तनको सुरुवात गर्नुपर्ने उल्लेख गरिएको छ । वास्तविक पीडामा परेका महिला तथा किशोरीहरुको पहिचान गरि पीडाामुक्त गर्ने र समाधनमा विशेष ध्यान दिने घोषणा पत्रमा उल्लेख गरिएको छ । महिलाहरुलाई सवल बनाउन शिक्षा, लघुउद्यम र सीपमुलक तालिममा जोड दिने र नेतृत्वमा सहभागी गराउन उच्च प्राथमिकता दिने घोषणापत्रको अर्को बुँदामा उल्लेख गरिएको छ ।

घोषणापत्रमा मन्त्री गुरुङ सहित अछामका जनप्रतिनिधि, प्रशासक, राजनीतिक दल र सरोकारवालाहरुले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार